शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा के छ छानबिन समितिको प्रतिवेदनमा ?

शुक्रबार, १३ साउन २०७९, १६ : ३३
शुक्रबार, १३ साउन २०७९

बजेट निर्माणका क्रममा अनियमितता भएको गुनासोका सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको छ ।

संसदीय विशेष छानबिन समितिले प्रतिवेदनमा सिंहदरबार परिसरभित्र प्रवेश गर्ने र बाहिरिने व्यक्तिहरूको व्यवस्थित रूपमा अभिलेख राख्ने पद्धतिमा कमी औंल्याउँदै कुन दिन के प्रयोजनका लागि कुन व्यक्ति प्रवेश गर्यो भन्ने यकिन गर्न नसक्ने अवस्था देखिएको उल्लेख गरेको छ ।

‘यसले सिंहदरबार भित्रको समग्र सुरक्षा प्रणालीमाथि समेत प्रश्न खडा गरेको छ,’ समितिको प्रतिवेदनमा भनिएको छ, ‘एउटा निकायबाट जारी भएको पास वा अस्थायी परिचयपत्रले सिंहदरबारभित्रका सबै निकायमा निर्वाध आवतजावत गर्न सक्ने अवस्था छ ।’

प्रतिवेदनअनुसार जेठ १४ गते राति अर्थ मन्त्रालयमा सुरक्षार्थ खटिएका पाँच जना सुरक्षाकर्मीमध्ये कमान्डरसहित दुई जना करिब १०ः ३० बजे मन्त्रालयबाट बाहिरिएको र भोलिपल्ट बिहान मन्त्रालय आएको जवाफ छलफलका क्रममा प्राप्त भएको थियो ।

त्यसैगरी सीसीटीभी व्यवस्थापन समेत सिंहदरबार मल गेटदेखि प्रायः सबै निकायमा कमजोर अवस्थामा रहेको समितिले जनाएको छ । ‘सीसीटीभी जडान तथा सञ्चालन सम्बन्धी निर्देशिका, २०७२ अधिकांश सरकारी निकायले पालना गरेको पाइएन,’ प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक ऐन, २०७९ मा करका दरहरू हेरफेर गर्ने प्रयोजनको लागि अनाधिकृत व्यक्ति प्रवेश गरे नगरेको सम्बन्धमा यकिन गर्न समेत व्यवस्थित अभिलेखको अभावको कारणले सहज भएन ।’

सीसीटीभी फुटेजको व्यवस्थित अभिलेख नभएको कारणले अर्थ मन्त्रालयबाट प्राप्त एनभीआर सिस्टम र हार्ड डिस्क ड्राइभलाई फेला नपरेको जेठ १४ र १५ गतेको सीसीटीभी फुटेज रिकभर गर्न नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा पठाइएकोमा उक्त ल्याबबाट रिकभर भई प्राप्त भएका सो मितिका ५१ वटा सीसीटीभी फुटेजका सिंगल फ्रेम क्लिप हेर्दा चलायमान फुटेज उपलब्ध हुन नसकेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । सोही आधारमा समितिले बाहिरबाट अनाधिकृत व्यक्ति प्रवेश गरेको भन्न सकिने अवस्था नदेखिएको पनि प्रस्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप