आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दमौली अस्पतालमा सात जनामा डेङ्गु भेटियो

शुक्रबार, १३ साउन २०७९, १४ : ३८
शुक्रबार, १३ साउन २०७९

सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका एमडिजिपी डा राजु रानाले बताए ।

उनका अनुसार अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी विभिन्न समस्याले उपचारका लागि आउने गरेका छन् । अस्पतालमा पछिल्लो समय ज्वरो, टाइफाइड, निमोनिया लगायतका बिरामी अत्यधिक मात्रामा रहेका छन् । बिहीबार इमर्जेन्सीमा चार र ओपिडीमा तीन डेङ्गुका बिरामी भेटिएको उनले जानकारी दिए । एकसय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, कमजोरी हुने डेङ्गुको मुख्य लक्षण हुने डा रानाले बताए ।
अस्पतालमा व्यास नगरपालिका– १०, १२, ५ र ३ लगायतका वडाका २० देखि ४० वर्ष उमेरका रहेका छन् । त्यसमध्ये महिलाको सङ्ख्या बढी रहेको अस्पतालले जनाएको छ । दमौलीमा एकवर्ष अघि फाट्टफुट्ट मात्रामा डेङ्गुका बिरामी देखिने गरे पनि हिजाआज बढी देखिन थालेको अस्पतालका अहेव मदन गौतमले बताए ।

डेङ्गु विशेष गरी लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा साँझमा बाहिर ननिस्कने, शरीर ढाक्ने लामो लुगा लगाउन र सुत्ने समयमा झुलको प्रयोग गर्नुपर्ने उनले बताए । डेङ्गु भएका बिरामीले कमजोर महसुस गर्ने हुँदा झोलिलो र तागतिलो खानेकुरा खानका लागि चिकित्सकले सुझाव दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप