मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘पानी फोटोले द्वन्द्वकालको वास्तविकता देखाउँछ’

शुक्रबार, १३ साउन २०७९, ०९ : ४७
शुक्रबार, १३ साउन २०७९

चलचित्र ‘पानी फोटो’ साउन १३ गते अर्थात् शुक्रबारबाट प्रदर्शनमा आएकाे छ । नेपाली चलचित्र बजारमा निकै अपेक्षित चलचित्र हो खगेन्द्र लामिछानेको ‘पानी फोटो’। 

चलचित्रमा लामिछाने स्वयंको लेखन, निर्देशन, अभिनय र लगानी छ । अथवा भनौँ, उनकै श्रीमती रोजिना सिटाैला र रवीन्द्र बज्राचार्य चलचित्रका निर्माता हुन् । यस अर्थमा चलचित्र पानी फोटो लामिछानेको फेमिली प्रोजेक्टसँगै ‘ड्रिम प्रोजेक्ट’ पनि हो । 

१० वर्षे शसस्त्र जनयुद्धताका बेपत्ता सन्तान र आफन्तको कथा, त्यही द्वन्द्वले वर्तमानसम्म पनि पिरोलिरहेका परिवारहरूको कथा हो पानी फोटो । लामिछाने भन्छन्, ‘एउटा हराएको छोरालाई खोजिरहेका बुबा आमाको कथा हो पानी फोटो, बाबु आमा र सन्तान बीचमा भएको सम्बन्धको कथा हो पानी फोटो ।’

यही कथा भन्नकै लागि खगेन्द्रले पहिलो पटक निर्देशनमा हात हालेका छन् । उनी विश्वस्त पनि छन् कि, दर्शकले हाम्रो कथा, नेपाली कथा मन पराइदिनु हुनेछ ।  

रातोपाटीसँगको बसाइँमा खगेन्द्रले पानी फोटोको अर्थ सविस्तार लगाए,‘ पानीफोटो शब्द नेपाली शब्दकोशमा खोज्दा भेटिँदैन । तर, यसको अर्थ रिल क्यामेराको श्यामश्वेत तस्विर, बोलीचालीको भाषामा नेगेटिभ फोटो हो ।’ 

चलचित्रसँग शीर्षक सार्थकता बुझाँउछन् खगेन्द्र,‘द्वन्द्वकालका घटना जो वर्षौँ पुराना हुँदैछन् । तर, तिनका घाउमा अझै पनि खाटो बस्न सकेको छैन । परिवारहरू अझै पनि हराएका सन्तानको प्रतिक्षामा छन्, न्याय मागिरहेका छन् । उनीहरूकै कथा हो पानी फोटो ।’ 

हुन त पानी फोटोको कथा खगेन्द्रले एक पटक नाटकका रूपमा, एउटा वर्गमा देखाइसकेका हुन् । तर, त्यो क्यानभासले उनलाई पुगेन । आमदर्शकलाई आफ्नो कथा भन्न हुटहुटी जागिरह्यो । यो चलचित्रको वर्तमान राजनीतिसँग समेत जालो जोडिएको छ । 

सन्दर्भ निकाल्दै लामिछाने भन्छन्, ‘यो मुद्दा मेरो बाल्यकालदेखि मानसपटलमा घुमिरहेको विषय हो । मेरो आफ्नै मामाको खोजीमा हजुरआमाले भोग्नु भएको पीडाको वृतान्त म आफैसँग थियो । युद्धले समाजमा कस्तो असर पार्छ र त्यसको परिणामले कहाँसम्म हान्छ त ? त्यसकै विम्बका रुपमा चलचित्र पस्किएको हुँ,’ उनी चलचित्रको कथाबस्तु अथ्र्याउँछन् । 

शान्ति प्रक्रिया पछिको १६ वर्षमा पनि द्वन्द्वका घाउ निको भएका छैनन् । र, ती समस्या बुझ्न पनि हलसम्म दर्शक जानुपर्ने उनको आग्रह छ । अझ राजनीतिक दल र वर्तमान दलहरूको नेतृत्व गरिरहेका नेताहरू त झनै हल पुगेर चलचित्र हेर्नुपर्नेमा जोड दिन्छन् खगेन्द्र । भन्छन्, ‘हामीले ट्रेलर, टिजर सार्वजनिक गरिसकेका छौं । यदि उहाँहरूले हाम्रो कन्टेन्टले छुन्छ भने हलमा आएर टिकट काटेर उहाँहरूले चलचित्र हेर्नैपर्छ ।’ 

चलचित्रमा खगेन्द्रसँगै मुख्य भूमिकामा छन्, अनुप बराल, मेनुका प्रधान, माओत्से गुरूङ, बुद्धि तामाङ, मल्लिका महत । उनै महत पनि निर्देशक लामिछानेसँगै रातोपाटीसँगको विशेष कुराकानीमा जोडिएकी थिइन् । उनी आफ्नो करियरको दोस्रो फिचर फिल्ममा देखिँदैछिन् । 

यो चलचित्रले आफ्नो करियरमा कति अर्थ राख्छ मल्लिकालाई त्यसको पूर्वानुमान छैन । तर, पानी फोटो जस्तो विषयमा तयार भएको चलचित्रमा अभिनय गर्न पाउनुले भने पक्कै अर्थ राख्नेमा विश्वस्त छिन् उनी । 

मल्लिका भन्छिन्, ‘म द्वन्द्वकालको अनुभव गर्न पाइन, त्यो परिस्थितिको सामना गर्ने मान्छे पनि परिनँ । तर, फिल्मको कथासँथै त्यो कालखण्डको अनुभव गर्न पाएँ । यस अर्थमा म जस्तै थुप्रै नयाँ पुस्तालाई चलचित्रको दृश्यमार्फत हाम्रो इतिहास बुझ्न र हेर्ने मौका हुने छ ।’ 

मल्लिका पानी फोटोमा  निर्देशक लामिछानेसहित निर्माण टिमसँग धेरै कुरा सिक्न पाएकोमा, साथमा देशको कथा बोकेको चलचित्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न पाएकोमा खुसी छिन् ।

चलचित्र पानी फोटोका निर्देशक, लेखक अनि कलाकार खगेन्द्र लामिछाने र चलचित्रकी नायिका मल्लिका महतसँग रातोपाटीको नियमित कार्यक्रम ‘टक विथ द टप’मा गरिएको विशेष भिडियो संवाद ।

भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप