शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए यूकेले बुझायो आइसीसीलाई ३९ हजार पाउण्ड

बिहीबार, १२ साउन २०७९, २१ : ५२
बिहीबार, १२ साउन २०७९

नरेन्द्र बस्नेत
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सदस्यता शुल्क बापत आइसीसीलाई दिन बाँकी रकम बुझाएको छ । बेलायतका कुल ११ हजार तीन सय ६३ सदस्यहरूका लागि ५ डलरका दरले जम्मा ५६ हजार ८ सय १५ डलर बुझाउन यस अघि नै आइसीसीले ‘इन्भोइस’ पठाएको भएपनि रकम बुझाउन आलटाल गरिएको थियो । अन्ततः आइसीसीबाट एनसीसी यूकेले लिनुपर्ने १० हजार डलर कटाएर बाँकी रकम पठाइएको छ।  आइसीसीको खातामा ४६ हजार ८ सय १५ डलर (३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स ) जम्मा गराइएको एनआरएन युकेका कोषाध्यक्ष विष्णु खरेलले जानकारी दिए ।

बेलायतमा हेल्थ क्याम्प सञ्चालन गर्दाको ५ हजार डलर र एनसीसी युकेमा जम्मा हुनुपर्ने अर्को ५ हजार डलर प्राविधिक गल्तीले आइसीसीको खातामा जम्मा भएको हुँदा सो दश हजार डलर कटाएर बाँकी रकम आइसीसीलाई बुझाइएको हो ।

गत आइतबार सम्पन्न कार्यसमिति बैठकले आइसीसीलाई सदस्यता बापतको शुल्क तत्काल पठाउने निर्णय गरेपछि अन्ततः आइसीसीको खातामा रकम पठाइएको हो । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आइसीसी विवादित बनेकाले अहिले रकम होल्डमा राख्नुपर्ने अडान लिएता पनि बहुमतद्वारा उक्त निर्णय लिइएको बताए ।

अध्यक्ष गाहामगरकै क्याम्पमा रहेका उपाध्यक्षहरू  नारायण कँडेल र गोविन्द खरेलका साथै अर्का उपाध्यक्ष सुनिलबाबु खड्का र कोषाध्यक्ष विष्णु खरेल समेत रकम पठाउनुपर्ने लाइनमा एक ठाउँ उभिएपछि एनआरएनए यूके रकम पठाउन बाध्य भएको हो ।

रकम नबुझाएको भन्दै आइसीसीबाट सदस्यता शुल्क बुझाउन कयौं पटक ताकेता गर्दा पनि एनसीसी यूकेले नटेरेपछि बर्खास्त गर्नेसम्मको कारवाहीको चेतावनी दिइएको थियो।

आइसीसीमा समेत देखिएको मतभेदका कारण गैर आवासीय नेपाली संघ पछिल्लो समय निकै विवादित बन्न पुगेको हो । सदस्यता शुल्कको विषयलाई लिएर आइसीसी र एनसीसी यूके बीचको खिचातानीलाई निकै चासोको रुपमा हेरिएको थियो । उता, अध्यक्ष गाहामगरले आफ्नो सहमतिबिना रकम पठाइए आफू आम सदस्यहरु र बेलायतको अदालतसम्म जान चेतावनी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप