शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

भारतीय कंग्रेसका नेताले मुर्मूलाई ‘राष्ट्रपत्नी’ भनेपछि हंगामा

बिहीबार, १२ साउन २०७९, १८ : २५
बिहीबार, १२ साउन २०७९

पश्चिम बंगालका भारतीय राष्ट्रिय कंग्रेसका सांसद अधीर रञ्जन चौधरीले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूलाई ‘राष्ट्रपत्नी’ भनेर सम्बोधन गरेपछि विवाद उत्पन्न भएको छ । सत्तारुढ भाजपा नेताहरूले चौधरीको भनाइको चर्को विरोध गरिरहेका छन् । उनीहरुले कंग्रेस पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले यस विषयमा माफी माग्नुपर्ने माग गरिरहेका छन् । 

सोनिया गान्धीलाई प्रवर्तन निदेशालय(इडी)ले गरिरहेको अनुसन्धानको विरोधमा कंग्रेस नेताहरूले विगत तीन दिनदेखि गरिरहेको विरोधका क्रममा बुधबार धर्नामा रहेका अधीर रञ्जन चौधरीले यस्तो टिप्पणी गरेका थिए । 

चौधरीले राष्ट्रपति कार्यालयले आफूहरुलाई भेट नदिएको विषयमा एक समाचार च्यानलसँग बोल्ने क्रममा आक्रोश व्यक्त गर्दै भनेका थिए,‘ भारतको राष्ट्रपति सबैका हो । राष्ट्रपति, ए होइन राष्ट्रपत्नि, भारतकी राष्ट्रपत्नि सबैकी साझा हुन् भने हाम्रो लागि किन होइन ?’

माफी माग्नुपर्ने माग उठेपछि बोल्ने क्रममा चौधरीले भने ,‘ मैले भाजपासँग किन माफी माग्ने ? भारतको राष्ट्रपति जो भए पनि उनी हामी सबैकी राष्ट्रपति हुन्छिन् । मैले बोलेको जुन शब्दका लागि विरोध भएको छ, त्यो मैले एकपटक बोलेको हुँ । त्यसमा गल्ती भएको छ । तर सत्तारुढ दलका केही व्यक्तिले तिललाई पहाड बनाइरहेका छन् ।’

भारतको संसदको मनसुन सत्रमा चौधरीको सम्बोधनको विषयमा भाजपाले  ठूलो निकै हंगामा गर्यो । राष्ट्रपति द्रौपदी मुर्मूलाई आफ्ना नेताले ‘राष्ट्रपत्नी’ भनेकोप्रति कंग्रेसले भाजपासँग माफी पनि मागेको समाचार एजेन्सी एएनआईले लेखेको छ । 
दौपदी मुर्मू भारतकी पहिलो महिला आदिवासी राष्ट्रपति हुन् । झारखण्डकी पूर्व गर्भनर मुर्मूलाई भाजपाले राष्ट्रपति उमेदवार बनाएको थियो । 

समाजिक संजालमा भाजपा नेताको विरोध
भाजपा ठूलठूला नेताहरुले समाजिक संजालमा समेत यस विषयमा कंग्रेसको आलोचना गरिरहेका छन् । 

केन्द्रीय मन्त्री स्मृति इरानीले ट्वीट गर्दै लेखेकी छन् ,‘ कंग्रेसले अझै पनि आदिवासी महिला यो देशको सर्वोच्च संवैधानिक पदमा सुशोभित भएको कुरा स्वीकार्न सकेको छैन । यसैले सोनिया गान्धीद्वारा नियुक्त भएका सदनका नेता अधीर रञ्जनले द्रौपदी मुर्मूलाई राष्ट्रकी पत्नीको रुपमा सम्बोधन गरे ।’

भाजपाका केन्द्रीय संसदीय मामिला मन्त्री प्रह्लाद जोशीले चौधरीको सम्बोधनलाई आदिवासीहरूको अपमान बताए । ‘ चौधरीको सम्बोधन देशका आदिवासी र राष्ट्रपतिको अपमान हो, जसप्रति तुरुन्त माफी मागिनुपर्छ । सोनिया गान्धीले यस्तो व्यक्तिलाई नियुक्त गरेकोमा माफी माग्नुपर्छ ,’ जोशीले भने । 

अर्का केन्द्रीय मन्त्री पियुष गोयलले पनि अधीर रञ्जन चौधरीले जानाजान यस्तो बयान दिएको र दोहोर्याएको आरोप लगाएका छन् । मध्य प्रदेशका भाजपाका मुख्यमन्त्री शिवराज सिंह चौहानले सोनिया गान्धीलाई अधीर रञ्जनको विचारसँग सहमत हो कि भनेर प्रश्न गरेका छन् ।

सोनिया गान्धीको प्रतिक्रिया 
सोनिया गान्धीले पनि अधीर रञ्जन चौधरीको विवादमा जवाफ दिएकी छन् । अधीर रञ्जनले ‘राष्ट्रपत्नी’ टिप्पणीको लागि माफी माग्छन् कि माग्दैनन् भन्ने प्रश्नको जवाफमा कंग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले भनिन् ,‘ उनले माफी मागिसकेका छन् । ’

समाचार एजेन्सी एएनआईका अनुसार यो सम्पूर्ण विवादको बीचमा कंग्रेस अध्यक्ष सोनिया गान्धीले पार्टीका वरिष्ठ नेताहरूको आपतकालिन बैठक बोलाएकी छिन् । बैठकमा मल्लिकार्जुन खर्गे र अधीर रञ्जन चौधरीलाई पनि बोलाइएको छ । रञ्जन भारतको केन्द्रीय तल्लो सदन ‘लोक सभा’का कंग्रेस पार्टीका नेता हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप