हेटौंडा कपडा उद्योग सञ्चालन गर्न नीजि क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री बडू
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले हेटौंडा कपडा उद्योग सञ्चालनको लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघद्वारा हेटौँडामा आयोजित व्यावसायिक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले सरकारी स्वामित्वको बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि निजी क्षेत्रसँगको सहकार्य गर्न तयार रहेको बताएका हुन् ।
उनले निजी क्षेत्रसँगको सहकार्यमा हेटौंडा कपडा उद्योग सञ्चालनका लागि सरकार सकारात्मक रहेकाले आवश्यक प्रक्रिया अनुसार प्रस्ताव पेश गर्न आग्रह गरेका छन् । कपडा उद्योग पुनः सञ्चालनका लागि निजी क्षेत्रलाई दिन सरकार तयार रहेको र त्यसका लागि आवश्यक योजना तयार गरेर प्रकृया अघि बढिसकेको उनले बताए ।
‘हेटौंडा कपडा उद्योग संचालनको लागि निजी क्षेत्रसँगको सहकार्य गर्न सरकार तयार छ । यसका लागि सरकार सकारात्मक रुपमा लागि परेको छ ।’ उनले भने, ‘कपडा उद्योग पुनः सञ्चालनका लागि सरकारले बजेटमै उल्लेख गरिसकेको छ । सरकारीस्तरबाट भन्दा पनि निजी क्षेत्रबाट उद्योग सञ्चालनमा तीव्रता देखिने भएपछि आवश्यक योजना अघि बढाइएको छ ।’
मन्त्री बडूले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सरकारी सम्पत्तिको सदुपयोग गरी बन्द उद्योगहरु संचालनको नीति सरकारले लिएको बताए । उनले भने– ‘निजी क्षेत्रलाई प्रोत्साहित गर्दै सरकारी सम्पत्तिको सही सदुपयोग र मुलुकमा बन्द रहेका ठूला उद्योग पुनः सञ्चालनको नीति सरकारले लिएको छ । त्यसैले पनि सरकारले कपडा उद्योग सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन तयार भएको हो ।’
उनले उद्योगबारे प्रारम्भिक अध्ययन भइसकेपछि सरकारले मोडालिटी तयार गरेर सोहीअनुसार निजी क्षेत्रले सञ्चालन गर्ने गरी दिन तयार रहेको बताए । उनले मोडालिटीको काम अन्तिम चरणमा पुगेको बताए ।
सरकारले निजी क्षेत्रलाई आफ्नो स्वामित्वको ठूला उद्योग सञ्चालन गर्न दिने योजना बनाएकाले तयारी अवस्थामा रहनसमेत मन्त्री बडूले निजी क्षेत्रलाई आग्रह गरे । २० वर्षदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग अहिले जीर्ण अवस्थामा पुगिसकेको छ । उद्योग सञ्चालनका लागि आवश्यक मेसिनहरू जीर्ण भइसकेका छन् । सरकारले यसअघि पनि पटकपटक कपडा उद्योग सञ्चालन गर्ने बताउँदै आएपनि पहिलो पटक सरकारले निजी क्षेत्रलाई उद्योग सञ्चालनका लागि दिने तयारी अघि बढाएको हो ।
जग्गामा भाडा नबढाउन मन्त्रीलाई उद्योगीको आग्रह
हेटौंडा औद्योगिक क्षेत्रभित्र जग्गाको भाडा बढाउने निर्णय कार्यान्वयन नगर्न उद्योग संघ मकवानपुरले मन्त्री बडूसँग आग्रह गरेको छ । उद्योग संघ मकवानपुरले बिहीबार मन्त्री बडूलाई ज्ञापनपत्र बुझाउँदै बढेको भाडादर लागू नगर्न आग्रह गरेको हो ।
संघले सरकारलाई भाडादर कार्यान्वयन नगर्न दवाव दिने उद्देश्यअनुसार ज्ञापनपत्र बुझाएको हो । संघ अध्यक्ष स्वागतराज प्याकुरेलले मन्त्री बडूलाई नयाँ भाडा दर लागू भए आफूहरु आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिए ।
‘२०७५ सालमा पनि विभिन्न उद्योग संघहरू र औद्योगिक क्षेत्र उद्योग महासंघको प्रयासमा तत्कालीन समयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री ले बढेको भाडा वृद्धि लागू नगर्न निर्देशन दिनुभएको थियो’ प्याकुरेलले भने ‘अहिले पनि बढेको भाडा तिर्नसक्ने अवस्था छैन । त्यसकारण फिर्ता लिन हामी अनुरोध गर्दछौं ।’
कोरोना महामारीका कारण थला परेका उद्योगहरु तंग्रिन खोजिरहेको समयमा उद्योगीलाई भाडा वृद्धिको निर्णयले हतोत्साहित बनाएको उनले बताए । तरलता अभाव र महँगीले उद्योगहरु धराशयी हुने स्थितिमा पुगेको उनको भनाइ छ ।
संघले भाडा वृद्धि आवश्यक नभएको तथ्यांकसहितको तत्काल भाडा वृद्धि फिर्ता लिन आग्रह गरेको छ । मन्त्री बडूले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको र बुझेर निर्णय गर्ने बताए । औद्योगिक क्षेत्रको जग्गामा गरिएको भाडा वृद्धि हेटौंडामा चार वर्षपछि लागू भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालयले २०७५ साउन १ गते वृद्धि गरेको भाडादर हेटौंडामा चालु आर्थिक वर्षबाट लागू भएको हो । केन्द्रले चार वर्ष अगाडि तोकिएको भाडादर लागू गर्न औद्योगिक क्षेत्र व्यवस्थापन केन्द्र हेटौंडालाई पत्राचार गरेसँगै उद्योगलाई नयाँ भाडा दरबारे पत्राचार भएको हो ।
यसअघि १ रोपनी जग्गाको औद्योगिक क्षेत्रमा स्थापना भएका उद्योगले प्रति वर्ष ८ हजार ३ सय रुपैयाँ भाडा तिर्दै आएका थिए । २०७५ साउन १ गते प्रतिरोपनी प्रतिवर्ष पाँच प्रतिशत वृद्धि गर्ने गरी १६ हजार २ सय रुपैयाँ नयाँ भाडादर कायम गरिएको थियो ।
अब हेटौंडा उद्योगभित्रका उद्योगले प्रतिरोपनी १९ हजार ७ सय ९१ रुपैयाँ तिर्नुपर्ने हेटौंडा औद्योगिक क्षेत्रका प्रमुख भोजराज विनाडीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु