शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

दक्षिण एसियाली मुलुकसँग नेपालको व्यापार : अफगानिस्तान र माल्दिभ्सबाहेक सबैसँग घाटा

बिहीबार, १२ साउन २०७९, १७ : ११
बिहीबार, १२ साउन २०७९

गत आर्थिक वर्षमा नेपालले दक्षिण एसियाका अधिकांश मुलुकसँग वैदेशिक व्यापार घाटा ब्यहोरेको छ । गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्याङ्कअनुसार नेपालले दक्षिण एसियाका सबैजसो मुलुकसँग उच्च अंकको व्यापार घाटा ब्यहोरेको हो । नेपालले घाटा व्यहोरेका मुलुकसँगको अन्तर उच्च छ भने नेपालले नाफा कमाएका देशसँगको व्यापार नै न्यून छ । जसले दुई वटा देशसँगको व्यापार नाफामा भएपनि त्यसबाट नेपालले मनग्गे लाभ हासिल गर्न सकेको छैन ।
अफ्गानिस्तानलाई समेत दक्षिण एसियाली मुलुकमा सामेल गर्दा योसहित माल्दिभ्ससँगको व्यापारमा मात्रै नेपाललाई नाफा छ । यसबाहेक नेपालले भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटानसँग उच्च अंकको घाटा व्यहोरिरहेको छ । दक्षिण छिमेकी भारतसँग मात्रै १० खर्ब रुपैयाँभन्दा बढीको घाटा ब्यहोरेको तथ्याङ्क छ ।
भारतपछि बंगलादेशसँग सबैभन्दा ठूलो व्यापार घाटा ब्यहोर्दा भुटानसँग तेस्रो सबैभन्दा धेरै घाटा छ । यस्तै, पाकिस्तानसँग र श्रीलंकासँग पनि नेपालको व्यापार घाटा छ । यसबाहेक, टापु देश माल्दिभ्स र भर्खरै युद्धग्रस्त क्षेत्रबाट

बाहिर निस्किएको अफगानिस्तानसँग भने नेपालको नाफा छ । तर, यी देशसँग नेपालको ठूलो नाफा भने छैन । माल्दिभ्ससँग २ करोड र अफगानिस्तानसँग १ करोड रुपैयाँ नाफा रहेको देखिन्छ ।
भारतसँग साढे १० खर्ब घाटा
छिमेकी मुलुक भारतबाट गत आर्थिक वर्षमा १२ खर्ब १५ करोड रुपैयाँको आयात भएको छ । यस्तै, सो अवधिमा नेपालबाट भारततर्फ १ खर्ब ५५ अर्ब रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । जसअनुसार, गत वर्ष नेपालले भारतसँगको व्यापारमा १० खर्ब ४४ अर्ब रुपैयाँ घाटा ब्यहोरेको छ ।

नेपालले भारतबाट औद्योगिक कच्चा पदार्थ, पेट्रोलियम पदार्थ, कोइला, खाद्यान्न, तरकारीसहित फलफुल लगायतका वस्तु ठूलो मात्रामा आयात गर्छ । जसले गर्दा भारतसँगको व्यापार घाटा चुलिएको हो । गत आर्थिक वर्षमा मात्रै नेपालले ३ खर्ब २१ अर्ब रुपैयाँ भन्दा बढीको पेट्रोल, डिजेल, मट्टिेतेल, एलपीजी ग्यास र हवाई इन्धन आयात गरेको छ । यो सबै भारतबाट भएको आयात हो ।
यसै गरी, फलामजन्य औद्योगिक कच्चा पदार्थसमेत ठूलो मात्रामा भारतबाट आउने गरेको छ । जसले नेपालको आयातलाई र व्यापारमा भारतसँगको परनिर्भरतालाई झनै बढाएको छ । यस्तै, नेपालबाट भारततर्फ खानेतेल (सोयाबिन, पाम र सूर्यमुखी) निर्यात हुने गरेको छ । यस बाहेक, अन्य औद्योगिक उत्पादन समेत भारततर्फ निकासी हुने गरेको छ । तर, खानेतेलको हिस्सा सबैभन्दा धेरै रहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

बंगलादेशसँग १० अर्ब घाटा
नेपालले छिमेकी मुलुक बंगलादेशसँग सबैभन्दा दोस्रो धेरै घाटा ब्यहोर्दै आएको छ । दक्षिण एसियाली मुलुकमा बंगलादेशसँग भारतपछि सबैभन्दा धेरै घाटा छ । गत वर्षमा नेपालले बंगलादेशसँग १० अर्ब ४८ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । नेपालबाट ७२ करोड रुपैयाँको निर्यात हुँदा उताबाट ११ अर्ब २० करोड रुपैयाँ आयात भएको छ । सोही कारण, आयात र निर्यातको सन्तुलन नमिल्दा नेपालले बंगलादेशसँग ठूलो घाटा ब्यहोरेको हो ।

बंगलादेशबाट नेपालमा गार्मेन्टका सामग्री, फर्मासिटिकल्स, फुटवेयर लगायतका वस्तु आयात हुने गरेको छ । गार्मेन्टमा विश्वकै अग्रणी स्थानमा रहेको बंगलादेशले नेपाललाई पनि सोही वस्तु निर्यात गरेर व्यापारमा नाफा कमाइरहेको छ । यस्तै, उताबाट विद्युतीय वस्तु, फर्निचर लगायतका सामग्री समेत आउने गरेको छ । नेपालबाट भने मानिसको कपाल, अदुवा, म्यांगो जुससहित इनर्जी ड्रिंक, पिना र जडिबुटीजन्य वस्तुको निर्यात हुँदै आएको छ ।

भुटानसँगको व्यापारमा ८५ करोड घाटा
गत आर्थिक वर्ष भुटानबाट नेपालमा १ अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको छ । यस्तै, नेपालबाट ४४ करोड ३७ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । नेपालबाट भएको निर्यातको तुलनामा भुटानबाट भएको आयात बढी हुँदा गत वर्ष नेपालले भुटानसँग ८५ करोड रुपैयाँ घाटा ब्यहोरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

भुटानबाट नेपालमा मुख्य गरी सिमेन्टको कच्चा पदार्थको रूपमा प्रयोग हुने जिप्सम आयात हुन्छ । यस अवधिमा नेपालले भुटानबाट १ अर्ब २६ करोड २८ लाख रुपैयाँको जिप्सम आयात गरेको छ । यही जिप्समले नेपाल र भुटानबीचको व्यापारमा गेम चेञ्जरको भूमिका खेलिरहेको छ । यस्तै, भुटानबाट प्लास्टर, अगरबत्ति लगायतका वस्तु समेत आउने गरेका छन् । यस्तै, नेपालबाट पास्ता, फुटवेयर, दालमोट, पापड, ढुंगाजन्य वस्तु, पेन्टिङ, टेलिफोनका सामग्री लगायत निर्यात हुन्छन् ।

पाकिस्तानसँग ४८ करोड घाटा
यस्तै, छिमेकी मुलुक पाकिस्तानसँग नेपालले ४८ करोड ६९ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । पाकिस्तानबाट नेपालमा ६० करोड ४ लाख रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट ११ करोड ३४ लाख रुपैयाँ मात्रै निर्यात भएको छ । यसअनुसार नेपालले पाकिस्तानसँग वार्षिक रूपमा झण्डै ५० करोड रुपैयाँको घाटा ब्यहोरिरहेको छ ।

पाकिस्तानबाट नेपालमा मसलाजन्य वस्तु, ड्राइ फ्रुट्स, बिरे नून, मेडिकलजन्य वस्तु, मेकअपका सामग्री लगायतका वस्तु आयात हुन्छन् । यस्तै, नेपालबाट पाकिस्तानतर्फ काँचो खयर, औषधीजन्य वस्तु, आँखाको लेन्स लगायतका वस्तु निर्यात हुन्छ ।

श्रीलंकासँग ४१ करोड घाटा
नेपालले भर्खरै टाट पल्टिएको मुलुक श्रीलंकासँग समेत ठूलो मात्रामा व्यापार घाटा ब्यहोरिरहेको छ । श्रीलंकातर्फ नेपालबाट २ करोड ८ लाख रुपैयाँको निर्यात हुँदा उताबाट ४३ करोड २० लाख रुपैयाँको आयात भएको छ । यससँगै, नेपाललाई गत वर्ष श्रीलंकासँग ४१ करोड ११ लाख रुपैयाँ व्यापार घाटा छ ।
श्रीलंकाबाट नेपालमा किचनजन्य, खेलौना, फलामजन्य वस्तुहरू, मेसिनरी, विद्युतीय सामग्री आउने गरेको छ । यस्तै, नेपालबाट ह्याण्डमेड पेपर र फलामजन्य वस्तु लगायत निर्यात हुने गरेको विभागको तथ्याङ्क छ ।

अफगानिस्तान र माल्दिभ्ससँग नाफा
सबैजसो दक्षिण एसियाली मुलुकहरूको व्यापार घाटामा जाँदा अफगानिस्तान र माल्दिभ्ससँगको व्यापारमा भने नेपाललाई नाफा देखिएको छ । अफ्गानिस्तानसँगको व्यापारमा नेपाललाई १ करोड ३६ लाख रुपैयाँ नाफा भएको छ । नेपालबाट १ करोड ९१ लाख रुपैयाँको निर्यात हुँदा उताबाट ५४ लाख रुपैयाँको आयात भएको छ । अफगानिस्तानबाट नेपालतर्फ अन्जिर, ड्राई फ्रुट, मसलाजन्य वस्तु लगायतको आयात हुँदा खेलकुदका जर्सी र भेटेनरी भ्याक्सिन जस्ता वस्तु निर्यात भइरहेको विभागको भनाइ छ । 

यस्तै, माल्दिभ्ससँग पनि नेपालले व्यापारमा नाफा कमाएको भन्सार विभागको तथ्याङ्क छ । नेपालबाट २ करोड १४ लाख रुपैयाँको निर्यात हुँदा माल्दिभ्सबाट १२ लाख रुपैयाँको आयात भएको छ । माल्दिभ्ससँगको व्यापारमा नेपाललाई २ करोड २ लाख रुपैयाँ नाफा भएको विभागको तथ्याङ्क छ । नेपालबाट माल्दिभ्सतर्फ म्यूजिकल इन्सट्रमेन्ट, कार्पेट, तरकारी लगायतका वस्तु निर्यात हुन्छन् ।
दक्षिण एसियाली मुलुकसँगको व्यापार स्थितिः


स्रोतः भन्सार विभाग
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप