बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एक दर्जन बैंकको नाफा ३३ अर्ब ६७ करोडभन्दा बढी, कुन बैंकले कति कमाए ?

स्टाण्डर्ड चार्टर्ड बैंक आक्रामक
बिहीबार, १२ साउन २०७९, १५ : ५६
बिहीबार, १२ साउन २०७९

हालसम्म एक दर्जन बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । कुल २६ वाणिज्य बैंकमध्ये १२ वटाले वित्तीय रिपोर्ट सार्वजनिक गरेका हुन् । रिपोर्ट सार्वजनिक गरेकामध्ये सानिमा बैंकको नाफामा ब्रेक लागेको छ भने बाँकी ११ वटा बैंकले नाफा कमाएका छन् ।

अघिल्लो वर्षको तुलनामा स्टान्डर्ड चार्टर्ड बैंकले अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी ६२.२७ प्रतिशतले नाफा वृद्धि गरेको छ । यो बैंकले गत वर्ष २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । २०७७/७८ मा यो बैंकले १ अर्ब ३९ करोड ८८ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यद्यपि, नाफाको आकारमा भने यस पटक पनि ग्लोबल आईएमई बैंक नै शीर्ष स्थानमा छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २५ प्रतिशत नाफा वृद्धि गर्दै ५ अर्ब २० करोडभन्दा बढी आर्जन गरेको छ । २०७८ साउन मसान्तदेखि २०७९ असार मसान्तसम्म बैंकले कुल ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा बैंकले ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

सानिमा बैंकको नाफामा भने यस वर्ष १.०७ प्रतिशतले गिरावट आएको छ । आर्थिक वर्ष २०७७/७८ मै २ अर्ब ३१ करोड ७८ लाख २१ हजार रुपैयाँ कमाएको बैंकले आर्थिक वर्षमा ६ करोड ४९ लाख १२ हजार रुपैयाँले नाफा गुमाउँदै २ अर्ब २५ करोड २९ लाख ९ हजार रुपैयाँमात्र कमाउन सकेको हो ।

कुन बैंकको वित्तीय स्थिति कस्तो छ ?

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म कुल ४ अर्ब ५२ करोड ५४ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ३८.८६ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०७७/७८ मा बैंकले ३ अर्ब २५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । हालसम्म जारी रिपोर्ट अनुसार शीर्ष बैंकहरुमा ठूलो नाफा आर्जन गर्नेमा एनआईसी एशिया दोस्रो नम्बरमा रहन सफल भएको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब २४ करोड ६४ लाख रुपैयाँ छ ।

इनभेष्टमेन्ट बैंक

इनभेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा ४ अर्ब ८ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १४.८३ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७७/७८ मा बैंकले ३ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ कमाएको थियो ।

प्रभु बैंक

प्रभु बैंकले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ६० करोड ३ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ७२ करोड ८ लाख ७५ हजार रुपैयाँमात्र नाफा कमाएकोमा समीक्षा अवधिमा ५१.११ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ५४ करोड ६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष १ अर्ब ७७ करोड ९ लाख ३९ हजार रुपैयाँ कमाएको बैंकले समीक्षा अवधिमा ४३.७७ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

सिटिजन्स बैंक

यस बैंकले आर्थिक वर्ष २०७७/७८ को तुलनामा यस वर्ष २४.७६ प्रतिशतले नाफा वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ८० करोड ४३ लाख ४१ हजार रुपैयाँ कमाएको बैंकले समीक्षा अवधिमा २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ कमाएको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले यस वर्ष ३४.४३ प्रतिशतले नाफा वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ६० करोड ७४ लाख ७३ हजार रुपैयाँ कमाएकोमा यस वर्ष २ अर्ब १६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

यस्तै, समीक्षा अवधिमा सनराइज बैंकले ४८.६९ प्रतिशतले नाफा वृद्धि गर्दै २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले ५१.९८ प्रतिशतले वृद्धि गर्दै २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ र लक्ष्मी बैंकले सामान्य १.७६ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ कमाएका छन् ।

२६ वटा वाणिज्य बैंकमध्ये बाँकी १४ वटा बैंक भने वित्तीय रिपोर्ट सार्वजनिक गर्ने क्रममै छन् । केन्द्रीय बैंकको पछिल्लो निर्देशन अनुसार बैंकहरुले आर्थिक वर्षको वित्तीय रिपोर्ट साउन २१ गतेभित्रै सार्वजनिक गर्नुपर्नेछ । यसअघि साउन मसान्तसम्म वित्तीय रिपोर्ट सार्वजनिक गरे हुने व्यवस्था थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप