शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयकको खुकुलो प्रावधानले संगठित अपराध बढ्छ : खिमलाल देवकोटा

बिहीबार, १२ साउन २०७९, १४ : ५५
बिहीबार, १२ साउन २०७९

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नागरिकतासम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा संगठित अपराध बढ्ने बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा बोल्दै सांसद देवकोटाले विधेयकमा वैवाहिक अंगिकृतको सम्बन्धमा खुकुलो प्रावधान राखिएको बताए । उनले भारतमा छोरीलाई विवाह गरेर पठाएमा ७ वर्षसम्म कुर्दा केही नबोल्ने नेपालीले विदेशी बुहारीलाई नागरिकता दिन भने ६ महिना पनि कुर्न नसकेको टिप्पणी गरे । उनले यो प्रावधानले नेपालमा संगठित किसिमको अपराध बढ्ने बताए ।

उनले भने– ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष निवेदन दिनुपर्ने र त्यसरी निवेदन दिँदा विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गर्नुपर्ने व्यवस्था छ । विदेशी मुलुकको नागरिकता त्याग गरेको कारबाही चलाएको सामान्य निस्सा मात्रै भए पुग्ने व्यवस्थाले विदेशी नागरिकता त्यागेको ठहरिँदैन । उसको निवेदन विदेशको सम्बन्धित निकायमा पुगेको पनि हुँदैन । ऊसँग दुईवटा नागरिकता कायमै रहन्छ । बरु २०७५ सालमा ल्याइएको विधेयकमा विवाहपछि नेपाली नागरिकता प्राप्त गरेको ६ महिनामा विदेशी नागरिकता त्यागेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था थियो । यस्तो व्यवस्था विधेयकबाट हटाउनु दुर्भाग्यपूर्ण छ ।’ 

उनले भने, ‘भारतमा छोरीलाई विवाह गरेर पठाएमा ७ वर्षसम्म कुर्दा केही नबोल्ने हामी ६ महिना पनि कुर्न सकेनौँ । पुग, नपुग ३ करोड पनि जनसंख्या नभएको नेपालमा ३०० करोड जनसंख्या भएको चीन र भारतको जनसंख्याको अति नै सानो अंश यताउता गर्दा नेपालको हालत के होला ? हामीले यो पाटोलाई गम्भिर रुपमा हेरेनौँ । विश्लेषण गरेनौँ । कल सेन्टरको नाममा चिनियाँहरूको साइबर अपराध र भारतीय ठग्न चिनियाँले नेपाली खटाउने शीर्षकका यसै साता प्रकाशित दुईवटा प्रतिष्ठित अनलाइन खबरका समाचार पढ्दा खुकुलो नागरिकताको प्रावधानको कारण नेपालमा अब झन संगठित किसिमले अपराध बढ्ने हो कि भन्ने चिन्ता पैदा भएको छ । दोहोरो नागरिकताको सम्भावना त छँदैछ ।’

सांसद देवकोटाले ‘३ करोड पनि जनसंख्या नभएको नेपालमा ३०० करोड जनसंख्या भएको चीन र भारतको जनसंख्याको सानो अंश यता उता गर्दा नेपालको हालत के होला ?’ भन्दै प्रश्न गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप