कोभिड महामारी पूर्णरुपमा नियन्त्रण गर्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारी पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । केही सयमयता मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताएका हुन् । वीर अस्पतालको १३३ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भविष्यमा आउन सक्ने विभिन्न महामारीहरुको नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामर्थ्यको विकास गर्नुपर्ने बताए ।
क्यान्सरजस्ता घातक रोगहरुको समयमै सहज ढंगले उपचार हुने व्यवस्था मिलाउन पनि सम्बन्धित स्वास्थ्य संस्थाहरुले ध्यान दिनुपर्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे । उनले भने, ‘केही समययता मत्थर भएको कोभिड महामारी पुनः विस्तारै फैलिदै जाने खतरा देखिएको छ । अझ यसलाई पूर्ण रुपमा नियन्त्रण गर्दै भविष्यमा आउनसक्ने अन्य विभिन्न किसिमका महामारीसँग जुध्ने सामर्थ्य हामीले विकास गर्नुपर्ने खाँचो छ ।
साथै क्यान्सरजस्ता घातक रोगका बिरामीहरुलाई समयमै सहज उपचार गराउने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित पक्षले ध्यान दिने विश्वास लिएको छु । भविष्यमा प्रमुख स्वास्थ्य समस्या भनेको सर्ने भन्दा पनि नसर्ने रोगहरु छन् भन्ने विश्व स्वास्थ्य संगठनले पूर्व अनुमान गरेको छ । हामीले पनि नसर्ने रोगका विरामीहरुलाई सहज उपचारका लागि क्षमता विकास गर्दै जानुपर्ने आवश्यक्ता छ ।’
प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार कटिबद्ध रहेको पनि बताए । स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा संविधानमै व्यवस्था गरेको स्पष्ट पार्दै उनले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था समेत सरकार गरेको बताए । प्रधानमन्त्री देउवाले भने, ‘स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता हो । नेपालको संविधानले स्वास्थ्यको हकलाई मौलिक हक अन्तरगत समावेश गरी प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेको छ । तसर्थ नेपाल सरकार सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन कटिबद्ध छ । स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ बजेट छुट्टयाएको छ । यस क्षेत्रको भौतिक संरचनाको निर्माण तथा मानवीय जनशक्तिको विकासलगायतका कार्यका लागि विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको छ ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सरजस्ता घातक रोगका लागि सहज ढंगले उपचार गराउन सरकारले बजेटको व्यवस्था गरेपनि त्यसको सदुपयोग गर्न नसकेको भन्दै वीर अस्पताल व्यवस्थापनको आलोचना गरे । उनले वीर अस्पताल मुलुकको सबैभन्दा जेठो अस्पताल भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको विकासमा ध्यान दिनुपर्ने आवश्यकता पनि औंल्याए ।
वीर अस्पतालका कार्यबहाक प्रमुख प्रशासकीय अधिकृत डा.भुपेन्द्रकुमार बस्नेतले बिरामीहरुको चापलाई धान्न सक्ने गरी अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन सरकारसँग माग गरे । उनले पुराना भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि अस्पताललाई बजेटको समेत आवश्यक्ता रहेको बताए ।
कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत बस्नेतले अस्पतालले बिरामीहरुले स्वास्थ्य उपचारका सकेको योगदान गर्दै आएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती