मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

शिक्षकबाट सैलुन व्यवसायी बनेका रामदिनेश ठाकुर : सुर्खेतले लायो मोहनी

​‘सीडीओदेखि हिरोसम्मका कपाल काटेँ’
बिहीबार, १२ साउन २०७९, १२ : ३६
बिहीबार, १२ साउन २०७९

वीरेन्द्रनगरको रातोपुल नजिकै सैलुन चलाइरहेका ५५ वर्षीया रामदिनेश ठाकुर सुर्खेत झर्दा मात्र २० वर्षका युवा थिए  । महोत्तरीको रामगोपालपुर नगरपालिका–३ का रामदिनेश यहाँ आएर सैलुन चलाएको ३५ वर्ष भएको छ । यो अवधिमा देशको व्यवस्था बदलियो तर उनको दैनिकी बदलिएको छैन ।

२०४३ सालमा एसएलसी सकाएर शिक्षण पेशाको सिलसिलामा २०४५ सालतिर उनी सुर्खेत आएका थिए । वीरेन्द्रनगर भन्दा २० किलोमिटर पश्चिम बराहताल गाउँपालिकाको कुम्बिकोट हुड्केको एक सामुदायिक विद्यालयमा उनी अस्थायी शिक्षक थिए । तर त्यहाँ उनले करिब एक बर्ष मात्रै पढाउन पाए । उनको अस्थायी जागिर गयो । दुई पटक स्थायी शिक्षकको लागि परीक्षा दिँदा सफल हुन नसकेपछि उनले पेशा बदल्ने निर्णय गरे ।

अनि सुरु गरे सैलुन व्यवसाय

शिक्षकको जागिर सकिएपछि उनी केही समय गृहजिल्ला महोत्तरी गए । तर सुर्खेतको मायाले तानिरह्यो । यसपालि पुनः सुर्खेतको बाटो तताए तर शिक्षक होइन, सैलुन व्यवसायी बनेर । 

सुरुमा वीरेन्द्रनगरको हुलाक कार्यालय अगाडि सैलुन खोलेका उनी विगत सम्झँदै भन्छन्,‘त्यो समयमा वीरेन्द्रनगरमा खासै बस्ती नै थिएन । फाट्टफुट्ट टिन र फुसले छाएका घर थिए भने धेरै जसो जंगल थियो । हामीलाई जंगल फाँडेर टहरा बनाऊ भन्थे । तर मैले काम गरेर पछि आफ्नै जिल्ला फर्किने भनेर त्यता ध्यानै दिइन । तर अहिले त्यतिबेलाको ढुङ्गा त सुनभन्दा महँगो भयो ।’

रामदिनेशले अहिले वीरेन्द्रनगर यति ठुलो सहर बन्ला भन्ने कहिल्यै कल्पना गरेका थिएनन् । त्यतिबेला सैलुन पसल जम्मा चारवटा मात्रै थिए, उनले भने,‘व्यवसायबाट परिवार धानिने देखेपछि स–परिवार यतै ल्याएँ ।’ उनको घरमा दुई छोरा र श्रीमती थिए ।

सुर्खेतमा पञ्चायत विरुद्धको जनआन्दोदन र १० बर्षे सशस्त्र द्वन्द्वको साक्षी छन् उनी । त्यो बेलामा महोत्तरीबाट सुर्खेत आउँदा केवल १८ रुपैयाँ खर्च गरेका उनले अहिले २७ सय खर्च लाग्ने गरेको सुनाउँदै भन्छन्,‘समय सधैँ एकनाशको हुँदो रहेनछ ।’

उनको एउटी छोरी सुर्खेतमै जन्मिन् । तीन सन्तानका बाबु रामदिनेशले यही पेशाबाट छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिलाए । उनका जेठा छोराले आईएस्सी सकेका छन् । तर नेपालमा जागिर गरेर उभो नलाग्ने भन्दै मलेसियातिर हानिए । कान्छो छोरा भने प्रहरी जवान भएर जनकपुरमा कार्यरत छन् ।

१५ बर्षजति श्रीमती पनि सुर्खेतमै बसिन् । छोराछोरी हुर्केर आ–आफ्नो खुट्टामा उभिने भएपछि श्रीमती, जेठो बुहारी र एक नाति आफ्नै पुरानो घर महोत्तरी फर्किए । छोरीलाई ब्याचलर पढाएर धुनषा विहे गरिसकेका छन् । तर उनले न आफूले गर्दै आएको सैलुन पेशा छाड्न सकेका छन्, न सुर्खेत ।

उसो त उनको आफ्नो गाउँमै एक विगहाभन्दा बढी जमिन र पक्की घर छ । छोराहरुको आर्थिक आम्दानी पनि राम्रै छ । उनका लागि अपुग्दो केही छैन । तर आफ्नो शारीरिक अवस्थाले साथ दिएसम्म पेशाबाट विचलित नहुने अठोट छ उनको । भन्छन्,‘जिन्दगी भनेको नटुगिंदा सम्मको यात्रा हो । मलाई सुर्खेतमा केही दुःख छैन । जिन्दगी मोजमै बितेजस्तो लाग्छ ।’

२ रुपैयाँमा कपाल काट्थे कुनै दिन

रामदिनेशले ०४६ सालतिर एक जनाको कपाल काटेवापत २ रुपैयाँ लिन्थे । अहिले कपाल काटेको रेट डेढ सय पुगेको छ । उनी विगत सम्झदै भन्छन्,‘ त्यतिबेला सबै चिजबस्तु  सस्तो थियो । पाँच रुपैंया केजी चामल किनेर खाइन्थ्यो, तर समय बदलिएसँगै अहिले हरेक बस्तुको भाउ महँगिएको छ ।

कोभिड–१९ को महामारी सुरु हुनु पहिले उनले तीन जनालाई रोजगारी समेत दिएका थिए । कोरोना भाइरसका कारण व्यवसाय चौपट भएको उनी बताउँछन् ।

१४ महिनासम्म व्यवसाय ठप्प हुँदा काम गर्नेलाई तलब दिन सकिएन, उनी भन्छन्,‘त्यसपछि मैले एक्लै धानिरहेको छु । कोरोना आउनुभन्दा पहिला त मासिक १ देखि डेढ लाससम्म कमाई हुन्थ्यो । अहिले बढीमा ४० हजार भन्दा माथि कमाई गर्न मुस्किल छ ।’

सीडीओदेखि हिरोसम्मका कपाल काटेँ

सुर्खेतमा आजभन्दा ६–७ बर्ष अघिसम्म पनि खासै सैलुन पसल थिएन । ठुलो ओहोदामा रहेका व्यक्तिहरु समेत उनको सैलुन पसलमा कपाल काट्न पुग्थे । उनलाई राजनीतिज्ञभन्दा सुरक्षा निकायका प्रमुखहरुको कपाल काटेको अनुभव छ । जिल्लामा आउने प्रहरी प्रमुख, डीआईजीदेखि सीडीओसम्मका कपाल काटेको उनले बताए । प्रहरी सेवामा रहेका नायक अर्जुनजंग शाहीको पनि धेरैपटक आफूले कपाल काटेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप