जीर्ण उद्योगहरु सरकारले चलाउन सक्दैन : उद्योग मन्त्री बडू
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जीर्ण उद्योगहरु सरकार एक्लैले चलाउन नसक्ने भन्दै त्यस्ता उद्योग निजी क्षेत्र र सरकारको साझेदारीमा चलाउनुपर्ने बताएका छन् । विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’को अनुगमनका क्रममा उद्योग मन्त्री बडूले निजी क्षेत्र र सरकारको साझेदारीमा पनि चलाउन नसक्ने उद्योगहरुको हकमा सरकारलाई राजस्व दिएर निजी क्षेत्रले आफैले चलाउन सक्ने टिप्पणी गरेका छन् ।
‘तपाई आफै उद्योग चलाउनुस् भनेर निजी क्षेत्रलाई गुहार्नुपर्ने अवस्था छ, विशेष औद्योगिक क्षेत्रमा ६० प्रतिशतभन्दा बढी निर्यात गर्ने उद्योगहरु आइदिनोस् भन्ने हाम्रो चाहना हो, कहिले पूरा होला !’ उद्योग उनले भने । सिमरा सेजमा ३० वटा निजी कम्पनीले करिव ७ अर्बको लगानी गर्न ६० वटा प्लट (जग्गा) ओगटेका छन् । सेजको ‘ए ब्लक’ को ३४३ बिगाहा क्षेत्रफलमध्ये १६० बिगाहा तत्कालै उद्योग सञ्चालन गर्न मिल्ने छन् । ती जग्गा ओगटेका उद्योगहरुले संरचना निर्माणको काम भने सुरु गरेका छैनन् ।
पथलैया–वीरगञ्ज औद्योगिक करिडोरदेखि सेजसम्मको पहुँच मार्ग, औद्योगिक सुरक्षा, बैंकको ब्याजदर, उद्योग स्थापना गरेको ५ वर्षपछि ६० प्रतिशत छिमेकी देशसहित तेस्रो मुलुक निर्यात गर्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण उद्योगीहरु सेजमा आउन उत्साहित छैनन् । सेजमा लगानी गर्न जग्गा धितो राखेर बैंकबाट ऋण लिन पाउनुपर्ने उद्योगीहरुको माग छ । तर सेजले भने सरकारको जग्गा धितो राख्दा जोखिम हुने जनाएको छ ।
उद्योग मन्त्री बडूले पनि सरकारको जग्गा बैंकमा धितो राख्न अनुमति दिँदा उद्योग टाँट पल्टिएको अवस्थामा के गर्ने भन्ने जोखिम रहने बताए । ‘सरकारले आफ्नो जग्गाको सुरक्षा पनि गर्नुछ, त्यसमा बनाएको संरचना धितो राखेर सुविधा दिन सक्ने व्यवस्था लगानीकर्ता र सरकारबीचको समझदारीमा समाधान हुनसक्छ तर जग्गा नै गइहाल्ने खतराबाट सरकार सचेत रहन्छ,’ उनले भने ।
सेजले ‘ए ब्लक’ मा उद्योग सञ्चालनका लागि आवश्यक प्रशासनिक, बैंक, बीमा, क्यान्टिन, भन्सार, आन्तरिक सडक, पानी, ढल लगायतका सम्पूर्ण भौतिक पूर्वाधार निर्माण गरिसकेको छ । सेजसम्म पुग्ने पहुँच मार्गको हकमा मुआब्जाको समस्या समाधान गरेर हालको बाटो उपयुक्त नभए तत्कालै वैकल्पिक बाटो खोल्न मन्त्री बढुले निर्देशन दिएका छन् । उनले सरकारले आफैले चलाउँछु भनेर सुरु गरेका उद्योगहरु बन्द अवस्थामा पुगेकाले अब निजी क्षेत्रको सहकार्यमा मात्रै उद्योगहरु सञ्चालन गर्न सकिने टिप्पणी गरेका छन् ।
पछिल्लो समय व्यापार घाटा भयावह रुपमा बढ्दै गएको भन्दै आन्तरिक उत्पादनलाई नै उपभोग गर्ने बानी बसाल्न मन्त्री बडूले सुझाव दिएका छन् । ‘हामी आयातमा यसरी परनिर्भर भयौँ कि आयात नहुने हो भने भान्छामा चामलको भातसमेत नपाक्ने भयो, हाम्रो भान्छामा पकाउने ग्याँस पनि बाहिरबाट आउँछ । चामल, दाल र अब त हुँदाहुँदा अचार पनि बाहिरबाट आउने स्थिति धेरै दुखद् हो, यस्तो स्थिति नआओस् भन्नका लागि हामी समयमै सचेत हुनुपर्छ,’ मन्त्री बडूले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या