बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् भन्नेमा द्विविधा पाल्न हुँदैन : लोहनी

बुधबार, ११ साउन २०७९, २३ : ०९
बुधबार, ११ साउन २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् भन्नेमा द्विविधा पाल्न नहुने बताएका छन् । नेपाल राष्ट्रका निर्माता शाहलाई युद्ध सरदार भन्नेहरुले गल्ती गरीरहेको उनले बताए ।

‘पृथ्वीनारायण शाहलाई कसैले युद्ध सरदार भनेर गल्ती गरिरहेका छन्, जो दावी युक्तिसंगत छैन । किनभने युद्ध सरदारले केवल लुट्छन्, कतै राष्ट्र निर्माण गर्दैनन् । पृथ्वीनारायण शाहले कुमारीको टीका ग्रहण गरे, जनआकांक्षा अनुकूल राज्य सञ्चालन गर्ने प्रजातान्त्रिक परिपाटी व्यवहारमा लागू गरे । राज्य सञ्चालनका वृहंगम नीतिहरु लागू गरेर विशाल नेपाल बनाए,’ राप्रपा नेता लोहनीले बुधवार भने ।

त्यसकारण अन्य राजनीतिक दलहरुले विदेशीहरुको तस्बिर राखेर विदेशीहरु पुज्ने गरे पनि राप्रपाले नेपाल निर्माता पृथ्वीनारायण शाहलाई सर्वदा सम्मान गर्ने गरेको लोहनीको भनाइ थियो । ‘पृथ्वीनारायण शाहका नीतिहरु, २५० वर्षपछि, अहिले पनि उतिकै सान्दर्भिक छन्,’ लोहनीले भने । ‘जसले जे भने पनि, वास्तवमा पृथ्वीनारायण शाह राष्ट्र निर्माता नै हुन्, यसमा कुनै द्विविधा छैन ।’

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विस्तारित भेलालाई सम्बोधन गर्दै राप्रपाका पूर्व अध्यक्षले यस्तो विचार प्रस्तुत गरेका हुन् । ‘नेपाल दुई ढुंगा बीचको तरुल भन्ने पृथ्वीनारायण शाहको परराष्ट्र नीति अहिले पनि उतिकै सान्दर्भिक छ । निर्यात अत्यन्तै कमजोर र आयात मात्रै व्याप्त रहेको समयमा, विदेश वस्तुलाई रोक लगाउनु, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु भन्ने शाहको दिव्यवाणी आर्थिक सम्पन्नताको सूत्र हो, जो हाल पनि अनुकरणीय छ,’ लोहनीले भने ।

‘नेपाललाई साझा फूलबारी बनाउने पृथ्वीनारायण शाहको देन अहिलेको अवधारणामा राष्ट्रियता र समावेशीकरणको आधार हो, समावेशी राष्ट्रवाद हो । घुस लिने र दिने दुबैलाई दण्डित गर्नुपर्छ भन्ने शाहको विचार, भ्रष्टाचार विरुद्धको उच्चतम व्यवस्था हो,’ युवा भेलालाई सम्बोधन गर्दै लोहनीले भने ।

‘पानी लाग्ने ठाउँमा खेती गर्नु, घर नबनाउनु । डाँडामा घर बनाउनु भन्ने पृथ्वीनारायण शाहको व्यवस्थापन अहिलेको भाषामा शहरी विकासको मोडल हो,’ लोहनीले भने । ‘त्यसकारण पृथ्वीनारायण शाहका कालजयी विचारहरु देश र समाज विकासका सूत्र हुन् ।’

युवा संगठनका अध्यक्ष राजु लोहनीले भेलालाई सम्बोधन गर्दै आगामी चुनावमार्फत राप्रपालाई अग्रणी शक्ति बनाउन ७७ जिल्लामै युवाहरु अहोरात्र खट्ने बताए । भदौभित्र युवा संगठनको महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका उनले सार्वजनिक गरे । युवा अध्यक्ष लोहनीले २२५ सदस्यसहित केन्द्रीय समितिले विस्तार गरेको जानकारी गराए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप