शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : समाजवादी केन्द्रको कामभन्दा हल्ला बढी, ओलीसँग नजिकिँदै उपेन्द्र

बुधबार, ११ साउन २०७९, २१ : ३०
बुधबार, ११ साउन २०७९

आज २०७९ साउन ११ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

ओलीतर्फ नजिकिँदै उपेन्द्र

नवगठित नेपाल समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराई र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर सत्ता गठबन्धनसँग नजिकिएसँगै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव भने गठबन्धनबाट टाढिन थालेका छन् । कम्युनिस्ट पार्टीहरुले गठन गर्न लागेको समाजवादी केन्द्रमार्फत सत्ता गठबन्धनसँग भट्टराई नजिक भएका छन् भने नागरिकता विधेयक पारित भएसँगै लोसपाका अध्यक्ष ठाकुर पनि नजिकिएका छन् । भट्टराई र ठाकुर उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएका हुन् । अध्यक्ष यादवले दुवै जनालाई पार्टीबाट कारवाही गरेसँगै उनीहरुले छुट्टाछुट्टै पार्टी बनाएका हुन् ।

 कामभन्दा हल्ला बढी

समाजवादी केन्द्र बनाउने भन्दै तत्कालीन नेकपा बहुमत सचिवालय सदस्य सहित जनता समाजवादी पार्टी(जसपा) बाबुराम पक्ष छलफलमा जुटेका छन् । तर समाजवादी केन्द्र बनाउने बहस कागजमा जति तातेको छ, वास्तविकतामा भने त्यो प्रक्रिया निकै सुस्त गतिमा अघि बढिरहेको छ । 

 मृत्यु हुने ७ जनाले नै लगाएका थिएनन् कोरोनाविरुद्धको  खोप

काठमाडौँ । नेपालमा विगत ११ दिनमा कोभिड–१९ सङ्क्रमणका कारण सात जनाको मृत्यु भएको छ । सङ्क्रमणको कारण मृत्यु हुने अधिकांशले कोरोनाभाइरस विरुद्धको खोप नलगाएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए ।

‘भिजिट भिसा’ लिएर रोजगारीका लागि नजान आग्रह

गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर रोजगारी गर्न पाउने प्रलोभनमा नपर्न सूचित गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भिजिट भिसामा पर्यटकका रुपमा मात्र विदेश जान पनि सुझाएको छ ।​

लू नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने भएका छन् । लु भोली साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ । ​

ब्याजदर वृद्धिको असर

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले कसिलो वित्तीय नीति लिएको छ । केन्द्रीय बैंकले कर्जा नियन्त्रणसँगै बैंकिङ ब्याजदर वृद्धि गर्दै तरलता व्यवस्थापन, विदेशी मुद्राको सञ्चितिको चापमा कमी र बजार महँगी (मुद्रास्फीति) समेत नियन्त्रणमा राख्ने रणनीति बनाएको छ । सरकारले लिएको उच्च आर्थिक वृद्धिदरको लक्ष्य भेट्न समेत मौद्रिक नीतिले निकै राम्रो सपोर्ट गर्ने राष्ट्र बैंकको भनाइ छ ।​

केन्द्र सरकारविरुद्ध मुद्दा 

संविधानको व्यवस्थाअनुसार संघीय सरकारले प्रदेशको अधिकार नदिएको भन्दै बागमती प्रदेश सरकार अदालत जाने तयारीमा जुटेको छ । संघ सरकारले संविधानको व्यवस्था अनुसार प्रदेशको एकल अधिकार सूचीमा रहेका अधिकारहरूमा समेत हस्तक्षेप गरेको भन्दै बागमती प्रदेश सरकारले अदालत जाने तयारी गरेको हो ।​

खेलाडीको गुटबन्दीले पुबुदुको बहिर्गमन

नेपाली क्रिकेटलाई यो उचाइमा पुर्‍याउन मुख्य भूमिका कसको छ ? यो प्रश्नको उत्तरमा जोडिने नाम मध्यको एक हो, पुबुदु दशानायके । सन् २०११ देखि २०१५ सम्म नेपाली क्रिकेटको प्रशिक्षक भएर उनले टिमलाई इतिहासमै पहिलो पटक विश्वकपसम्म पुगाउन महत्त्वपूर्ण योगदान गरे । ​

ससंदीय छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउने

बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

अख्तियारको अनुसन्धानमा चोलेन्द्र

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गरेका निर्णय उपर छानबिनका बाटो खुला गरिदिन आग्रहसहित कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पत्राचार गरेका छन् । असार अन्तिम साता कार्कीको आदेशमा यसबारेमा सचिवालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको पुष्टि भएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप