आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गोटाबाया राजापाक्षेलाई राहत : सिंगापुर सरकारले दियो थप १४ दिन बस्ने अनुमति

बुधबार, ११ साउन २०७९, २१ : ००
बुधबार, ११ साउन २०७९

श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सिंगापुर सरकारले थप १४ दिनको भिजिट भिसाको म्याद थपिदिएर ठूलो राहत दिएको छ ।  यसअघि पनि उनलाई १४ दिनकै निजी भिजिट भिसा दिइएको थियो, जसको म्याद भोली अर्थात जुलाई २८ गते बिहीबार सकिँदै थियो । 

अहिले थपिएको म्याद सकिएपछि राजापाक्षेले कुन देशको शरण लेलान् भन्ने प्रश्न उठिरहेको छ ।  उता श्रीलंकाको उनको पार्टीका प्रवक्ताले पूर्वराष्ट्रपति छिट्टै स्वदेश फर्किने र उनलाई भगौडा भन्न नहुने बताइरहेका छन् । 

कहाँ जालान् गोटबाया ? 

राजापाक्षे जुलाई १३ मा श्रीलंकाको राजधानी कोलम्बोबाट भागेका थिए । उनी निजी जेटबाट पहिले माल्दिभ्स र त्यसपछि सिंगापुर पुगेका थिए ।  सिंगापुर सरकारले उनलाई राजनीतिक शरण अस्वीकार गर्दै श्रीलंकाका पूर्व राष्ट्रपतिलाई १४ दिने निजी भ्रमण भिसाको अनुमति दिइएको थियो । 

त्यसयता गोटाबाया सिंगापुरमा छन् । पहिलो पटकको भिजिट भिसाको म्याद जुलाई २८ सम्म थियो । त्यसको एक दिनअघि उनलाई १४ दिने भ्रमणको समय थप गरिएको छ । सिङ्गापुरपछि राजापाक्षे कहाँ जानेछन् भन्ने अझै स्पष्ट छैन । उनले प्रयास गरेका भनिएका माल्दिभ्स र मौरिससले उनीहरुलाई राजनीतिक शरण दिने विषयमा अहिलेसम्म कुनै जवाफ दिएका छैनन् । 

सिंगापुरमा बस्न सजिलो छैन

राजापाक्षको आफैं भने सिंगापुरमा बस्न चाहन्छन्, तर श्रीलंकामा उनीविरुद्ध धेरै मुद्दा परेका छन् । त्यहाँका सामाजिक संस्थाहरूले सिंगापुरका सरकारी अधिकारीलाई भेटेर राजापाक्षेलाई पक्राउ गरी श्रीलंका फिर्ता पठाउन माग गरिरहेका छन् । 

यसैले पनि सिंगापुर सरकारले गोटाबायालाई स्थायी आश्रय दिइरहेको छैन ।  हालै सिङ्गापुर सरकारका प्रवक्ताले यस विषयमा बोल्ने क्रममा भनेका थिए– ‘राजापाक्षेसँग हाम्रो देशको भिजिटिङ्ग भिसा छ । उनी यहाँ आएको १४ दिन भयो । यो केहि दिनको लागि विस्तार गर्न सकिन्छ, तर उनले स्थायी शरण पाउने भन्नेबारेमा हामी अनिश्चितताका साथ भन्न सक्दैनौं ।’

देश छाडेर भागेका थिए उनी
राजापाक्षेको माग राख्दै भएको महिनौ लामो आन्दोलनको क्रममा जुलाई ९ मा सर्वसाधारणको ठूलो संख्याले राष्ट्रपति निवास कब्जामा लिएपछि गोटाबाया त्यहाँबाट भाग्न बाध्य भएका थिए ।  त्यसपछि गोप्य स्थानमा रहेका राजापाक्षे जुलाई १३ आफ्नो परिवारसहित पहिले माल्दिभ्स र त्यसपछि सिंगापुर पुगे । सिंगापुर पुगेर उनले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप