बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकलाई फोहोर दिएबापत पैसा दिने गरेर योजना बनाउँदैछु : मन्त्री चौधरी

रोएर होइन, सबैलाई हँसाएर बिदा हुन्छु
बुधबार, ११ साउन २०७९, २० : १३
बुधबार, ११ साउन २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोर दिएबापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताएका छन् । बुधबार मन्त्री बनेको महिना दिनको कार्य प्रगति र आगामी योजना प्रस्तुत गर्दै मन्त्री चौधरीले फोहोर दिने नागरिकलाई पैसा दिने गरेर मन्त्रालयले काठमाडौंमा नै फोहोर व्यवस्थापनको योजना अघि बढाइरहेको बताएका हुन् । 

उनले अहिलेसम्म नागरिकबाट फोहोरको पैसा लिने गरेको तर अब मन्त्रालयले बनाउने नयाँ प्रोजेक्टमा नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापन गर्ने रणनीति लिएको बताए ।   ल्याण्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको उल्लेख गर्दै उनले फोहोरबाट काठमाडौं भित्रै मल, बिजुली, ग्यास लगायतका वस्तु उत्पादन गर्ने बताए । 

उनले भने, ‘बञ्चरे डाँडामा फोहोर फाल्ने कुराको हामी मन्त्रालयमा छलफल गरिरहेका छौँ । बञ्चरे डाँडा, सिसडोलभन्दा अरु मान्छेले पनि त्यहाँका जनतालाई नाक खुम्च्याउने गर्छन् त्यसलाई हामी रोक्छौँ । उनीहरूलाई शिर ठाडो बनाएर हिँड्ने वातावरण बनाउँछौँ । विद्यार्थीहरूमा पनि यसको असर परेको छ । आजबाट ल्याण्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको छ । यसको ठाउँमा अर्को मल, बिजुली, ग्यास बन्ने प्रोजेक्टको खोजि गरौँ । यस्ता बञ्चरे डाँडा देशभर खोज्ने होइन, देशभर बत्ती, मल बनाउने, निकाल्ने हो । आज हामी एउटा घरले ४ सय रुपैयाँ तिर्छ भने त्यो श्रोतबाटपत जनतालाई पैसा दिने गरेर प्रोजेक्ट निर्माण गर्नुहोस् भनेको छु । सिसडोल, बञ्चरे डाँडा देशभर बनाउने कुरा बन्द गरौँ । छोटो अवधिमै भए पनि ग्यास, मल उत्पादन गर्ने व्यवस्थामा हामी छिराउँछौँ । आज सिसडोलका साथीहरुले यो पूरा नगरे भदौ १ गतेदेखि फोहोरका गाडी छिनै दिन्नौँ भनेर च्यालेन्ज दिनुभएको छ ।’

मन्त्री चौधरीले आफू मन्त्री बनेपछि सहरी विकास मन्त्रालयले असार महिनामा मात्र २६.८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको बताए । उनले गत आर्थिक वर्षमा मन्त्रालयले कुल बजेट ३० अर्ब ८१ करोडमध्ये चालुतर्फ विनियोजित १ अर्ब ७५ करोड रुपैयाँमा १ अर्ब २८ करोड रुपैयाँ ७३.२८ प्रतिशत र पुँजीगततर्फ विनियोजित २९ अर्ब ५ करोड रुपैयाँमा २१ अर्ब ६१ करोड ६९.९५ प्रतिशत खर्च भएको भएको बताए । 

मन्त्री चौधरीले मन्त्रालयको समग्र प्रगति ७०.१४ रहेकोमा असार महिनामा मात्रै २६.८ प्रतिशत वित्तीय प्रगति हासिल भएको उल्लेख गरे । उनले असार महिनाको प्रगतिले सहरी विकास मन्त्रालय अन्य मन्त्रालयको तुलनामा उच्च प्रगति हासिल गर्ने मन्त्रालयको सूचीमा रहन सफल भएको दाबी गरे । मन्त्री चौधरीले जाने बेला रुने कि हाँस्ने भन्ने प्रश्नको धेरै ठाउँमा सोधिएको भन्दै रुने नभई मुलुकलाई नै हँसाएर जाने बताए । अगामी सय दिनभित्र काठमाडौं उपत्यकामा १०० कि.मि. सम्मको माइक्रो रेल अर्थात स्ट्रिङ (तार) प्रविधिमा निर्धारित कम्प्युटर नियन्त्रित यातायातको सम्भाव्यताको अध्ययन गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप