शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

निजी क्षेत्रका दुई संस्थाबीच औद्योगिक समस्याका विषयमा छलफल, सहकार्य गर्ने निर्णय

बुधबार, ११ साउन २०७९, १८ : ३६
बुधबार, ११ साउन २०७९

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघबीच भेटवार्ता भएको छ । दुई संस्थाबीच मुलुकका औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूमा उत्पन्न समस्याका बारेमा गहन छलफल भएको हो ।

छलफलमा औद्योगिक क्षेत्रभित्र उद्योगहरूले उपभोग गरिरहेका जमिनको अप्रत्यासित भाडा वृद्धि, विद्युत डिमान्ड शुल्क, जीर्ण भौतिक पूर्वाधार, पानी आपूर्तिमा समस्या र वृहत औद्योगिक सम्मेलन लगायतका विषयमा छलफल भएको बताइएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड संचालक समितिको २०७९ असार २२ को निर्णयबाट  ४ वर्ष अघिदेखि लागू गर्ने भनि ७ सय प्रतिशतसम्म भाडा वृद्धि गरी बील औद्योगिक क्षेत्रभित्रका उद्योगहरूलाई पठाएपछि औद्योगिक क्षेत्रभित्रका उद्योगहरू समस्यामा परेको विषयमा छलफल भएको छ ।

भेटवार्तामा औद्योगिक क्षेत्रभित्र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउने भन्दा पनि भएका जग्गा भवन भाडामा लगाएर आयआर्जन गर्ने प्रवृत्ति देखिएकोमा चिन्ता व्यक्त गरियो । त्यसैगरी औद्योगिक क्षेत्र भित्रका उद्योगहरूलाई ५० प्रतिशतभन्दा बढी विद्युत डिमाण्ड शुल्क लिइएको विषयमा समेत छलफल भएको छ । यस्तै, पानीको सहज आपूर्तिको व्यवस्था नभएको, औद्योगिक क्षेत्र भित्रका भौतिक संरचनाहरू पुनरनिर्माण गरी प्रयोग गर्न योग्य बनाउनेतर्फ पहल नभएको लगायतमा गुनासा फिनीकातर्फबाट राखिएको थियो । फिनीले उठाएका इस्यूहरूमा साथ दिन एफएनसीसीआईलाई आग्रह गरिएको थियो ।

महासंघका अध्यक्ष शेखर गोल्छाले छलफलमा उठेका इस्यूहरू जायज रहेको बताए । कठिन अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्र र उद्योग व्यवसायलाई राहत दिई काम गर्न सक्ने वातावरण बनाउनुु पर्नेमा गोल्छाले जोड दिए । भाडा वृद्धिको निर्णय समय र विषयका हिसावले समेत गलत रहेको अध्यक्ष गोल्छाले बताए । जग्गा र भवन भाडामा लगाएर राजस्व उठाउने प्रवृत्तिनै सही नभएको उनको तर्क थियो ।

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठकले दुवै महासंघले मुलुकभित्र औद्योगिक वातावरण बनाउने विषयमा एउटै स्वर र अवधारणामा जानुपर्ने र आफ्नो संस्थाले उठाएका इस्यूहरूमा एफएनसीसीआईको पूर्ण सहयोग पाउने आशा आफूहरूले गरेको बताए । सो भेटवार्तामा फिनीका अध्यक्ष पाठकले फिनीकातर्फबाट उठाइएका इस्यूहरू एफएनसीसीआईका अध्यक्ष गोल्छालाई हस्तान्तरण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप