बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसभित्र सुधारको आवश्यकता छः प्रदीप पौडेल

बुधबार, ११ साउन २०७९, १८ : १५
बुधबार, ११ साउन २०७९

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र थुप्रै सुधारको आवश्यकता रहेको बताएका छन् । पार्टी र समग्र लोकतान्त्रिक प्रणालीमा नै सुधार गर्न नसकिए जनतालाई सन्तुष्ट बनाउन नसकिने उनको भनाइ छ । 
बुधबार हलो क्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानको आयोजनामा लमजुङको सुन्दरबजार नगरपालिका–४ स्थित दुराडाँडामा आयोजित कार्यक्रममा बोल्दै पौडेलले अबको लोकतन्त्र आर्थिक विकाससहितको हुनुपर्नेमा जोड दिए । 
‘काँग्रेसभित्र पनि थुप्रै सुधारको आवश्यकता छ । सुधार गर्न सकिएन भने यो व्यवस्थाले पनि जनतालाई सन्तुष्ट नबनाउन सक्छ’, उनले भने, ‘अबको लोकतन्त्र भनेको शासकीय स्वरुपमा मात्रै देखिने, आवधिक निर्वाचन हुने र निर्वाचन जित्नेले सरकार चलाउने सन्दर्भ मात्रै होइन । अबको लोकतन्त्र विकाससँग जोडिनुपर्छ ।’

उनले काँग्रेस नेपालको राजनीतिमा अब्बल समन्वयकारी क्षमता भएको पार्टी भएको बताए । ‘हामीले कसैलाई पनि निषेध गर्दैनौँ । समग्रमा अतिवादमा विश्वास नगरीकन उदार समाजको निर्माण गर्ने पक्षमा काँग्रेस छ’, उनले भने । बहुदलीय व्यवस्थालाई सुदृढ गर्ने व्यवस्थाको नेतृत्व काँग्रेसले गर्दै आएको उल्लेख गर्दै पौडेलले जनतालाई खुसी बनाउने काम गर्न पनि काँग्रेस नै अग्रसर हुनुपर्नेमा जोड दिए । त्यसका लागि जनताको  जीवन पद्धति सरल बनाउनेतर्फ ध्यानदिनुपर्ने उनको भनाइ छ । 

उनले हलो क्रान्तिका नायक तोयनाथ अधिकारीको तत्कालीन अवस्थाको योगदानको उच्च प्रशंसा समेत सो क्रममा गरेका थिए । पर्चा तथा जुलुस नगरिकन र हतियार नउठाइकन तरंग ल्याउने काम उनले तत्कालीन अवस्थामा गरेको उनको भनाइ थियो । 

२००६ साल साउन ११ गते अर्चलपानीमा पण्डित तोयनाथ अधिकारीलगायत २७ जना ब्राम्हणहरूले सामूहिक रूपमा हलो जोतेको दिनलाई हलोक्रान्ति दिवसको रुपमा स्मरण गरिँदै आएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप