कृषि विकास कार्यालय मुगुका तत्कालीन प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
![कृषि विकास कार्यालय मुगुका तत्कालीन प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता](https://rpcdn.ratopati.com/media/albums/ciaa_akhtiyar_nepal_8cg9ER8zqm.jpg)
कृषि विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख र वडाध्यक्ष सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध सिँचाई कुलो निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेको हो ।
कर्मचारी, जनप्रतिनिधि तथा उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतोमा छायानाथ रारा नगरपालिका १० स्थित तीनमुखेदेखि लुवाबान्नासम्म सिँचाइ कुलो निर्माणका लागि विनियोजन गरिएको बजेट अनियमितता गरेको आयोगले जनाएको छ ।
छायानाथ रारा नगरपालिका वडा नम्बर १० का तत्कालीन अध्यक्ष धर्मदत्त सावत, कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचालाल बुढा र सब इन्जिनियर राजेन्द्र शाही, कर्मचारी मणिचन्द्र विक, जिल्ला समन्वय समितिका तत्कालीन कर्मचारी विश्वास उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष बखत बहादुर सेजुवाल, सचिव लाल बहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली र सहसचिव सुरेश बुढा विरुद्ध भ्रष्टाचारको मुद्दा लागेको हो ।
कृषि विकास कार्यालय मुगुबाट आर्थिक वर्ष २०७६/२०७७ मा विनियोजित बजेटमा उनीहरूले अनियमितता गरेको पाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार २३ लाख १० हजार ५९६ रुपैयाँ बिगो कायम गरी असुल उपरका लागि माग गरिएको छ ।
अख्तियारले कृषि विकास कार्यालय तत्कालीन प्रमुख बुढा र सब इन्जिनियर शाही, उपभोक्ता समितिका चारै जना पदाधिकारी र तत्कालीन वडाध्यक्ष सावतबाट बिगो रकम जफत गर्न माग गरेको छ। साथै कैद तथा जरिबाना सजायको माग दाबीसमेत लिइएको प्रवक्ता भण्डारीले बताए ।
कर्मचारीहरू मणिचन्द्र विक र विश्वास उपाध्यायले पनि गलत प्रतिवेदन दिएकाले अख्तियारले बिगो कायम नगरी सजायको माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से सूचक १६.२९ अंकले बढ्यो, तर कारोबारमा गिरावट
-
कांग्रेसले मंगलबार गिरिजाप्रसाद कोइरालाका १५१ ऐतिहासिक फोटो प्रदर्शन गर्ने
-
वन्यजन्तुका कारण विद्यार्थी जोखिममा
-
६० किलो सुन प्रकरणमा भेटिएन ‘हाई प्रोफाइल’ को संलग्नता
-
ओखलढुंगाको पात्लेमा पहिरोबाट ५ घरमा क्षति
-
नेपाल वायुसेवा निगमले मनायो ६६ औँ वार्षिक उत्सव