सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढे

बुधबार, ११ साउन २०७९, १७ : ०१
बुधबार, ११ साउन २०७९

तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढेका छन् ।  उक्त अस्पतालले दिएको जानकारीअनुसार मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगायका बिरामीको सङ्ख्या बढ्दै गएको हो । 
उपचारका लागि अस्पताल आउने बिरामीमध्ये अधिकांश रुघाखोकी र ज्वरोका विरामी आएका अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा दिवस ढकालले जानकारी दिए । दिनमा झण्डै तीन सयको हाराहारीमा बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन् । उनले भने, “उपचारमा आएका बिरामीमध्ये करिब चालीस प्रतिशत रुघाखोकी र ज्वरोका बिरामी रहेका छन् ।”

सङ्क्रमणजन्य रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्नसक्ने भएकाले सुरक्षित हुन होम आइसोलेशनमा बस्न र खानपानमा ध्यान दिन सुझाव दिइएको उनले बताए । उपचारमा संलग्न चिकित्सकले लक्षणका आधारमा बिरामीलाई औषधि लेखिदिने गरेका छन् । मौसमी रुघाखोकी लागेका व्यक्तिलाई निको हुनका लागि एक हप्तादेखि दुई हप्तासम्म लाग्नसक्ने चिकित्सक बताउँछन् । 

टाइफाइड र निमोनियाका लागि भने एन्टिबायोटिक औषधि चलाउनुपर्ने अवस्था रहेको डा.ढकालले बताए । कोभिड जस्तै सर्ने रोग भएकाले बिरामीलाई घरमै सुरक्षित र आराम गरेर बस्न आग्रह गरिएको छ ।  त्यसैगरी टाइफाइड रोग खानेपानी र खानाबाट सर्ने भएकाले सफा पानी पिउन र स्वस्थ्यकर खाना खान बिरामीलाई सुझाव दिइएको छ ।

बालबालिकामा निमोनियाको समस्या देखिएको छ भने युवा र उमेर बढी भएका मानिसमा टाइफाइडको समस्या पनि उत्तिकै रहेको छ । उपचारका लागि आएका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था भने नआएको सो अस्पतालले जनाएको छ । त्यसैगरी जिल्लाका अन्य मेडिकल क्लिनिकमा पनि यस्ता बिरामीको चाप बढ्दै गएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप