शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

बसाइँसराइ रोक्न गाउँको विकास गर्नुपर्छ : रामचन्द्र पौडेल

बुधबार, ११ साउन २०७९, १६ : ०४
बुधबार, ११ साउन २०७९

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँबाट सहरमा बसाइँसराइ रोक्नका लागि गाउँको विकासलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन् । नेपाली काँग्रेस देवघाटले बुधबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् । “गाउँमा रोजगारी र गाउँमै आम्दानी भए मानिसहरु सहर झर्नुपर्दैन”, उनले भने “गाउँमा विकास र रोजगारको व्यवस्था नहुँदा गाउँ उजाड बन्दै गएको छ ।” 

नेपाल सरकारले ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बेला आएको उनको भनाइ थियो । मानिसहरु सुविधा र रोजगारी खोज्दै सहरमा बसाइँसराइ गर्ने क्रम बढेको उल्लेख गर्दै नेता पौडेलले त्यसलाई रोक्न गाउँमै रोजगारी र आम्दानीको अवसर दिन आवश्यक रहेको बताए ।

नेपाल प्रकृतिको धनी हुँदाहुँदै पनि मानिसहरु विकास खोज्न भौँतारिएको चर्चा गर्दै नेता पौडेलले गाउँको विकासका लागि आफू सक्रिय रुपमा लागेको बताए । देवघाट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको केन्द्रका रुपमा विकास गर्नुपर्ने भन्दै नेता पौडेलले विगतमा अवरुद्ध भएका विकासका कामलाई निरन्तरता दिँदै नयाँ विकासका योजनालाई तीव्र गतिमा अघि बढाइने उनले बताए ।

नेता पौडेल यही साउन ८ गतेदेखि तालिका नै बनाएर जिल्लाको व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न वडामा पुगी कार्यकर्तासँग भेटघाट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप