बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आर्थिक अभावले खसभाषाको जुम्ली शब्दकोश प्रकाशन हुन सकेन

बुधबार, ११ साउन २०७९, १५ : १५
बुधबार, ११ साउन २०७९

आर्थिक अभावका कारणले खस भाषाको जुम्ली शब्दकोश प्रकाशन हुन सकेको छैन । कर्णालीमा बोलिने भाषा तथा शब्द संरक्षणका लागि प्रकाशन गर्ने भनिएको जुम्ली शब्दकोश दश वर्ष बितिसक्दा पनि प्रकाशन भएको छैन ।

पहिलो पटक २०६५ साल वैशाख ११ गते जुम्ली शब्दकोश प्रकाशन गरेर खस शब्दको संरक्षण गर्ने निर्णय भएको थियो । आधुनिक शब्दले खस शब्द लोप हुँदै जाँदा खस भाषा नै संकटमा पर्दै गइरहेको भन्दै तत्कालीन जिल्ला विकास समितिले जुम्ली शब्दकोष प्रकाशनका लागि कार्यको थालनी गरेको थियो । जुम्ली शब्दकोश बनाउन चाहिने आवश्यक शब्द सङ्कलनका लागि चन्दननाथ नगरपालिका–२ का ७६ वर्षीय रमानन्द आचार्यलाई जिम्मेवारी दिइएको थियो । अहिले आचार्य दिनरात सङ्कलित खस शब्दको अर्थ लगाउने कार्यमै व्यस्त छन्  । उनी एकाबिहानै खसिया आखर नामक पत्रिकाको कार्यालयमा आएर खस शब्दमै व्यस्त देखिन्छन् । खस शब्दमा दक्ष आचार्यले झण्डै ३५ हजारभन्दा बढी खस शब्द सङ्कलन गरिसकेका छन् ।

आचार्यका अनुसार खस शब्द सङ्कलन गर्नेदेखि अर्थ लगाउनेसम्मको काम सकेका छन् । कम्प्युटरमा टाइप गरेर प्रकाशनका लागि तयारी अवस्थामा पुगिसकेको छ । उनले आर्थिक अभावका कारण प्रकाशनमा ल्याउन नसकिएको जानकारी दिए । विसं २०६५ वैशाख ११ गते तत्कालीन स्थानीय विकास अधिकारी तिलक पौडेलले भाषा, संस्कृति र सभ्यता संरक्षणका लागि जुम्ली शब्दकोश प्रकाशन गर्ने निर्णय गरेका थिए । 

त्यसका लागि पहिलो वर्ष दुई लाख विनियोजन भएको थियो । पहिलो वर्ष शब्द सङ्कलन र आवश्यक सामग्री जुटाउनमै कार्य थालनी भएको थियो । विसं २०६७ मा कृष्णचन्द्र घिमिरे स्थानीय विकास अधिकारी भएर आएपछि जुम्ली शब्दकोश प्रकाशन गर्न चाहिने थप आवश्यक सामग्रीसहित शब्द सङ्कलनको कार्य अघि बढेको हो । जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा शब्द सङ्कलनका लागि टोली खटिएका थियो । जिल्ला समन्वय समिति बनेपछि जुम्ली शब्दकोश प्रकाशनको काम ओझेलमा परेको खसभाषाका जानकार आचार्यले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप