बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्छः डा कोइराला

बुधबार, ११ साउन २०७९, १९ : ००
बुधबार, ११ साउन २०७९

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताएका छन् । प्रेस युनियन पर्साले बुधवार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाली काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताएका हुन् । 

उनले गठबन्धनका अन्य दलहरुले सबैकुरा आफूहरु नै हो भन्ने सोचिरहेको उल्लेख गर्दै काँग्रेस नेपालको पुरानो, ठूलो र स्थानीय निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको पार्टी भएको स्मरण गराए । नेता कोईरालाले सबैलाई समेटेर हिँड्ने काँग्रेसको सोच रहेको स्पष्ट पारे । 

‘अब हामी प्रदेशको निर्वाचन र संघीय निर्वाचनमा होमिँदैछौँ । मलाई लाग्छ मंसिरको पहिलो हप्तामै निर्वाचन हुन्छ भन्ने मलाई विश्वास छ । त्यसमा नेपाली काँग्रेसलाई कम क्षति हुनेगरी कसरी हामी जानसक्छौँ’, उनले भने, ‘किनकी गठबन्धनमा जाने भनेका छौँ । तर सबभन्दा कम क्षति हुनेगरी कसरी जाने भन्ने हामीहरू छलफल गरिराखेका छौँ । केन्द्रिय समितिमा पनि छलफल भएको छ । केन्द्रिय समितिमा हामीले दुई, तीनवटा कुराहरु राखेका छौँ । गठबन्धन त गर्ने भनेर भन्यौँ, तर जसरी माओवादीले या एकीकृत समाजवादीले या जनता समाजवादीले कुराहरु उठाइरहनुभएको छ । उहाँहरुलाई के लागिराखेको छ भने हामी नै सबैकुरा हो भन्नेपनि लागिराखेको छ । त्यस्तो होइन । नेपाली काँग्रेस ठूलो पार्टी हो । पुरानो पार्टी हो । र अहिले स्थानीय निर्वाचनमा पनि सबैभन्दा धेरै सिट जितेको पार्टी हो । त्यसकारण सबैलाई समेटेर हिँडौँ भन्ने हामीहरुको सोच छ ।’

उनले काँग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको कथनलाई स्मरण गर्दै सहमति, सहकार्य र एकताको भावनाले अगाडी बढे मात्रै काँग्रेसको भविष्य उज्जवल हुने तर्क गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप