शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सुरुङ मार्गको अध्ययन गर्दै बेथान चोक

बुधबार, ११ साउन २०७९, १३ : १४
बुधबार, ११ साउन २०७९

काभ्रेको बेथान चोक गाउँपालिकाले चालु आर्थिक वर्षमा एक सुरुङ मार्गको सम्भाव्यता अध्ययन थाल्ने भएको छ । कम समयमा प्रदेश राजधानी हेटौंडा र गाउँपालिका केन्द्र जोड्दै काभ्रेको पनौती नगरपालिका पुग्ने गरी बेथान चोकले सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययनको योजना ल्याएको हो ।

उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययनको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा कुल १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका प्रमुख भगवान अधिकारीको नेतृत्वमा गाउँसभाबाट सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न सो बजेट विनियोजन गरिएको हो ।

सुरुङ मार्गको सुरुवात विन्दु वडा नम्बर–२ ढुंखर्क दुर्लुङ खोलालाई मानिएको छ भने अन्तिम विन्दु वडा नम्बर–१ को च्याम्राङवेसी फाईमाराङलाई मानिएको छ । गाउँपालिका केन्द्रदेखि मकवानपुरको बागमती गाउँपालिका फापरवारी (धरान चतारा सडक खण्डमा) सम्मको दुरी ४८ किलोमिटर रहेको छ । हाल सो सडकमार्फत आवत जावत गर्न १२ घण्टाभन्दा बढीको कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

गाउँपालिकाले कम समय र छोटो दुरी हुने भएको उक्त सडक अन्तर्गत सुरुङ मार्ग निर्माण कार्य उपयुक्त देखिएकोले ढुंखर्क–च्याम्राङवेशी सुरुङ मार्ग निर्माणको योजना अघि सारेर सम्भाव्यता अध्ययनको तयारी गरेको हो । 

सुरुङ मार्गको करिब २०९५ मिटर उचाइबाट सुरुवात विन्दु प्रारम्भ भएर अन्तिम विन्दु १५२५ मिटरको हुने गाउँपालिकाको अनुमान रहेको छ । गाउँपालिका केन्द्रबाट सुरुङ मार्गको सुरुवात विन्दुमा पुग्न करिव ३ किलोमिटरको दुरी पार गर्नुपर्ने हुन्छ ।

सुरुवात विन्दुबाट ५ किलोमिटर उकालो भञ्ज्याङको बाटोको यात्रापछि अन्तिम विन्दुमा पुग्न सकिने गाउँपालिकाका प्राविधिक ज्ञानप्रसाद तिमल्सिनाले जानकारी दिए । गाउँपालिकाबाट सो ५ किलोमिटरको दुरीलाई सुरुङ मार्ग निर्माण गरी अनुमानित ८०० मिटरको कायम गर्ने गरी सुरुङ मार्गको सम्भाव्यता अध्ययनको योजना अघि सारेको उनले बताए ।

उनका अनुसार हाल सुरुवात विन्दुबाट अन्तिम विन्दुमा पुग्न सो उकालो भञ्ज्याङलाई एक फन्का लगाएर घुम्नुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाले करिव १७ किलोमिटरको दुरीमा रहेको सुरुवात र अन्तिम बिन्दु बीच सडक ट्रयाक खोलिसकेको छ ।

गाउँपालिकाले खोलेको सडकको ट्रयाक पनि सुख्खा पहिरोका कारण जोखिममा परेपछि सुरुङ मार्गको योजनालाई ल्याइएको गाउँपालिकाका प्रमुख अधिकारीले बताए । ‘भूकम्पबाट कमजोर बनेको सो क्षेत्रको भौगोलिक अवस्थामा सडकको ट्रयाक खोल्दा सडकमा सुख्खा पहिरो खस्ने गरेको छ । यसले सडकसँगै मानव बस्ती नै जोखिममा पर्ने देखिएपछि सुरुङ मार्गको योजना अघि सारिएको हो ।’

उनले भने, ‘हामीले पर्यावरणलाई जोगाएर विकास गर्नुपर्छ । यसअघि सडकको नाममा जथाभावी जेसिबी चलाएर खनियो । त्यसको असर हामीले भोग्नुपर्ने अवस्था आउँदै छ । त्यसैले पनि हामी सुरुङ मार्गको सम्भाव्यता अध्ययनमा जुटेका हौ ।’
सम्भाव्यता अध्ययनका लागि केयूसँग छलफल जारी
गाउँपालिकाले सो सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि काठमाडौं विश्वविद्यालय धुलिखेलसँग छलफल सुरु गरेको छ । सो सुरुङ मार्गको सम्भाव्यता केयुले नै गर्न सक्ने गाउँपालिकाले जनाएको छ ।

केयुले पनि आफ्ना प्रशिक्षार्थीहरूको प्रयोगात्मक शिक्षाका लागि एउटा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न चाहिरहेको र गाउँपालिकाले पनि सम्भाव्यता अध्ययनको तयारी गरिरहेकाले केयुले सो सुरुङ मार्गको अध्ययन गर्न सक्ने बताइएको छ ।

सो विषयमा गाउँपालिका र केयूबीच नियमित संवाद चलिरहेको पालिका अध्यक्ष अधिकारीको भनाई छ । केयूलाई पनि अन्य सुरुङ मार्गको लागि भूगोल खोजेर त्यसको प्रक्रिया सुरु गर्नु पर्ने भएकाले गाउँपालिकामा नै आएर सो सुरुङ मार्गको अध्ययन गर्न सहज हुने उनी बताउँछन् ।

उनका अनुसार केयुले सुरुङ मार्गको अध्ययनको काम गर्ने सम्भावना उच्च रहेको छ । सम्भाव्यता अध्ययनपछि सो सुरुङ मार्गको विस्तृत विवरण प्राप्त हुने र थप योजना बनाएर काम अघि बढाउने उनले बताए । सम्भाव्यता अध्ययन सफल भएको खण्डमा संघ सरकार र प्रदेश सरकारबीच सहकार्य गरेर सुरुङ मार्गको निर्माणको लागि स्रोत जुटाउन गाउँपालिकाले पहिले गर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप