सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

गाँजा खेतीको बहसः किन गर्ने नेपालमा गाँजा प्रतिवन्ध फुकुवा ?

बुधबार, ११ साउन २०७९, १२ : ५१
बुधबार, ११ साउन २०७९

नेपालमा पनि सन् १९७६ मा प्रतिबन्धित भएको गाँजा खेतीबारे अहिले संसदमा वैधानिकता हुनुपर्ने कुरा आएको छ । हिप्पी संस्कृतिका अमेरिकीहरु सन् १९६१ तिर काठमाडौंमा रमाइलो गर्ने, आनन्द लिने उद्देश्यले आएकोमा, तिनले गाँजा सेवनलाई व्यापकता दिएका थिए । तिनीहरु धेरै समय काठमाडौंमा बिताउँथे । उनीलाई नै लक्षित गरी सरकारले काठमाडौंको ३० वटा पसललाई गाँजा विक्रीको लाइसेन्स नै दिएको थियो । केही समयपछि अमेरिकी दवावका कारण राष्ट्रसंघ  नार्कोटिक्स बोर्डले  ऐन २०३३ को अनुसार प्रतिबन्ध लगायो ।

नेपालमा आन्तरिक ऐनसँगै यसले हस्ताक्षर गरेको अन्तरर्राष्ट्रिय महासन्धिले पनि गाँजा खेती गर्न रोक लगाउँछ । तर, नेपालजस्तै सन्धिमा हस्ताक्षर गरेका अमेरिका, क्यानडा, थाइल्यान्डजस्ता देशमा गाँजा खेतीले मान्यता पाइसकेको छ । साथै तिनीहरूले वैधानिक रूपमा गाँजा खेती गरी आम्दानी पनि गर्न थालेका छन् । ती देशमा औषधिका रूपमा प्रयोग गर्न खुला भएको छ । यो अवस्थामा हामी अलमलिनुभन्दा ती देशले जुन कानुनका बुँदा समातेर अगाडि बढिरहेका छन्, हामी पनि सोही बाटो समातेर अगाडि बढ्नुपर्छ ।

गृह मन्त्रालय अहिले गाँजालाई वैधानिकता दिने तयारीमा रहेको बताइरहेको छ । केही समय विभिन्न ग्रुप, संस्था, सामाजिक सञ्जालबाट गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने निरन्तर दबाद दिदै पनि आएको देखिन्छ । गाँजा बैधानिक अभियान भन्ने सामाजिक संस्थाले विभिन्न जिल्ला प्रदेशमा आफ्नो समिति निर्माण गरी गाँजा संकलन, बजारीकरण गर्नको लागि आधिकारिक सहकारीको दर्ता समेत गरेको पाइन्छ । सन् २०२० को अन्त्यतिर संयुक्त राष्ट्रसङ्घले गाँजालाई औषधीय गुण भएको वनस्पति मान्दै ‘हानिकारक समूह’बाट हटाएपछि नेपालमा पनि यस माथिको प्रतिबन्ध फुकुवा गर्ने विषयमा बहस सुरु भएको हो ।

के हो गाँजा ?
गाँजा क्यानाबेसी परिवारको सपुष्पक वनस्पति हो । यो वनस्पति शताब्दीयौँदेखि औषधीय, मनोरञ्जन र अन्य उपयोगका लागि प्रयोग हुँदै आएको छ । क्क्यानाबिस सटिभा, क्यानाबिस इन्डिका र क्यानाबिस रुडरेलिस गरी यसका तीनवटा प्रमुख प्रजाति पहिचान गरिएका छन् । यी बाहेक पनि यसका कैयन् प्रजाति छन् । 
गाँजाको बोटको बोक्रा र पातबाट रेसा पनि बन्दछ, जसबाट कपडा, ब्याग, थैली आदि सरसामान बनाइन्छ । गाँजाको बीउ, बीउको तेल र पातका विभिन्न प्रयोग रहेका छन् । धेरै देशमा गाँजा संस्कृतिको अभिन्न अङ्ग बनेको छ । यो सागसब्जी, जुस, औषधि, अध्यात्म र मनोरञ्जनका लागि प्रयोग गरिन्छ ।  

गाँजामा प्राप्त हुने ८० रासायनमध्ये फुलमा पाइने क्याना बिडियोल (सिबिडि) र टेट्रा हाइड्रो क्यानाबिनोल (टीएचसी) हो । वैज्ञानिकहरुले यसको वर्गीकरण गरेका छन् । यदि टीएचसीको मात्र ०.३ प्रतिशत भन्दा बढी भएमा म्यारुवाना र कम भएमा हेम्प भनिन्छ ।
विभिन्न प्रतिबन्धित देशले अहिले आआफ्नो अर्थतन्त्रलाई  बलियो बनाउन गाँजा खेती फुकुवा गर्न थालेका छन् । हाल करिब १०० भन्दा बढी देशमा गाँजाको व्यावसायिक खेती तथा किनबेच हुन्छ । 

गाँजाको फाइदा
गाँजा विशेष गरी दुखाइ, चिन्ता, अनिद्रा, मिर्गी, मनोविकृत (साइकेटिक्स), जोर्नी दुख्ने (अर्थराइटिस) जस्ता रोगको लागि प्रयोग गरिन्छ । गाँजाको पात पिनेर अनि यसको बीउ घिउमा भुटेर खाएमा क्यान्सरका कोष नष्ट गर्ने तथ्य छ । नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानासिक रोगीका लागि यो एकदम उपयोगी मानिन्छ । यसको फल अर्थात् भाँगोको अचार अनि चट्नी बनाएर खाने चलन अद्यापि छ ।
यी बाहेक गाँजाको पातको रस निकाली अर्क बनाएर कानमा दुई तीन थोपा हाल्दा टाउको दुखेको निको हुन्छ । गाँजाको चूर्ण बनाई मरिचको धूलोसँग मिलाएर बिहान बेलुका चाट्नाले  खानामा रुचि बढ्छ र भोक लाग्छ । गाँजालाई अन्य औषधिहरूसँगै मात्रा मिलाएर लिएमा त्यसले यौनशक्ति पनि बढाउँछ ।

साथै, गाँजाको पातको चूर्ण बनाई काटेको वा अन्य घाउमा लगाए, घाउ छिटै निको हुन्छ । गाँजाको बीउको तेलले मालिस गर्दा जोड्नी दुखाइ कम हुन्छ । गाँजाको चूर्ण एक मात्रा, सुठो (अदुवाको धूलो) दुई मात्रा र जीराको धूलो चार मात्रा मिलाएर बनाएको मिश्रणले कोलाइटिस वा मासी (अतिसार) ठीक हुन्छ ।

गाँजाको खेती भएको ठाउँमा कीरा लाग्दैनन् । यसको रेसाबाट महँगो कपडा बन्छ । यसबाट बनेको कपडाको प्रयोगले शरीरमा छालाको रोग लाग्दैन । यसमा एउटा लठ्याउनेबाहेक अन्य अवगुण नभएको र विश्वमा आजसम्म गाँजा खाएर मान्छे मरेको तथ्याङ्क छैन । 

गाउँघरमा अहिले पनि किसानले गाईगोठसँग गाँजा खेती गर्ने गरेको र वस्तुभाउले पातलो दिशा गरेमा, पेट फुलेमा वा पेटका अन्यसमस्या भएमा वा खान नरुचाएमा गाँजालाई औषधिका रूपमा प्रयोग गर्ने गरेको पाइन्छ । धार्मिक दृष्टिकोणले हेर्ने हो भने शिवजीको बुटी भनेर गाँजालाई चिनिन्छ । त्यसै गरी पूजापाठमा पनि यसको प्रयोग गरिन्छ । हामीले गाँजाको प्रयोग भन्नेबित्तिकै धूवाँ लिने वा गजेडी बन्ने भन्ने बुझाइ रह्यो तर त्यसो मात्र होइन ।
हो  गाँजा सेवनबाट बेफाइदा पनि देखिन्छ । तर त्यसलाई कसरी प्रयोग गर्ने भन्नेबारे जानकार हुनुपर्छ  । यसलाई कसरी प्रयोग गर्ने, कुन ठाउँमा खेती गर्ने भन्ने कुरामा सतर्कता अपनाउनु पर्छ । 

कुनै समय अमेरिका आफैले गाँजामा प्रतिबन्धित लगाउने लगाउने देश अहिले उत्पादनमा पहिलो भएको छ । त्यस्तै मोरोक्को, अफ्गानिस्तान, मेक्सिको, कोलोम्बिया, पाराग्वे, जमैका, क्यानडा, नाइजेरिया, भारत  क्रमशः उत्पादन र गाँजा बिक्रीका लागि अगाडि छन् । संस्कृतमा एउटा भनाइ छ “अति सर्वत्र वर्जयते” अर्थात्, जहाँ पनि अति गर्नु हुन्न । त्यसैले प्रयोग गर्ने स्थान उत्पादन गर्ने ठाउँ, आधिकारिक बिक्रेता सरकारले मान्यता दिने हो भने पक्कै पनि नेपालको अर्थतन्त्र पनि उकालो लाग्ने थियो ।

अमेरिकी वैज्ञानिकहरुका अनुसार यसको खेतीले त्यहाँको माटोमा भएका ब्याक्टेरिया, रोग किरा नष्ट गरी माटोको उर्बराशक्ति बढेको देखिन्छ । त्यहाँ यसको जिन आलुमा राखेर उत्पादन गर्न लागिएको छ । त्यसरी उत्पादित आलुले विभिन्न औषधिको रुपमा काम गर्ने देखिन्छ ।

कसरी दिन सकिन्छ वैधानिकता ?
सही रुपमा प्रयोग गरेर राष्ट्रसंघ नार्कोटिक बोर्डमा निवेदन दिएर नेपालमा पनि केही क्षेत्रमा विधिगत रुपमा उत्पादन गर्ने वातावरण बनाउन सकिन्छ । जुन ठाउँमा जेको पूर्वाधार छ, त्यसैलाई प्रयोग गर्नुपर्छ । हाम्रो देशमा जहाँ पनि यसको उत्पादन हुन्छ । कति जग्गा खेर गएका छन्, जहाँ एक पटक गाँजा लगाउने हो भने अर्को वर्ष आफै उत्पादन हुन्छ । किसानका लागि यो नगदे बाली हनेछ । 
यदि देशलाई कृषितन्त्रबाट अगाडि बढाउने हो भने यसलाई पूर्ण मान्यता दिनुपर्छ । बरु कुन ठाउँबाट बीउ लिने, कुन जात लगाउने, कुन कुन जिल्लामा उत्पादन गर्ने, कसले लगाउने, कसले बेच्ने ? भन्ने कुरा सरकारले नै मापदण्ड बनाएर यसको फुकुवा गर्नुपर्छ । 

नेपालको पाँचथर, ईलाम, सिन्धुपाल्चोक, नुवाकोट, तनहुँ, कास्की, पाल्पा, बागलुङ, अर्घाखाँची, रुपन्देही, दाङ, कैलाली, हुम्ला, जुम्ला लगायत जिल्लामा राम्रो गाँजा खेती हुने देखिएको छ । मकै, कोदो, धान उत्पादन भएन भनेर नबसौं । गाँजालाई वैधानिकता दिन सकिए आर्थिक रुपमा नेपालले छलाङ्ग मार्नेछ ।

अन्तमा, गाँजाबारे अहिले लागू भएको र पाँचपटक संशोधन भइसकेको ऐनले २५ बोट गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । सोभन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना हुन सक्छ । उक्त ऐनअनुसार ५० ग्रामसम्म गाँजा राखे तीन महिनासम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । अब ऐन व्यवस्थित गरी मापदण्ड बनाएर यसको फुकुवा गरिनुपर्छ ।
लेखक कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनमा अध्ययनरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप