बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणगढ–बुटवल सडक निर्माणकार्य सुस्त

बुधबार, ११ साउन २०७९, १० : ०३
बुधबार, ११ साउन २०७९

पछिल्लो चार वर्षदेखि नारायणगढ–बुटवल सडकखण्डमा यात्रा गर्ने जो कोही पनि धुलो र हिलोका कारण आजित बनेका छन् । दुई लेनमा रहेको पूर्व–पश्चिम राजमार्गको यस खण्ड विस्तारको काम सुरु हुनु अघिदेखि नै सडकमा हुने खाल्डाखुल्डीका कारण समस्या हुँदै आएको थियो । 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट पुल्चोकबाट बुटवलसम्मको करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडक खण्डको प्रायः सबै ठाउँमा खाल्डाखुल्डी छन् । यस खण्डमा पर्ने नवलपरासी पूर्व, नवलपरासी पश्चिम र रुपन्देही तीनवटै जिल्लामा लगभग पूरै सडक भरि खाल्डाखुल्डी मात्रै देखिन्छन् । चार लेनमा विस्तार भइरहेको राजमार्गका ठाउँठाउँमा बनेका ठूला खाल्डो बेलैमा नपुर्दा वर्षात्को पानी जमेर यात्रा कष्टकर बनेको यात्रु तथा चालकहरू बताउँछन् । 

नारायणगढबाट बुटवलसम्म साढे एक घण्टामा पुग्ने गरी सडक विस्तार भइरहेको भए पनि निर्माणमा ढिलासुस्ती हुँदा यात्रामा कठिनाइ हुने गरेको छ । सडक फराकिलो पार्ने जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम थालेको ४१ महिनामा १९ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । 

साना–ठूला गरी दैनिक १० हजार सवारीसाधन ओहोरदोहोर गर्ने यो सडक निर्माणमा ढिलाई हुँदा सडक आसपासका बासिन्दा झनै प्रभावित भएका छन् । बुटवल–नारायणगढ सडक भएर यात्रा गर्नेमध्ये सबैभन्दा बढी समस्या एम्बुलेन्स चालकलाई हुने गरेको संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले बताए। 

सडकको दुरावस्थाका कारण स्थानीयवासी समेत मर्कामा परेका बताए । “सडक विस्तारका लागि भनेर धेरै ठाउँमा सडक छेउमा खन्ने र माटो थुपार्ने काम भएको छ” नेपालले भने, “यहाँ पानी पर्दा बाटो र पसलसमेत हिलो हुन्छ, घाम लाग्दा धुलो उडेर पसल फोहर हुने गरेको छ ।” 

नारायणगढ–बुटवल सडकमा निर्माणको हालसम्मको निर्माण चित्तबुझ्दो नभएको र अहिले पनि निर्माण सुस्त भएको नारायणगढ–बुटवाल सडक योजना पूर्वी खण्डले जनाएको छ । पूर्वी खण्डमा अहिलेसम्म १७ दशमलव ७३ प्रतिशत र पश्चिम खण्डमा १९ दशमलव २९ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख रमेशकुमार बिष्टले बताए।  

उनका अनुसार ठेक्का लाग्दाको अवधि दुई हप्ता मात्रै बाँकी रहेको छ । आयोजनाले ठेक्काको अवधि थप गर्न सिफारिस गरेर विभाग पठाएको छ । अवधि थपका लागि प्रक्रिया बढाइए पनि निर्माण कम्पनीको काम चित्तबुझ्दो छैन । कार्यालयको कारण वा कोभिडलगायतका कारणले भए अवधि थप गर्न सकिने तर निर्माण व्यवसायीका कारण नसकिएमा थप नहुने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप