बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

खेलाडीको गुटबन्दीले पुबुदुको बहिर्गमन !

बुधबार, ११ साउन २०७९, ०९ : ५२
बुधबार, ११ साउन २०७९

नेपाली क्रिकेटलाई यो उचाइमा पुर्‍याउन मुख्य भूमिका कसको छ ? यो प्रश्नको उत्तरमा जोडिने नाम मध्यको एक हो, पुबुदु दशानायके । सन् २०११ देखि २०१५ सम्म नेपाली क्रिकेटको प्रशिक्षक भएर उनले टिमलाई इतिहासमै पहिलो पटक विश्वकपसम्म पुगाउन महत्त्वपूर्ण योगदान गरे । 

उनै पुबुदु गत फेब्रुअरीबाट नेपाली टोलीमा प्रशिक्षकको भूमिकामा फेरि आए । पहिलो इनिङ्समा सफल भएका पुबुदु दोस्रो इनिङ्समा आफू असफल भएको स्वीकार गर्दै राजीनामा दिए । भलै उनी सोही दिन क्यानडाको प्रशिक्षक नियुक्त भए तर, नेपाली क्रिकेटमा अब नफर्कने सन्देश दिएर गए । 

नेपाली क्रिकेट राजनीतिबाट लिप्त भएकै कारण सन् २०१५ मा प्रशिक्षकको जिम्मेवारी छोडेका उनले अहिले पनि सोही कारणले प्रशिक्षकको जिम्मेवारी छोड्नु पर्‍यो । तर अहिलेको राजीनामा भने फरक छ । पहिले क्यानका पदाधिकारीको राजनीतिले प्रशिक्षक पद छोडेर गएका पुबुदुले अहिले खेलाडीभित्रको राजनीतिले पद छाडेर गए । 

नेपाली क्रिकेट टिमभित्र गुटबन्दी छ भन्ने चर्चा बेला–बेला आउने गर्छ । त्यो कुरा खेलाडीहरूले स्वीकार गर्दैनन् । तर, मैदानभित्रको प्रदर्शनले प्रस्ट झल्काउँछ । त्यसैले त राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी छोड्दा टोलीका मुख्य प्रशिक्षक पुबुदुले टिममा एकता ल्याउन नसकेको स्पष्ट पारे । एउटै टिमभित्र दुई धार हुँदा टिमले गर्ने प्रदर्शनमा पक्कै पछि असर पार्छ । सोही असरले गर्दा नै नेपाली टोलीले एकदिवसीय क्रिकेटमा कमजोर प्रदर्शन गर्‍यो । 

फलस्वरूप पुबुदुले प्रशिक्षक पद छोड्नु पर्‍यो । राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले पनि कप्तानको जिम्मेवारी नछोड्लान् भन्न सकिँदैन । बिदाइको समयमा पुबुदुले आफूले प्रशिक्षकत्व सम्हाल्दा टिममा एकता नभएको र आफूले प्रशिक्षकको जिम्मेवारी छोड्दा पनि पूर्णरुपमा टिममा एकता नभएको बताए । 

‘मैले प्रशिक्षकको रूपमा जिम्मेवारी सम्हालेको दिनदेखि नै टिममा एकता थिएन । त्यसपछि मैले केही रूपमा टिममा एकता ल्याउने प्रयास गरे । म सफल भइनँ । सुरुमा शून्य एकता भए पनि अहिले केही रूपमा एकता कायम भएको छ । तर, पूर्ण रूपमा टिममा एकता छैन,’ पुबुदुले आफ्नो बिदाइको समयमा भने । 

टिममा एकता नहुँदा नेपाली क्रिकेटमा परेको असर परेको पक्कै छ । उसो त राष्ट्रिय टोलीको जर्सी लगाएपछि कुनै पनि खेलाडीले आफ्नो देशले हारको नतिजा व्यहोरोस् भन्ने चाहँदैन ।  कप्तान सन्दीप लामिछानेले भने सार्वजनिक रूपमा टिममा एकता भएको बताउँदै आएका छन् । घरेलु मैदानमा भएको पपुवा न्युगिनी (पीएनजी)सँगको सिरिज पछि सन्दीपले टिममा एकता नै भएको बताएका थिए । आफूले ‘गुटबन्दी’ बारेको प्रश्नको जवाफ धेरै पटक दिन परेको बताउँदै उनले त्यसलाई खारेज गरेका थिए । ‘यो प्रश्न मैले धेरै पटक सामना गर्नु परेको छ । तर टिममा गुटबन्दी छैन । हामी सबै मैदानमा मिलेर खेल्छौँ । दुई धार नहुने कुनै ठाँउमा हुँदैन तर, त्यसको असर खेलमा देखिएको छैन,’ सन्दीपले भनेका थिए । 

नेपाली क्रिकेटमा गुटबन्दीको शृङ्खला नेपाल क्रिकेट संघ (क्यान)ले आचारसंहिता उल्लङ्घन गरेको भन्दै चार जना खेलाडीलाई कारबाही गरिसकेपछि झनै मौलाएको भन्दै आलोचना भयो । क्यानले गत मङ्सिर २९ गते चार जना खेलाडीलाई कारबाही गर्‍यो । तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उप–कप्तान दीपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी र सोमपाल कामीलाई कारबाही गरेको थियो । 

त्यसपछि उनीहरूले क्यानलाई आफूहरूमा लागेको कारबाही फिर्ता गर्न अपिल गरे । उनीहरूले खेलाडी वर्गीकरणको विषयमा बोल्दा क्यानले कारबाहीमा गरेको थियो । पछि क्यान आफ्नो कारबाहीको विषयबाट पछि हट्यो । वर्गीकरणको विषय पनि सच्यायो । त्यही समयमा पुबुदुले नेपाली क्रिकेटको बागडोर सम्हाल्ने मौका पाए । 

पुबुदुको पहिलो चुनौती भनेको कारबाहीमा परेका र टिममा रहेका खेलाडीहरूलाई एक रूपमा लैजाने थियो । टिममा गुटबन्दी भएको चर्चा चलिरहँदा पुबुदुले टिमलाई एकरूप पारेर लैजाने कोसिस पनि गरे । सुरुवातमा टिमको प्रदर्शनमा गुटको कुनै असर परेन । अमेरिका टुरमा टिममा ७५ प्रतिशत एकता ल्याउन सफल भएको मान्ने पुबुदुले स्कटल्यान्ड टुरमा ९५ प्रतिशत एकता ल्याएको दाबी गरे । तर पछि टिममा एकता नभएकै कारण उनले प्रशिक्षकको जिम्मेवारी छोड्नु परेको सङ्केत भने गरे । 

नेपाली क्रिकेटमा गुटबन्दीको चर्चा सन् २०१८ ताका पनि थियो । नेपाली क्रिकेटमा फ्रेन्चाइजी सुरुवात गरेको एभरेष्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) पछि कप्तान पारस, क्यानका सदस्य छुम्बी लामा र पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पोखरा प्रिमियर लिग (पीपीएल) सुरु गरे । 

त्यसपछि खेलाडीहरूमा दुई धार देखिएको चर्चा चल्यो । त्यतिबेला टिममा आएको गुटबन्दी अहिले प्रशिक्षक र टिमको प्रदर्शनमा असर परेको छ । प्रशिक्षकले नै टोलीमा गुटबन्दी भएको स्वीकार गरेपछि अब टिमले पनि जवाफ दिनुपर्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप