आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बेलायती प्रधानमन्त्रीको दौडमा रहेका ऋषि सुनकको चीनविरुद्ध आक्रामक अभिव्यक्ति

मङ्गलबार, १० साउन २०७९, २२ : ३९
मङ्गलबार, १० साउन २०७९

प्रधानमन्त्री पदको दौडमा रहेका ब्रिटिस कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतका लागि चीन सबैभन्दा ठूलो खतरा भएको बताएका छन् । सुनकले उनका प्रतिद्वन्दी लिज ट्रस चीनप्रति नरम रहेको आरोप लगाउँदै प्रधानमन्त्रीको पदभार सम्हालेको पहिलो दिनबाटै चीनविरुद्ध कठोर हुने बताएको छन् । 

सुनकले लिज ट्रस शिक्षा मन्त्री हुँदा चीनलाई बेलायतका विश्वविद्यालयहरूमा घुसपैठ गर्न सजिलो बनाएको बताए । समाचार एजेन्सी एएफपीका अनुसार ऋषि सुनकले आइतबार राति विदेश नीतिमा आफ्नो अडान स्पष्ट गर्दै चीन र चिनियाँ कम्युनिष्ट पार्टी लामो समयदेखि बेलायतका लागि ‘सबैभन्दा ठूलो खतरा’ रहेको बताए ।

चीनको कडा आलोचना गर्दै सुनकले आफू प्रधानमन्त्री भए बेलायतका विश्वविद्यालय र विद्यालयमा मन्डारिन भाषा पढाउने चिनियाँ कम्युनिष्ट पार्टीसँग आबद्ध सबै संस्था बन्द गर्ने प्रतिबद्धता जनाए ।
सुनकको टिमले सन् २०१२ देखि सन् २०१४ मा बेलायतको शिक्षा मन्त्री रहदाँ लिज ट्रस शिक्षाले देशमा चीनसम्बद्ध ३१ संस्थान खुलेको जोड दिए । 

‘धेरै लामो समयदेखि, बेलायत र पश्चिमका नेताहरूले रातो कार्पेट बिछ्याउँदै चीनको गलत गतिविधि र महत्वाकांक्षालाई आँखा चिम्लिए ,’ सुनकले भने । ​सुनकले आइतवार राती चीनको सामना गर्न नेटोजस्तै नयाँ गठबन्धनको लागि पनि आग्रह गरे । 

सुनकमाथि ट्रसको जवाफी हमला
तर, चीनकै विषयलाई समाएर वर्तमान सरकारमा परराष्ट्रमन्त्री रहेकी लिज ट्रसले पनि सुनक चीनप्रति नरम रहेको जवाफी आरोप लगाएकी छन् । ट्रसले सुनकको प्रधानमन्त्री पदको दाबीलाई चिनियाँ सरकारी मिडियाले समर्थन गरेकोसम्म भनेकी छन् ।

प्रधानमन्त्री पदको दौडमा संलग्न दुई उम्मेदवारबीच चीन बहसको नयाँ मुद्दा बनेर आएको छ । यसअघि पनि कर र आप्रवासीको विषयमा दुवै नेता आमनेसामने भइसकेका छन् ।
चिनियाँ सरकारी अंग्रेजी पत्रिका ग्लोबल टाइम्सले जुलाई १४ मा एक विश्लेषण छापेको थियो जसमा चीनसँग सन्तुलित सम्बन्ध विकास गर्न सुनकको दृष्टिकोण व्यावहारिक रहेको उल्लेख छ ।
सोही समाचारलाई उद्धृत गर्दै ट्रसका समर्थकहरूले अर्थमन्त्रीका रूपमा विगत दुई वर्षमा सुनकले चीनसँग आर्थिक सम्झौता बढाउन जोड दिएको र यसैले चीन उनीसँग नरम रहेको आरोप लगाउन थालेका छन् । 

बेलायतका विश्वविद्यालयहरूबाट चिनियाँ संस्थानहरू हटाउने वाचा गर्दै ऋषि सुनकले आफू प्रधानमन्त्री भए ३० भन्दा बढी कन्फ्युसियस संस्थान बन्द गराउने बताए । यी संस्थाहरू चिनियाँ कम्युनिष्ट पार्टीसँग आवद्ध रहेको बताइन्छ । 
सुनकले ब्रिटिस विश्वविद्यालयले पाउने ६० हजार डलरभन्दा बढीको वैदेशिक लगानीबारेमा जानकारी सार्वजनिक गर्नुपर्ने र अनुसन्धानका लागि भइरहेको साझेदारीको समीक्षा गर्ने  पनि बताए ।
साइबर सुरक्षामा चिनियाँ हस्तक्षेपलाई औल्याउदैं सुनकले बेलायतको घरेलु जासुसी सस्था एमआई–५ लाई चिनियाँ जासुसीसँग लड्न प्रयोग गरिने बताए । उनले साइबर स्पेसमा चिनियाँ खतरासँग जुध्न नेटोजस्ता अन्तर्राष्ट्रिय सैन्य गठबन्धनो निर्माणमा पनि जोड दिए ।
सुनकले रणनीतिक रूपमा संवेदनशील प्राविधिक फर्महरू सहित प्रमुख ब्रिटिश सम्पत्तिहरूको चिनियाँ अधिग्रहणमा प्रतिबन्ध लगाउने मुद्दाको पनि अध्ययन गर्ने वाचा गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप