उपत्यकामा सवारी चालकले लागुऔषध खाए–नखाएको परीक्षण गर्दै ट्राफिक प्रहरी
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चालकको लागु पदार्थ सेवनको अवस्थाबारे परीक्षण गर्न थालेको छ । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट यात्रु ओसार पसार गर्ने ट्याक्सी चालकले लागु पदार्थ सेवन गरे नगरेको परीक्षण गरेर यो कार्यको थालनी गरिएको थियो ।
प्राविधिकहरुको सहयोगमा ट्याक्सी चालकलाई लागुऔषध परीक्षण गरिएपनि लागुपदार्थ सेवन गरेर ट्याक्सी चलाउनेहरु नभेटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरीले रातोपाटीलाई बताइन् ।
सवारी चालकको पिशाव ‘टेष्ट किट’मा राखेर ड्रग्स सेवनको अवस्था र मात्रा बारे परीक्षण गरिन्छ । उपत्यका ट्राफिक प्रहरीलाई लागुऔषध सेवन परीक्षण गर्न धुलिखेलस्थित बागमती प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशालाले प्राविधिक सहयोग गरेको छ । सीमित ‘टेष्ट किट’को प्रयोग गरेर परीक्षण शुरु गरिएको डीआईजी चौधरीले जानकारी दिइन् । चालु आर्थिक वर्षमा लागु पदार्थ सेवन गरेको वा नगरेको परीक्षण गर्न आवश्यक किट किन्न प्रहरी प्रधान कार्यालयले बजेट छुट्याएको छ ।
पिशाव परीक्षण गर्दा चालकले कति मात्रामा लागुऔषध सेवन गरेका छन् भन्नेबारे पनि थाहा हुन्छ । त्रिभुवन विमानस्थल, भक्तपुर, बल्खु, नागढुंगा र भद्रकालीमा लागु पदार्थ सेवन परीक्षण गर्नेगरी उपत्यका ट्राफिक प्रहरी कार्यालयले साप्ताहिक कार्ययोजना बनाएर लागु गरेको छ ।
यसअघि मादक पदार्थ सेवन परीक्षण नियमित गरिएपनि उपत्यकामा लागुपदार्थ सेवन गर्नेहरुलाई नियमित परीक्षण गरिएको थिएन ।
५ स्कुल बसका चालक मापसे कारवाहीमा
उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुल बसका चालकलाई मादक पदार्थ सेवन परीक्षण गर्न थालेको छ । मापसे परीक्षण गर्दा ५ वटा स्कुल बसका चालक कारवाहीमा परेका छन् । बिहानै मापसे गरेर गाडी चलाउँदा कारवाही पर्नेमा पाठशाला फाउन्डेसनको बा.१क ४८७१ नम्बरका चालक पदम बहादुर ठकुरी, मगरुबु इन्टरनेशनल कलेज चुच्चेपाटीको बागमती–०१–००४क–०७९९ नम्बरका चालक सावा तामाङ र जोमियर इन्टरनेशल टुसालको बस नम्बर बा १९च ५१४१ नम्बरका चालक सेजप भण्डारी छन् ।
नेशनल अर्बिक बोर्डिङ स्कुलको बस नम्बर प्र–३–०१–०२५ च ३६९८ का चालक कोनाम लिम्बु र क्यापिटल हिल कलेजको बस बा १ क ९८३० नम्बरका चालक रमेश थापालाई मादक पदार्थ सेवन गरेको कसुरमा कारवाही गरिएको छ ।
मंगलबार सिट क्षमता भन्दा धेरै विद्यार्थी चढाएको आरोपमा एउटा कलेजको बसलाई कारवाही गरिएको छ । ७१ जना विद्यार्थी चढाएको भेटिएपछि बालाजु क्षेत्रमा बसलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सो बसलाई १ हजार जरिवाना गरिएको छ ।