आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तत्कालीन प्रधानमन्त्री ओलीले ल्याएको नागरिकता अध्यादेश र प्रतिनिधि सभाबाट पारित विधेयक दुरुस्त

मङ्गलबार, १० साउन २०७९, १९ : ५३
मङ्गलबार, १० साउन २०७९

शुक्रबार प्रतिनिधिसभाबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित हुँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विपक्षमा मतदान ग¥यो । संसदको राज्यव्यवस्था समितिबाट २०७७ असारमा पारित भएर प्रतिनिधिसभामा प्रतिवेदन पेस गरे पनि केपी ओली नेतृत्वको तत्कालीन सरकारले त्यसलाई सदनमा प्रवेश गराएन । बरु संसदीय समितिले २ वर्ष छलफल गरेर पारित गरेको विधेयक लत्याएर अध्यादेश ल्याइएको थियो । ओलीले २०७८ जेठ ९ गते नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेका थिए । जेठ २७ गते सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि संसदीय समितिबाट पारित विधेयक लत्याएर त्यसमा हेरफेर गरी विधेयक ल्यायो । सो विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । पारित विधेयक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष जारी गरेको अध्यादेशको हुबहु छ । सो अध्यादेशमा पनि वैवाहिक अंगीकृतको बारेमा केही व्यवस्था राखिएको थिएन भने हाल प्रतिनिधिसभाबाट पारित भएको विधेयकमा पनि केही राखिएको छैन ।

नागरिकता सम्बन्धी अध्यादेशमा गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था थिएन, तर अहिले प्रतिनिधिसभाबाट पारित विधेयकमा भने त्यो व्यवस्था थप गरिएको छ ।

एमाले सरकारले ल्याएको अध्यादेशमा भएका प्रावधान र हालै प्रतिनिधिसभाबाट पारित भएको विधेयकमा रहेका अधिकांश प्रावधान हुबहु छन् ।

तत्कालीन प्रधानमन्त्री ओलीेले जारी गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको अध्यादेशमा गरिएको व्यवस्था :

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको अध्यादेशमा :

–मूल ऐनमा भनिएको दफा ३ को १ उपदफा ३ मा रहेका नेपाल सरहदभित्र भन्ने शब्दहरूको सट्टा ‘नेपालभित्र’ भन्ने शब्द राखी सोही उपदफामा रहेका पितृत्व मातृत्वको भन्ने शब्दहरूको सट्टा पितृत्व र मातृत्वको भन्ने शब्दहरू राखिएको ।

–२०७२ साल असोज ३ गते भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था ।

–नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था ।

–आमाको नाममा नागरिकता लिएका कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम नरहने, निजले बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी तोकिएबमोजिम स्वघोषणा गरेमा निजको नागरिकतालाई अङ्गीकृत नागरिकतामा परिणत गरिने व्यवस्था ।

–नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निज र निजको आमाले तोकिए बमोजिमको स्वघोषणा गरेमा नागरिकता दिने व्यवस्था ।

–निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्थामा सोको प्रमाणसहित निवेदकले गरेको स्वघोषणा संलग्न गरेमा नागरिकता पाउने व्यवस्था ।

–यसरी स्वघोषणा गरी नागरिकता लिएको झुटो ठहरेमा त्यस्तो झुटो स्वघोषणा गर्ने व्यक्तिलाई ६ महिनादेखि एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था । झुट्टो स्वघोषणा गरी नागरिकता प्राप्त गरे बापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुने व्यवस्था ।

हालै प्रतिनिधिसभाले पारित गरेको नेपाल नागरिकता विधेयकमा रहेका व्यवस्थाहरु :

 –नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिने ब्यवस्था ।

–२०७२ साल असोज ३ गते भन्दाअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था ।

तर राज्यव्यवस्था तथा सुशासन समितिले पारित गरेको विधेयकमा २०६५ साल मंसिर ९ गतेभित्र निवेदन दिई नेपालको संविधान प्रावधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको थियो ।

–नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था ।

–विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मिएको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था । तर नागरिकता पाएको कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम नरहने, विदेशी नागरिकता नलिएको स्वघोषणा गरेमा अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था । 

–गैर आवासीय नेपालीले राजनीतिक अधिकार बाहेकको नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था । बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था ।

राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको विधेयकमा मूल ऐनको दफा ५ मा उपदफा ५, ६ र ७ थप्नेगरी गैर आवासीय नेपालीलाई नागरिकलाई राजनीतिक अधिकार बाहेकको अरु अधिकार दिने गरी नागरिकता दिने प्रावधान राखिएको थियो ।

–नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको आमाले गरेको तोकिए बमोजिमको स्वघोषणा र त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्थामा सोको प्रमाणसहित निवेदकले गरेको स्वघोषणाका आधारमा वंशजको नागरिकता दिने व्यवस्था ।

तर नागरिकताको प्रमाणपत्र लिन निवेदन दिँदा बाबु र आमा दुवैको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नु पर्ने व्यवस्था ।

–स्वघोषणा झुटो ठहरे ६ महिनादेखि एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय र नागरिकता स्वतः रद्द गर्ने व्यवस्था ।

राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर ७ वर्षसम्म स्थायी बसोबास गरेको रहेछ भने निजले नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ भन्ने प्रावधान बहुमतले पारित गरेको थियो ।  

तर तत्कालीन ओली सरकारले ल्याएको अध्यादेशमा पनि यो विषय समावेश गरिएको थिएन । हाल सरकारले संसदमा पेस गरेर पारित भएको विधेयकमा पनि यो प्रावधानलाई छोडिएको छ । २०६३ सालको मूल ऐनमा यो विषय संशोधन हुन नसक्दा नेपालीसँग बिहे गरेकी आएकी महिलाले आफ्नो देशको नागरिकता त्याग गरेको स्वघोषणा गरेपछि जुनसुकै बेला नेपाली नागरिकता प्राप्त गर्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप