शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रमा देखिएका चुनौती कम गर्न राष्ट्रपतिले सुझाइन् दुई उपाय

मङ्गलबार, १० साउन २०७९, १८ : ५५
मङ्गलबार, १० साउन २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले हाल अर्थतन्त्रमा देखिएको चुनौतीलाई कम गर्न दुई उपाय सुझाएकी छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा राष्ट्रपतिले फजुल खर्च नियन्त्रण र मितव्ययिता अवलम्बनमा जोड दिएकी हुन् ।

यस्तै राष्ट्रपतिले अर्थव्यवस्थालाई स्वावलम्बी र आत्मनिर्भर बनाउन नेपालको लागि तुलनात्मक लाभको क्षेत्रमा तत्काल नयाँ फड्को मार्ने गरी कामको सुरुवात गर्नुपर्नेमा पनि जोड दिइन् । विप्रेषणमा निर्भर हाम्रो वैदेशिक मुद्रा सञ्चितिलाई बढ्दो आयातले निरन्तर दवाबमा राखिरहेको उल्लेख गर्दै राष्ट्रपतिले जसबाट देशको समग्र अर्थव्यवस्थामा नै चिन्ताको बादल छाएको बताइन् ।  ‘सत्र खर्ब रुपैयाँ वरिपरिको बजेट बनाउने हाम्रो मुलुकले करिब उन्नाइस खर्ब रुपैयाँको वार्षिक आयात गर्नु सानो चुनौती होइन । अहिले एकातिर परनिर्भर अर्थतन्त्रले मुलुकको आत्मविश्वासलाई कसरी कमजोर बनाउँछ भन्ने सम्बन्धमा जनतालाई अझै सुसूचित गर्नुपरेको  छ भने‚ अर्कोतिर सरकारका तर्फबाट तत्काल सुधारका उपायहरू कडाईका साथ लागू गर्नु आवश्यक छ । केही सुरुवाहरू भएका छन्, जसलाई अझै बलियो पार्दै लैजानु पर्दछ’, राष्ट्रपतिले भनिन् । 

राष्ट्रपतिको नजरमा अर्थतन्त्रमा देखिएका चुनौतीलाई कम गर्न अपनाउनुपर्ने दुई उपाय यस्ता छन्–
पहिलो उपाय –फजुल खर्च नियन्त्रण र मितव्ययिता अवलम्बन । आर्थिक अनुशासनलाई हामीले अझ कठोरतापूर्वक पालना गर्नु आवश्यक छ । त्यसैले‚ मैले भन्दै आएको छु-अहिले सबैले मुठ्ठी कस्नुपर्ने समय छ । हरेक नागरिक परिवारदेखि राज्यका निकायहरूलाई खर्च सकेसम्म नियन्त्रण गर्न मेरो आग्रह छ । आर्थिक अनुशासन र मितव्ययितालाई हामीले जीवन पद्धतिका रूपमा अवलम्बन गर्नु पर्दछ । 

दोस्रो उपाय– अर्थव्यवस्थालाई स्वावलम्बी र आत्मनिर्भर बनाउन नेपालको लागि तुलनात्मक लाभको क्षेत्रमा तत्काल नयाँ फड्को मार्ने गरी कामको सुरुवात गर्नुपर्दछ । हाल मुलुकले आयात गरिरहेको वार्षिक करिब चार खर्ब रुपैयाँ बराबरको सामग्री कृषि र वनसँग सम्बन्धित उत्पादन रहेको तथ्याङ्कले देखाउँछन् । हामीले आफैं उत्पादन गर्न सकिने धान चामल मात्रै करिब पचास अर्ब रुपैयाँ बराबरको आयात भइरहेको छ । 

सागसब्जी, दाल, मसला र गेडागुडी समेत उसैगरी आयात भएको देखिन्छ । फर्निचर, काठ र अन्य वन पैदावारको पनि त्यही अवस्था छ । कृषि उत्पादनबाट केही महिनामा नै लाभ प्राप्त गर्न सकिने हुनाले ठोस नीति र सकारात्मक हस्तक्षेपका माध्यमबाट उत्पादन बढाई व्यापार घाटा कम गर्ने पहलको सुरुवात यहाँबाट गर्न सकिन्छ भन्ने मलाई लाग्दछ । अहिले हाम्रो अभियान हुनुपर्दछ – खेतबारी बाँझो नराखौँ । यसनिम्ति जनता आफैं जागृत हुने अवस्था निर्माण गर्न हाम्रो प्रयत्न रहनुपर्दछ । नवनिर्वाचित स्थानीय तहहरूले यस अभियानको नेतृत्व गर्न सक्दछन् भन्ने मलाई लाग्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप