कविता : खुकुरीको धार र छोरीहरू
रातको छिप्पिदो प्रहरमा,
निद्रामा डुबुल्की लाउनै लाग्दा
तिम्रा ती कोमल हातहरू,
छेउमै कतै चल्मलाए झैं लाग्छ
थकित आँखाहरू खोलेर हेर्न नभ्याउँदै
शून्यतामा ‘आमा’ भनी चिच्याए झैं लाग्छ ।
चर्किएका यी छातीबाट
दूधका धारा सँगसँगै
सुन्निएका नयनका कोश हुँदै
अश्रुधारा बनेर झरछ्यौ छोरी
रोएर मुटु शीतल हुन नपाउँदै
पीडालाई आँसुले पखाल्न नभ्याउँदै
प्लास्टिकले बेरेर थमाईएको शव
नाच्न थाल्दछ फेरि मस्तिष्क भरि ।
भर्खरै टुसाएको पालुवालाई,
असिनाले क्षतविक्षत बनाएजस्तै
डेढ वर्षको नाजुक शरीरलाई,
आँगनबाटै उठाई शिकार बनाइयो
बल्दै गरेको दीयो झ्याप्प निभेजस्तै
कोमल त्यो जिउबाट जीवन टाढियो ।
मुकदर्शक बन्यो सरकार
मौन बसे कानूनविद्
नीति, नियम बनाउने रमिते भए
हारगुहार गर्न जाऊँ म को सँग ?
छोरी, तिम्रा ती हत्याराहरूलाई
सरकारले पालेर राखेको छ अहिले
जवान भए तिमीलाई चरित्रहीन भन्थे
खराब आमाको संज्ञा पाउँथे मैले ।
केही वर्षमै छुट्नेछन् अपराधी
हिँडनेछन् फेरि उन्मुक्त बनी
गर्नेछन् निसंकोच अपराध अर्को
चुँडिनेछन् कोपिला उसै गरी
त्यसैले, छोरी
अब फेरि जन्म लिँदा खेरि
अस्त्र शस्त्रले सजिएर जन्मनु
गरेर बध महिशासुरहरूको
अन्धो कानुनलाई चुनौती दिनु ।
ताकि,
दण्डहीनताको परकाष्ठा बनेर
फूलजस्तो जीवन कसैको नझरोस्
खुकुरीको धारमा पाईला राखेर
अब छोरीहरूलाई हिँड्न नपरोस् ।
हिँड्न नपरोस् ।।
कवि आर्किटेक्ट हुन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पठनपाठनसँगै कुखुरा पालन, सामान्य खर्चको जोहो आफैँ गर्दै विद्यार्थी
-
उपनिर्वाचन : हेटौँडा–१२ का उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त
-
स्थानीय तहको उपनिर्वाचन : कर्णालीमा महाबु गाउँपालिकाको अध्यक्ष पदमा दलहरूको चासो
-
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
-
आमा-छोराको हत्या गरी फरार अभियुक्त ४ वर्षपछि पक्राउ
-
सुदूरपश्चिम भ्रमणको तयारीमा पूर्वराजा शाह