उद्योगमन्त्री बडुद्वारा फेरि जुट मिल चलाउने घोषणा
तत्कालिन वाम गठबन्धनबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त भएका मातृका प्रसाद यादवले २०७५ वैशाख २२ गते विराटनगर जुटमिल भ्रमण गर्दै तत्काल उद्योग संचालन गर्ने बताए । तत्कालिन उद्योगमन्त्री महेश बस्नेतले पनि जुटमिल संचालन गर्ने बताएका थिए । तर, उनको पालामा नियुक्त भएका जुटमिलका अध्यक्ष निलहरि काफ्ले विवादित बन्दै बाहिरिनु परेको थियो ।
त्यसको ६ महिनापछि अर्थात् २०७५ असोज ३० गते जुटमिल प्रशासनले मिल संचालन भएको भन्दै केही उत्पादित वस्तु बिक्रीको तयारी भएको प्रचारमा ल्यायो । तर, त्यतिबेला सर्भिसिङ गराएर चल्न थालेका मेसिन पनिअहिले बन्द छन् ।
यही बेला पुनः हालका उद्योगमन्त्री दिलेन्द्र प्रसाद बडुले जुटमिल चलाउने घोषणा गरेका छन् । मन्त्री बडुले आज विराटनगर जुटमिलको अनुगमन भ्रमण गर्दै फेरि जुटमिल चलाउने बताएका हुन् ।
बडुका अनुसार विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, नेपाल मेटल, गोरखकाली रबर उद्योग, हटौंडा कपडा उद्योग, नेपाल ओरिन्ड म्याग्नेसाइट उद्योग, बिरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक अध्ययनको काम सुरु गरिएको छ ।
‘नेपाली उपभोक्ताका लागि नेपाली उत्पादन प्राथमिकतामा राखेर मात्रै आयात प्रतिस्थापन गर्न सकिन्छ’ मन्त्री बडुले भने, ‘पीपीपी, लिज वा सरकार आफैंले रुग्ण उद्योग सञ्चालनमा ल्याउने छ । त्यसका लागि कार्यदल गठन गरेर अध्ययन गरिरहेका छौं, रुग्ण उद्योगको स्थलगत निरीक्षणका लागि म आफैं आईरहेको छु ।’ बडुले पूर्ण रुपमा उत्पादन बन्द रहेको जुट मिल सञ्चालनमा ल्याएर स्थानीयवासीको रोजीरोटीसँग सुनिश्चित गर्ने दाबी पनि गरे ।
४६ बिघा क्षेत्रफलमा फैलिएको विराटनगर जुट मिलको विभिन्न स्थानमा ६९ बिघा जमिन रहेको छ । अहिले दैनिक २४ जना कर्मचारी तथा कामदार जुट मिलमा आउने गरेका छन् । हालसम्म ४६ जना कर्मचारी तथा कामदारको ४ करोड १० लाख रुपिँया भुक्तानी दिन बाँकी छ । अहिले जुट मिल सञ्चालन समिति समेत छैन । विराटनगर जुटमिलको संचालक समितिमा सरकारबाट ३ जना रहने र नीजि शेयर धनीका तर्फबाट ४ जना रहने व्यवस्था छ ।
विराटनगर जुट मिल्स वि.सं. १९९३ असार ३० गते स्थापित भएको थियो । मिलले २०६५ सालपछि उत्पादन गर्न सकेको छैन । पर्याप्त मात्रामा कच्चा पदार्थ आपूर्ति, पाटपूर्जाको उपलब्धता र केही प्राविधिक जनशक्ति थप भए मिल्सले दैनिक १५ देखि २० टन उत्पादन सजिलै गर्न सक्ने बताइएको छ । विराटनगर जुटमिलको ५ अर्ब रुपैयाँ सम्पत्ति हडप्ने षड्यन्त्र भएको भन्दै जुटमिल बचाउन अभियान समितिले पटकपटक आन्दोलन पनि गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने
-
जर्मन चान्सलर स्कोल्जले गुमाए विश्वासको मत
-
‘मायामा ठ्याक्क ठुक्क’मा बोल्ड सुरक्षा
-
टिकटकले गुहार्यो अमेरिकी सर्वोच्च अदालत
-
सरोकारवालाले अपनत्व लिने गरी शिक्षा ऐन पारित गरिनुपर्छ : नैनसिंह महर
-
कानुनको अभावले सङ्घ र प्रदेशबिच अन्तर्विरोध देखिएका छन्: अध्यक्ष दाहाल