सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

क्यानडाका आदिवासीसँग किन मागे क्रिश्चियन धर्मगुरुले माफी ?

के हो क्यानडाको आवासीय विद्यालय प्रकरण ?
मङ्गलबार, १० साउन २०७९, १७ : २७
मङ्गलबार, १० साउन २०७९

विश्वभरका क्याथोलिक क्रिश्चियन धर्मावलम्बीका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले क्यानडाका आदिवासीसँग माफी मागेका छन् । विगत लामो समय चर्चद्वारा सञ्चालित आवासीय विद्यालयहरूले क्यानडाका आदिवासी सम्प्रदायहरु फस्र्ट नेसन, इनुइट र मेटिसका बच्चाहरूलाई सानैमा जबरजस्ती परिवारबाट खोसेर आवासीय विद्यालयमा इशाइ रहनसहन गराउँथ्यो । 

सोमबार क्यानडाको पश्चिमी प्रान्त अल्बर्टाको मास्कवासिसस्थित पहिले एर्मिनेस्किन इन्डियन रेसिडेन्सियल स्कूल रहेको ठाँउमा पुगेर पोपले आफू क्यानडा आउनुको कारण ‘मेरो दुःख व्यक्तिगत रूपमा तपाईंहरुलाई(आदिवासी) बताउनु थियो । साथमा भगवानसँग क्षमा, मेलमिलापको कामना गर्न पनि आएको’ बताए । 

‘मेरो प्रायश्चितपूर्ण यो तीर्थयात्राको पहिलो कदममा म यहाँहरुसँग माफी माग्न चाहन्छु ,’ पोप फ्रान्सिसले भने । उनले आदिवासी नेताहरू, आदिवासी समाजका वयोवृद्ध, आवासीय विद्यालयमा यातना पाएर बचेकाहरू र अन्य मानिसहरूको उपस्थितिमा आयोजित समारोहमा धेरै पटक माफी शब्द उच्चारण गरेका थिए ।

‘क्यानडामा जे भयो त्यो जिसस क्राइस्टको शिक्षासँग मेल नखाने विनाशकारी त्रुटि थियो,’ पोपले भने । उनले क्यानडाका आवासीय विद्यालयहरूको प्रभावलाई ‘अनर्थकारी’ भनेर वर्णन गरे । ‘म विनम्रताका साथ आदिवासी जनजातिहरूविरुद्ध धेरै क्रिस्चियनहरूले गरेको अपराधको लागि लागि क्षमा माग्छु,’ पोपले भने । 

क्यानडाका विभिन्न पूर्व आवासीय स्कूल क्षेत्रमा सयौं अपरिचित चिहानहरू फेला परेपछि पोपको ६ दिने क्यानडा भ्रमण भएको हो । यी चिहान आवासीय विद्यालयमा पढ्ने आदिवासी बालबालिका भएको पुष्टि भएको छ । 
आदिवासी र विभिन्न अभियन्ताले इसाई आवासीय विद्यालयमा भएको कुकर्मका लागि क्यानडा सरकार र क्याथोलिक चर्चले जिम्मेवारी लिनुपर्ने माग गरिरहेका छन् ।

के हो क्यानडाको आवासीय विद्यालय प्रकरण ?
विगतमा लामो समय क्यानडा सरकारको अनुदानमा क्रिश्चियन चर्चले संचालन गरेका यस्ता आवासीय विद्यालयले आदिवासी बालबालिकाहरूलाई बन्धकजस्तो बनाएर राख्थ्यो । संजालको रुपमा रहेका चलेका ती विद्यालयहरु आदिवासी बालबालिकालाई तिनको आदिवासी संस्कृति र धर्मबाट छुट्याएर युरोपेली संस्कृति अनुकुल हुर्काउने उद्देश्यले संचालन भएको थियो । 

सय वर्षभन्दा बढि संचालनमा रहँदा यी विद्यालय झण्डै १,५०,००० बालबालिका पढेको र तीमध्ये हजारौंको ज्यान गएको तथ्याकंले देखाएको छ । मृतक बालबालिकाको संख्या भने हालसम्म एकिन पाइएको छैन ।   त्यहाँ युरोपेली संस्कृति र क्रिश्चियन धर्म आत्मसात गराउने उद्देश्य राखेको थियो । 

यस्ता विद्यालयहरु सन् १८०० देखि सन् १९९० को दशकसम्म संचालनमा रहे । यस अवधिमा क्यानडाका आदिवासी जातीहरु फर्स्ट नेसन, मेटिस र इनुइटका झण्डै १,५०,००० भन्दा बढी बालबच्चाहरूलाई तिनको परिवारबाट खोसेर जबरजस्ती आवासीय विद्यालयमा राखिएको थियो । 

आदिवासी धर्म र सस्कृतिलाई समूल नष्ट गरेर इसाई धर्मको एकाधिकार कायम राख्ने उद्देश्यका साथ बनाइएका यी विद्यालयमा आदिवासी बालबालिकालाई तिनको मातृभाषा(आदिवासी भाषा) बोल्न प्रतिबन्ध लगाइन्थ्यो ।
आवासीय विद्यालयमा रहेको समयमा आदिवासी बालबालिका र किशोर किशोरीहरुलाई व्यापक शारीरिक, मनोवैज्ञानिक र यौन दुर्व्यवहार भएको कयौं कागजातहरूले देखाएका छन् । 

चरम यातनाका कारण यी विद्यालयमा हजारौं बालबालिकाको मृत्यु भएको विश्वास गरिन्छ । यिनलाई गोप्य रुपमा गाडिएका चिहानहरू अहिले एकपछि अर्को गरेर भेटिन थालेका छन् । क्यानडाका इसाई आवासीय विद्यालयमा जे भयो त्यसलाई ‘सांस्कृतिक नरसंहार’ मान्न सकिने क्यानडाको संघीय सरकारले बनाएको अनुसन्धान आयोग सत्य–निरुपण तथा मेलमिलाप आयोगले सन् २०१५ मा बताएको थियो ।

‘तपाईंले यति लामो दुरी पार गरेर हाम्रो भूमिमा आएर हामीसँग हात मिलाएर मेलमिलापको बाटोमा हिँड्ने विकल्प रोज्नु भयो । यसका लागि हामी तपाईंप्रति आदर व्यक्त गर्छौं र यस भूमिमा हार्दिक स्वागत गर्दछौं ,’ मास्कवासिसमा आयोजना गरिएको एक समारोहमा सोमबार डा. विल्टन लिटलचाईल्डले पोपलाई सम्बोधन गर्दै भने । 
आफै एर्मिनेस्किन आवासीय विद्यालयमा हुर्किएका डा. लिटलचाईल्डले लामो समयदेखि यस विषयमा पोपले माफी माग्नुपर्ने वकालत गर्दै आएका थिए । सन् १८९५ देखि १९७५ सम्म संचालनमा रहेको एर्मिनेस्किन आवासीय विद्यालय क्याथोलिक चर्चद्वारा संचालिन सबैभन्दा ठूलो आवासीय विद्यालयमध्ये एक थियो । 

दशकौंदेखि इसाई आवासीय विद्यालयहरूमा भएका दुर्व्यवहारहरूमा चर्चको भूमिकाको लागि चर्चले माफी माग्नुपर्ने यी विद्यालयमा यातना भोगेर बाचेकाहरुले माग गर्दै आएका छन् । सात वर्षअघि सत्य निरुपण तथा मेलमिलाप आयोग गरेका माग गरेका ९४ सिफारिसमध्ये एक थियो । 

यो वर्षको सुरुमा रोम पुगेका आदिवासी प्रतिनिधिमण्डलसँग कुरा गर्ने क्रममा पोप फ्रान्सिसले आवासीय विद्यालयमा क्याथोलिक चर्चका सदस्यले गरेका ‘निन्दनीय आचरण’को लागि माफी मागे । तर केही आदीवासी नेताहरूले पोपले आदिवासी भूमिमै गएर माफी माग्नु पर्ने बताएका थिए । 

ओन्टारियोस्थित कुख्यात सेन्ट एनको आवासीय विद्यालयमा यातना पाएर बाँचेकी एभलिन कोर्कमाजले सोमबारको पोपको माफीबाट मिश्रित अनुभव गरिरहेको बताए । सेन्ट एनमा आदिवासी बच्चाहरूलाई विद्युतीय कुर्सीमा करेन्ट लगाइन्थे ।

‘आंशिक रुपमा म हर्षित छु, तर भित्र मन दुःखी पनि छ । अर्को एक अंश स्तब्ध छ । तर यो माफीको साक्षी हुने गरी लामो समयसम्म बाँचेकोमा खुसी छु, तर माफीकै लागि ५० वर्षभन्दा धेरै लामो पर्खनु दुःखद कुरा हो ’ कोर्कमाजले एक पत्रकार सम्मेलनमा भनिन् । 

पोप फ्रान्सिसको भ्रमण र क्षमायाचनाले आदिवासी नेता र आवासीय विद्यालयमा यातना पाएर बचेकाहरूबाट भिन्न भिन्न प्रतिक्रियाहरू निम्त्याएको छ । केहीले यसलाई मेलमिलाप तर्फको मार्गमा महत्वपूर्ण कदमको रूपमा स्वागत गरेका छन् । अरुले भने यो धेरै थोरै गरी आएको बताएका छन् ।

कतिपयले क्याथोलिक चर्चले आवासीय विद्यालयहरूमा उसको भूमिकाको लागि प्रायश्चितभन्दा पनि धेरै गर्नुपर्ने बताएका छन् । 
यस अन्तरगत उसले आवासीय विद्यालय सम्बन्धित सबै कागजातहरू सार्बजनिक गर्नुपर्ने, बचेका र आदिवासीहरु पूर्ण क्षतिपूर्ति दिनुपर्ने र दुर्व्यवहारका दोषीहरूलाई न्यायको दायरामा ल्याउन मद्दत गर्नुपर्ने बताएका छन् ।
सोमबारको कार्यक्रममा पोप फ्रान्सिसले पनि उनको माफी पहिलो कदम मात्र भएको स्वीकार गरे । उनले त्यस्ता दुरव्यवहारलाई पुनः हुन नदिन ‘के भएको थियो त्यस तथ्यमा गम्भीर अनुसन्धान गरिनु पर्ने’ बताए । पोपले यस्तो अनुसन्धानमा के समावेश हुनेछ भन्नेबारे थप स्पष्ट पारेनन् । 

पोप फ्रान्सिसले सोमबार दिउँसो एडमन्टनस्थित सेक्रेड हर्ट चर्चमा आदिवासी सम्प्रदायका मानिससँग भेटघाट गरेका थिए । उनले मंगलबार कमनवेल्थ स्टेडियममा मानिसहरुलाई दर्शन दिने कार्यक्रम थियो । त्यउसपछि उनी अलबर्टास्थ्ति चर्चित तिर्थस्थल ल्याक स्टे एनमा यात्रा गर्नेछन् ।

बुधबार, पोपले क्युबेक शहरको यात्रा गर्नेछन्, जहाँ उनले प्रधानमन्त्री जस्टिन ट्रुडो र गभर्नर जनरल मेरी साइमनलाई भेट्नेछन् । त्यहाँ पनि उनले उत्तर अमेरिकाको सबैभन्दा पुरानो क्याथेड्रलहरूमध्ये एकमा सामूहिक प्रार्थना आयोजना गर्नेछन् । उनको क्यानडा भ्रमण शुक्रबारसम्म हुनेछ । अन्तिममा उनी नुनाभुटको उत्तरी क्षेत्र इक्लुइटमा पुग्नेछन् । 
अल जजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप