बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जनकपुरधाम उपमहानगरको नगरसभामा ४३ लाखको मासुमात्रै !

मङ्गलबार, १० साउन २०७९, १७ : १३
मङ्गलबार, १० साउन २०७९

जनकपुरधाम उपमहानगरपालिकाले एक वर्षको अवधिमा नगरसभा बैठकमा ४३ लाखभन्दा बढी रकम मासुको नाममा मात्रै खर्चेर अनियमितता गरेको सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७७/०७८ को प्रतिवेदन अनुसार जनकपुरधाम उपमहानगरपालिकाले नगरसभाको नाममा ४३ लाख ८ हजार १२८ रुपैयाँको खसी र ब्रोइलर कुखुराको मासु खर्च भएको देखाइएको हाे ।

सो वर्षको नगरसभामा केही वडाध्यक्षसहितका जनप्रतिनिधिले गरेको विरोधका कारण तत्कालीन मेयर लालकिशोर साह पक्षका केही जनप्रतिनिधि र आमन्त्रित व्यक्ति लगायत अति न्यून उपस्थितिमा उद्घाटन सत्र सम्पन्न भएको थियो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष परमेश्वर साहले आर्थिक वर्ष ०७७/०७८ मा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयलाई पारदर्शी गर्न, नगर सरसफाईलगायत विभिन्न विकास निर्माणको माग राख्दै आफूहरुले विरोध गर्दै आएको स्मरण गराए । उनले नगरसभाको नाममा तत्कालीन मेयरले आफन्त र केही जनप्रतिनिधिको नाममा मासुमा मात्रै लाखौँ रुपैयाँ खाएर भ्रष्टाचार गरेको आरोप लगाए ।

उनले भने, ‘महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार तत्कालीन मेयर लालकिशोर साह र तत्कालीन प्रशासकीय अधिकृत र लेखा अधिकृतबाट सो रकम असुल गराउनु पर्छ ।’ अघिल्लो कार्यकालमा समेत वडा अध्यक्ष रहेका परमेश्वर साहले आफूहरुले विरोध गर्दा विवाद भएपछि मुस्किलले ५० जनाभन्दा पनि सीमित व्यक्तिको उपस्थितिमा नगरसभा आयोजना भएको बताए । महालेखाको प्रतिवेदनमा पनि उपमहानगरपालिकाले सञ्चालन गरेको सो नगरसभामा कतिजना उपस्थित थिए भन्ने खुल्न नसकेको भनिएको छ । तर उपमहानगरपालिकाले खाना, खाजामा ठूलो रकम खर्च गरेको देखाएको छ ।

महालेखा परीक्षकको कार्यालयले नगरसभामा उपस्थितिको संख्या नखुलेकाले पालिकाका कर्मचारी, पदाधिकारी र अन्य आमन्त्रित व्यक्ति गरी ५५० जनालाई आधार मानेर उपमहानगरले प्रतिव्यक्ति ७ हजार ८३३ रुपैयाँ खर्च गरेको जनाएको छ । महालेखाले प्रतिव्यक्ति ७ हजार ८३३ रुपैयाँ खर्च हुनु स्वाभाविक नभएको सो प्रतिवेदनमा भनेको छ । प्रतिवेदन अनुसार उपमहानगरपालिकाले नगरसभामा खसीको मासु ६५३ केजी १ हजार प्रतिकेजीका दरले ६ लाख ५३ हजार रुपैयाँको र कुखुराको मासु १५० केजी ३८० प्रति केजीका दरले ५७ हजार भुक्तानी गरेको पाइएको छ ।

त्यसैगरी जनकपुरधाम उपमहानगरले दुई दिनको खाना बनाएबापत ज्यालामा १ लाख २५ हजार रुपैयाँ, नगरसभाको प्रत्यक्ष प्रसारण गरेबापत स्थानीय टेलिभिजनलाई ९५ हजार रुपैयाँ, स्टेज सजावट तथा खाना बनाउने आवश्यक भाँडामा ३ लाख ३७ हजार ८७० रुपैयाँ, केसरिया गम्छा ३६० को दरले १ लाख ४२ हजार ४४० रुपैयाँ, व्याग र छाता १४०/१४० थानको ५ लाख ७४ हजार ७४१ रुपैयाँ, पाइलट पेन ५८० थानको ७७ हजार ९२१ रुपैयाँ खर्च गरेको उल्लेख छ ।

त्यस्तै चिनी, चियापत्ती, चामल, दाल तथा मसला आदिमा ४ लाख ९६ हजार ४५७ रुपैयाँ, १५५ थान डायरीमा ९८ हजार ४८४ रुपैयाँ, पेश्की रकम ८ लाख ६० हजार रुपैयाँ, खाजा, कोल्ड ड्रिंक्स लगायत मसला र तरकारी आदिमा ७ लाख ९० हजार २१५ रुपैयाँ जनकपुरधाम उपमहानगरपालिकाले खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदनमा उल्लेख भए अनुसार बेरुजु ठहर भएको देखाइएको सम्पूर्ण खर्चको रकमसहित सम्बन्धित व्यक्तिसँग असुल उपर गर्न जनप्रतिनिधिहरुले समेत माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप