बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

किशोरीको सामूहिक आत्महत्या प्रकरण : कारण खोज्दै प्रहरी

मङ्गलबार, १० साउन २०७९, १७ : ०४
मङ्गलबार, १० साउन २०७९

झापाको कचनकवलमा आइतबार बिहान बयरको रुखमा झुण्डिएको अवस्थामा भेटिएका तीन किशोरीको ‘आत्महत्या’का सम्बन्धमा प्रहरीले कारण खोज्न थालेको छ । स्थानीय चिया बगानमा काम गर्ने तीन किशोरीले आइतबार बिहान सामूहिक आत्महत्या गरेका थिए । 

झापाको कचनकवल–५ पाठामारीका १७ वर्षीया अञ्जली गणेश, १६ वर्षीया करिना गणेश र १६ वर्षीया शर्मिला गणेशले गत साउन ८ गते बिहान स्थानीय सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएर आत्महत्या गरेका थिए । तीनै किशोरी सोही चिया बगानमा दैनिक ज्यालादारीमा काम गर्थे । 

झापा प्रहरीले शवको पोष्टमार्टमका लागि धरानमा पठाएको थियो । पोष्टमार्टमको लिखित रिपोर्ट आउन बाँकी नै रहेको भएपनि प्रारम्भिक रिपोर्टमा आत्महत्या नै देखिएको प्रहरीले जनाएको छ । पोष्टमार्टम लगत्तै आफन्तले शवको जिम्मा लिई सोमबार नै सदगदसमेत गरिसकेका छन् । 

​झापा प्रहरीका प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार यतिबेला प्रहरीले किशोरीहरुले किन सामुहिक आत्महत्या गरे भनेर त्यसको कारण खोजी गरिरहेको छ । ‘पोष्टमार्टमको रिपोर्ट नै नआइ त अहिले नै केही भन्न मिलेन । तर पनि उनीहरुले आत्महत्या गर्नुपर्ने वा गर्नाको कारण के के हुन् वा के हुनसक्छ भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यसको कारण पनि केही समयमा खुल्ला कि ।’
झापा प्रहरीका अनुसार झुण्डिएको अवस्थामा भेटिएका तीनैजना किशोरीको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो । उनीहरुले दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका थिए । आत्महत्याको कारण पनि चरम गरीबी नै हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीको छ । 

मृतावस्थामा भेटिएका किशोरीमध्ये अञ्जली शुक्रबार साँझ नाता पर्ने करिनाको घरमा पाहुना लाग्न गएकी थिइन् । करिनाको घरबाट उनीहरु शनिबार मध्याह्न १२ बजेतिर निस्किएका थिए । सो दिन अपराह्न ५ बजेसम्म पनि उनीहरु सँगै रहेको स्थानीयले देखेका थिए ।

तर शनिवार राति किशोरीहरु घर नफर्किएपछि पनि परिवारले आफन्तकोमा नै गएर बसे होलान् भनेर सोधीखोजी नै गरेका थिएनन् । तर आइतबार बिहानै उनीहरुको शव झुण्डिएको अवस्थामा भेटिएको थियो । 
प्रहरीका अनुसार अञ्जलीको परिवारमा आमा–बुबा, दाइ, बहिनी र भाइ छन् । अञ्जलीको बुवा पनि सिक्किमको चिया बगानमै काम गर्छन् । करिनाको परिवारमा बुवा, एक दिदी र दाइ छन् । शर्मिलाको परिवारमा चार जना बहिनी र बुबा तथा आमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप