बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बाबुराम भट्टराई नयाँ पार्टीमा पनि संघीय परिषद् अध्यक्ष

अध्यक्षद्वयमा यादव र श्रेष्ठ
मङ्गलबार, १० साउन २०७९, १६ : ५२
मङ्गलबार, १० साउन २०७९

डा.बाबुराम भट्टराईले गठन गर्ने नेपाल समाजवादी पार्टीमा पनि उनले संघीय परिषद अध्यक्षकै भूमिका निर्वाह गर्ने भएका छन् । उनी जसपा नेपालमा पनि संघीय परिषद अध्यक्ष थिए । नेपाल समाजवादी पार्टीमा दुईजना अध्यक्ष रहने स्रोतले जनाएको छ । स्रोतका अनुसार दुई जना अध्यक्षमा महिन्द्र राय यादव र गंगा श्रेष्ठ रहने भएका छन् । अन्य पदाधिकारीको विषयमा टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ । यद्यपि भट्टराई भने संघीय परिषद अध्यक्षकै भूमिकामा रहने स्रोत बताउँछ ।

अध्यक्षमा खस आर्य, मधेसी र जनजाति गरी क्लष्टर मिलाइएको छ । महिन्द्र राय यादवलाई कार्यकारी अध्यक्ष दिए पनि विशेष अधिकार बाबुराम भट्टराईले नै राख्ने स्रोतले जनाएको छ । अधिकार बाँडफाँटको टुङ्गो भने लागेको छैन ।

संघीय परिषदको अध्यक्षलाई शक्तिशाली बनाउने र कार्यकारी भूमिकामा केन्द्रीय समितिका अध्यक्षलाई राख्ने गरी छलफल चलिरहेको एक नेताले बताए । पार्टीको दैनिक आइपर्ने काम कार्यकारी अध्यक्षले गर्नेछन् भने संघीय परिषदको अध्यक्षले नीतिगत निर्णयहरु गर्ने गरी छलफल चलिरहेको छ । सो पार्टीका नेता प्रशान्त सिंहले बाबुराम भट्टराई स्वयंले कार्यकारीमा भूमिकामा नबस्ने प्रस्ट पारिसकेको बताए ।

यद्यपि पूर्व नयाँ शक्ति पार्टीका नेताहरुले बाबुरामलाई नै कार्यकारी अध्यक्ष रहन आग्रह गर्दै आइरहेका थिए । तर उनले मानेका छैनन् । सो पार्टीका नेता गंगा श्रेष्ठले भने अहिले अध्यक्षको विषयमा छलफल नभएको दाबी गरे । उनले भने, ‘अध्यक्ष को रहने या नरहने विषयमा कुनै निर्णय भएको छैन, यो विषय ५–७ दिनमा टुङ्गो लाग्छ ।’

बाबुराम भट्टराई जसपामा पनि दुईजना अध्यक्ष हुनुपर्ने पक्षमा थिए । महन्थ ठाकुर पक्षले पार्टी छाडेर गइसकेपछि एउटा अध्यक्ष पद खाली थियो । सोही पदमा एक जना अध्यक्ष राख्न बाबुराम पक्षले माग गर्दै आएको थियो । तर जसपा अध्यक्ष उपेन्द्र यादव दुई वटा अध्यक्ष राख्ने पक्षमा थिएनन् । त्यसमै कुरा नमिलेपछि विवाद बढेर पार्टी विभाजन भएको हो । नयाँ पार्टी गठनको तयारीमा रहेका बाबुराम भटट्राईले दुई जना अध्यक्षको व्यवस्था गर्न लागेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप