बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चाको अगाडि यी विषयमा कहिल्यै कुरा नगर्नुहोस्, पछुताउनु पर्नेछ

मङ्गलबार, १० साउन २०७९, १४ : १९
मङ्गलबार, १० साउन २०७९

बच्चा क्रमशः हुर्कँदै जान्छन् । केही कुरा जान्ने उनीहरुको जिज्ञासा पनि बढ्दै जान्छ । कतिपटक बच्चाहरुले कुनै पनि कुराको भिन्न अर्थ निकाल्छन् । यस्तोमा बच्चासँग केही बोल्ने बेला आमा–बुवाले बच्चाले त्यो कुराको गलत अर्थ ननिकालोस् भन्ने कुराको ख्याल राख्नुपर्छ । यदि आफ्नो बच्चा सही बाटोमा हिँडुन् भन्ने चाहनुहुन्छ भने तपाईंले पनि केही गल्ती गर्नबाट जोगिनुपर्छ । बच्चाको अगाडि तपाईंले के कुरा गर्नु हुँदैन त भन्नेबारे जानकारी लिऔँ ।

बच्चाको अगाडि पार्टनर वा कसैको पनि कुरा नकाट्नुहोस्

कतिपटक आमाबुवाले रिसमा बच्चाको अगाडि पार्टनर वा अरुको कुरा काट्न थाल्छन् । बाल मनोवैज्ञानिक तथा पेरेन्टिङ टिनेजर विज्ञ एंजेला करन्जाका अनुसार कतिपटक मानिसहरुले बच्चाको अगाडि पार्टनर वा परिवारका अन्य सदस्यबारे कुरा काट्छन् तर त्यतिबेला उनीहरुले के बिर्सिरहेका हुन्छन् भने बच्चा जति तपाईंसँग बस्छ, अन्य सदस्यसँग पनि त्यति नै समय बिताइरहेको हुन्छ । यस्तोमा तपाईंको यो कुराले उसले आफूलाई दुई भिन्न भिन्न हिस्सामा बाँडिएको महसुस गर्न थाल्छ । कतिपटक त तपाईंले कुरा काटिरहेका व्यक्तिलाई बच्चाले घृणासमेत गरिरहेको हुन्छ ।

जिम्मेवारीका लागि डर

बच्चासँग कुरा गर्दा कहिल्यै पनि उनीहरुको अगाडि पैसा र रोगबारे कुरा नगर्नुहोस् । आमा–बुवालाई पैसाबारे चिन्ता हुँदा बच्चाको अगाडि कुरा गर्छन् भने उनीहरुले आफ्नो डर बच्चामा सारिरहेका हुन्छन् । कतिपटक यस्तो गर्दा बच्चामा बोझ पर्छ किनभने बच्चा पनि यो विषयमा निकै चिन्ता लिन्छन् जसलाई ह्यान्डल गर्नु उनीहरुको क्षमता भित्र पर्दैन ।

बच्चाको तुलना अरुसँग गर्नु

एन्जेलाका अनुसार बच्चाको तुलना कोही अरुसँग गर्नु पनि सही होइन । जब तपाईं आफ्नो बच्चालाई अरुसँग तुलना गर्नुहुन्छ भने बच्चाले आफूलाई अरुभन्दा कम सोच्न सुरु गर्छन् । अरुसँग तुलना गर्दा बच्चाहरुको विश्वास टुट्न थाल्छ र उनीहरु तनावमा पर्न सक्छन् । यस्तै, जब तपाईं आफ्नो बच्चालाई अरुभन्दा राम्रो छौ भनेर भन्नुहुन्छ तब यसले पनि बच्चाको मनमा गलत प्रभाव पार्ने गर्छ । यसो गर्दा उनीहरुले अरु बच्चाहरुलाई आफूभन्दा कम सोच्न सुरु गर्छन् ।

कस्तो महसुस गर्ने, कस्तो नगर्ने भनेर नसिकाउनुहोस्

पेरेन्टिङ विज्ञका अनुसार बच्चालाई कहिल्यै पनि ‘दुःखी नहुन’ वा ‘त्यति धेरै पनि खराब थिएन’ भन्नेजस्ता शब्द बोल्नु हुँदैन । यदि तपाईंको बच्चा कुनै कुराका लागि दुःखी छन् र तपाईं त्यो दुःखमा पनि हासिरहन भन्नुहुन्छ भने यसले बच्चालाई नकारात्मक असर पार्नसक्छ । यसो गर्दा बच्चाले कतिपय अवस्थामा आफूलाई व्यक्त गर्न सक्दैनन् र बाहिरका मानिसहरुलाई आफ्नो हासो मात्रै देखाउँछन् जुन उनीहरुको मानसिक स्वास्थ्यका लागि हानिकारक साबित हुनसक्छ । यस्तोमा आफ्ना बच्चालाई तपाईंले ‘कहिलेकाँही ठिक नहुनु पनि सामान्य हो’ भनेर सिकाउनुहोस् ।

'तँलाई किन जन्माएँ ?'

तपाईं जतिसुकै रिसाएको किन नहोस् बच्चाको अगाडि कहिल्यै पनि यो कुरा नगर्नुहोस् । कुनै पनि बच्चाले आफ्नो आमाबुवाको मुखबाट यस्ता शब्द सुन्न सक्दैनन् । यस्ता कुराले तपाईंको बच्चाको भावनालाई आहात बनाउनुका साथै उसको आत्म सम्मानमा पनि ठेस पुर्याउँछ । यस्ता शब्दले बच्चालाई ‘मलाई कसैले पनि मन पराउँदैन’ भन्ने भावना पैदा हुन्छ ।

रुढिवादी टिप्पणी गर्नबाट जोगिनुहोस्

‘केटाहरु रुँदैनन् । केटीहरु चुपचाप बस्नुपर्छ ।’ यस्ता खालका टिप्पणीले बच्चाको मानसिक स्वास्थ्यमा धेरै नै असर पार्छ । जब तपाईं बच्चालाई उनीहरुको भावना व्यक्त गर्न रोक्नुहुन्छ भने उनीहरु चुपचाप बस्न सिक्छन् र आफ्नो मनको कुरा सुन्न पनि बन्द गरिदिन्छन् । यस्तोमा जब उनीहरुलाई कसैले खराब व्यवहार देखाउँछन् भने उनीहरुले आवाज उठाउन सक्दैनन् । न नै आफ्नो भावना व्यक्त गर्न सक्छन् त्यसैले उनीहरु मन मनै पीडा लुकाएर बस्न बाध्य हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप