सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

देश विकासको आधार : शैक्षिक क्षेत्रमा सुधार

मङ्गलबार, १० साउन २०७९, १० : ४२
मङ्गलबार, १० साउन २०७९

  देश विकासको मुख्य आधार भनेको त्यस देशको शिक्षा हो । शिक्षाले नै देशको सामाजिक, आर्थिक, राजनीतिकलगायत समग्र पक्षको विकास गर्न सहयोग गर्दछ । कुनै पनि देशको शैक्षिक अवस्था कमजोर हुनु भनेको त्यो देशको समग्र अवस्था कमजोर हुनु हो । विद्यालयलाई सरकारी र निजी बनाउनु, शिक्षकलाई स्थायी, राहत, निजीलगायत अनेकौँ नाम दिनुको कारण हाम्रो देशको शिक्षाको गुणस्तरमा ह्रास आएको छ । 
हाम्रो देशमा रहेका सातै प्रदेशका ७५३ स्थानीय तहभित्रका सबै व्यक्तिका आँखाले हेर्ने शिक्षारूपी ऐना जबसम्म एउटै हुँदैन, तबसम्म देशको अपेक्षित विकास हुन सक्दैन । त्यसैले देशमा शिक्षालयको ढोका, शिक्षकको अनुहार र शिक्षा प्रणाली एउटै हुन जरुरी छ । तत्पश्चात् मात्र देशले विकासको गति शनैः शनैः लिन थाल्छ ।

शिक्षा या कुनै पनि क्षेत्रको विकास आजको भोलि हुने कुरा होइन । मानव धर्तीमा सकुशल ओर्लन त नौ महिना आमाको गर्भमा विकास भएको हुनुपर्छ भने शिक्षामा विकास हुनका लागि त पक्कै पनि हामीले समयमै देशको शैक्षिक क्षेत्रमा रहेका अनेक समस्याहरूलाई समाधान गर्नु जरुरी हुन्छ । अनि मात्र सुन्दर र विकसित देशको कल्पना गर्न सकिन्छ । 

नेपालको संविधानको भाग ३ मा रहेको धारा ३१ का ५ वटा उपधाराले र भाग ४ को धारा ५१ (ज) मा शिक्षासम्बन्धी रहेका ४ ओटा नीतिले स्पष्ट रूपमा नेपालको शिक्षालाई व्याख्या गरेको छ । त्यति मात्र नभएर विद्यालय सुधार योजना, विद्यालय क्षेत्र विकास योजनालगायतका थुप्रै योजनाले देशको शिक्षालाई सुधार गर्न यत्न गरिरहेका छन् । देशका तीन अङ्गहरूले शिक्षासम्बन्धी आआफ्नो अधिकारलाई कार्यान्वयन गर्ने प्रयास गरिरहेका छन् । 
यति हुँदाहुँदै पनि हाम्रो देशको शिक्षामा गुणस्तरको प्रश्नले सधैँ हामीलाई किन घोचिरहन्छ ? यस विषयमा सबै सरोकारवाला बसेर पटक पटक गरेका विचार विमर्शले किन सार्थकता पाएनन् ? शिक्षामा चलेको बहसको बहले मात्र हामीलाई किन समातिरहन्छ ? यी प्रश्नले उत्तर नपाएसम्म हाम्रो शैक्षिक स्तर माथि जान मुस्किल छ । कोरोनाको कारणले हाम्रो जस्तो अल्पप्रविधिमैत्री मुलुकको शिक्षामा अझ ठूलो पहिरो गएको छ । यो पहिरोको रोकथाम बेलैमा गर्न सकिएन भने देशको शैक्षिक अवस्थामा नमिठो धक्का लाग्न सक्छ । 

यति भन्दै गर्दा तपाईंहरूलाई हाम्रो देशको शैक्षिक अवस्था साँच्चै नै पूर्ण रूपमा खस्किएको हो कि भन्ने लाग्न सक्ला । तर, सम्पूर्ण रूपमा खस्किएको पनि छैन । केही मात्रामा उदाहरणीय र नमुना सामुदायिक विद्यालयहरू हाम्रै वरपर छन् । ती विद्यालयबाट उत्पादन भएका विद्यार्थी देश÷विदेशमा आफ्नो क्षमता प्रदर्शन गरी सफल भएका र हुँदै पनि छन् । केही विद्यालयका राम्रा शैक्षिक गतिविधिले मात्र सम्पूर्ण देशको शैक्षिक स्तर माथि जाला त ? अवश्य जाँदैन ।  

समग्र रूपमा देशको शैक्षिक स्तर राम्रो बनाउनको लागि काठमाडौंको राजधानीका विद्यार्थी र कुनै पनि गाउँको दुर्गम क्षेत्रमा बसेर अध्ययन गर्ने विद्यार्थीले पाउने शैक्षिक पद्धति उस्तै हुनुपर्छ । किनकि हाम्रो संविधानले सबैलाई बराबर अधिकार दिएको छ । दूरदराजमा रहेका विद्यार्थी र काठमाडौंको राजधानीका विद्यार्थीले भविष्यमा प्रतिस्पर्धा गर्ने ठाउँ एकै हो । त्यसैले शैक्षिक क्षेत्रमा सुधार गर्न जरुरी छ । सुधार गर्नको लागि सबैभन्दा पहिला आआफ्नो ठाउँबाट कदम चाल्नुपर्दछ ।  समस्याको पहाड मात्र बनाउँदै गयौं भने समाधानको खुड्किलो पुरिन सक्छ । तसर्थ, हाम्रो देशको शैक्षिक अवस्थाको बारेमा अध्ययन गर्दै आफ्नो ठाउँबाट शैक्षिक गतिविधिलाई समयानुकूल बनाउँदै लैजानुपर्दछ । 

अब हामी र हाम्रो विद्यालयको कुरा गरौँ । एउटा विद्यालय सफल बनाउन के के गर्नुपर्ला ? कसको भूमिका महत्वपूर्ण होला ? एकैछिन विद्यालयको भौतिक संरचना, वि.व्य.स., शि.अ.संघ, अभिभावक, समाजसेवी, बुद्धिजीवी, विद्यार्थी, शिक्षक लगायत पक्षमा विचार गरौँ है त । 

 माथि उल्लिखित ८ पक्षले शिक्षालय र शिक्षणसँग प्रत्यक्ष सरोकार राख्दछन् । एउटा शिक्षालय सफल हुनका लागि यिनको भूमिका महत्वपूर्ण हुन्छ । विद्यालयको भौतिक संरचनाले सिकाइमा ठूलो प्रभाव पारेको हुन्छ । हामी जतिसुकै बलियो भए पनि हामीले टेक्ने जमिन बलियो छैन भने हामी लड्न सक्छौँ । त्यसैले सबैभन्दा पहिला विद्यार्थी र शिक्षकले टेक्ने संरचना बलियो र सिकाइको लागि अनुकूल वातावरण भएको हुनुपर्दछ । विद्यालय व्यवस्थापन समितिले विद्यालय व्यवस्थापनको जिम्मा लिएपछि पूरा गर्नुपर्दछ । 

सिकाइमा नकारात्मक प्रभाव नपर्ने तरिकाले विद्यालयमा भएका समस्याहरू समाधान गर्ने जिम्मा सो समितिको रहेको हुन्छ । शिक्षक अभिभावक संघको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको छ । अभिभावक र शिक्षकबीच समय समयमा छलफल गरी विद्यालयमा भएका शैक्षिक समस्या सो समितिले समाधान गर्न सक्छन् ।  अभिभावक, विद्यार्थी बिना त विद्यालयको कुनै पनि गतिविधिको कल्पना गर्न सकिन्न । समाजसेवी, बुद्धिजीवीले आफ्नो क्षेत्रको शैक्षिक अवस्था सुधार गर्न समय समयमा विद्यालयमा गई छलफल, सरसल्लाह गरी कुनै निचोड निकाल्न सक्छन् । 

अहिले स्थानीय तहमा शिक्षा शाखा छन् ।  ती  शाखाले विद्यालयको अनुगमन गरी आवश्यक सहयोग गर्ने र बर्सेनि विद्यालयबाट लिएका शैक्षिक उपलब्धिलाई मूल्याङ्कन गरी विद्यालयको अवस्था सार्वजनिक गर्नुपर्छ । साथै शिक्षामा भइरहेका परिवर्तनको बारेमा विद्यालयलाई जानकारी गराउँदै  समय समयमा आवश्यक तालिमको व्यवस्था गर्नुपर्दछ । 

अब एकैछिन विद्यालयमा शिक्षकले गर्ने शिक्षणको बारेमा कुरा गरौँ । शिक्षक पढाउने केवल मास्टर होइन । म पढाउँछु भनेर हामी कक्षामा पस्यौँ भने न विद्यार्थी खुसी हुन्छन्, न त शिक्षामा परिवर्तन आउँछ । शिक्षक विद्यार्थीलाई सिकाइ सहजीकरण गर्ने सहजकर्ता हो । विद्यार्थीले शिक्षकबाट सिक्ने मार्ग पाउँछ । शिक्षकले पनि विद्यार्थीबाट सिक्न सक्छ । शिक्षण भनेको सिक्ने र सिकाउने कार्य हो ।  
हामीले शिक्षालाई सधैँ एउटै आँखाले हेर्ने र शिक्षकले पनि सिकाउने शैली एउटै बनाइराख्यो भने शैक्षिक गुणस्तरको कल्पना गर्नु व्यर्थ हुन्छ । कोरोनाले हामीलाई एउटा पाठ सिकाएको छ । विद्यालय, पसल, होटल, गाडीलगायत सबै कुरा बन्द हुँदासमेत सिकाइ भने चलिरहँदो रहेछ । 

विद्यालय बन्द भयो भनेर विद्यार्थीको सिकाइ बन्द गर्दा देशलाई ठूलो असर पर्दो रहेछ । किनकि शिक्षा देश विकासको मेरुदण्ड हो । त्यसैले शिक्षकले सिकाइ सहजीकरण गर्ने तरिका बदल्नुपर्छ । समय प्रविधिको छ । शिक्षक प्रविधिमा निपूर्ण हुन जरुरी छ । शिक्षकले किताब मात्र होइन पाठ्यक्रम, निर्देशिकाको पनि राम्रो अध्ययन गर्नुपर्दछ । अनि मात्र त्यस शिक्षकले विद्यार्थीलाई सामयिक सिकाइ सहजीकरण गर्न सक्छ । 

अन्त्यमा, एउटा विद्यालय सफल हुनको लागि सो विद्यालयको शैक्षिक गुणस्तर राम्रो हुनुपर्दछ । शैक्षिक गुणस्तर राम्रो बनाउने महत्वपूर्ण भूमिका त्यस विद्यालयको प्रशासन, शिक्षक र विद्यार्थीको रहेको हुन्छ । प्रधानाध्यापकले शिक्षकहरूको सहजीकरणलाई अनुगमन गरी आवश्यक सरसल्लाह दिएमा, बर्सेनि विभिन्न मापदण्ड बनाइ उत्कृष्ट शिक्षकलाई पुरस्कृत गरेमा शिक्षकको मनोबल बढ्छ । र, पेसाप्रति गौरव अनुभूति गर्ने वातावरण बन्छ । शिक्षकको एकता, विद्यार्थीको सिकाइप्रति रुचि र प्रशासनको निष्पक्ष व्यवहार भयो भने शैक्षिक क्षेत्रमा परिवर्तन हुन समय लाग्दैन ।                                           

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरस पाण्डे
सरस पाण्डे
लेखकबाट थप