मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

कर्णालीमा पोजिसन बदलिएपछि एमालेद्वारा निर्मम समीक्षा : तीन कारणले खस्कियो नतिजा

अन्तर्घात गर्नेहरुलाई कारबाहीको तयारी
मङ्गलबार, १० साउन २०७९, १० : ३१
मङ्गलबार, १० साउन २०७९

स्थानीय निर्वाचनबाट ‘पोजिसन’ बदलिएसँगै नेकपा एमाले कर्णाली प्रदेश कमिटीमा ‘निर्मम’ समीक्षा भएको छ । पार्टीले नतिजा खस्किनुको कारण र आगामी रणनीतिका बारेमा निर्मम समीक्षा गरेको एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहले रातोपाटीलाई जानकारी दिए । शनिबार र आइतबार प्रदेश राजधानीमा आयोजित चौथो पूर्ण बैठकमा यसबारे गम्भीर रुपमा छलफल भएको उनको भनाइ छ । 

एमाले महासचिव शंकर पोखरेलको समेत उपस्थित रहेको सो समीक्षात्मक बैठकमा कर्णालीमा पार्टीको वर्तमान वस्तुस्थितिको बारेमा पनि जानकारी गराइएको थियो। ०७४ सालको स्थानीय तहको निर्वाचनमा २७ पालिका र ३८ प्रतिशत जनमत प्राप्त गरेर कर्णालीमा पहिलो पार्टी बनेको नेकपा एमाले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा तेस्रो स्थानमा झरेको थियो । अर्थात एमाले ७९ वटा स्थानीय तहमध्ये १५ पालिकामा सीमित भएको हो । 

हारका तीन कारण
स्थानीय तहको निर्वाचनमा एमाले पछि पर्नुको प्रमुख कारण पार्टीभित्रको अन्तर्घात भएको एमाले प्रदेश कमिटीको ठहर छ । महासचिव पोखरेलले पनि पार्टीभित्रको आन्तरिक समस्याले केही पालिकाहरु गुमाएको बताएका थिए । 

प्रदेश अध्यक्ष शाहले टिकट वितरणदेखि केही नेताहरु पार्टीको विधि, विधान विपरित लाग्दा असर पुगेको बताए । ‘पार्टीभित्रकै नेताहरु एक–अर्काबीच दोषारोपणमा लाग्नु नै एमाले पराजित हुनुको प्रमुख कारण बन्यो,’ उनले भने,‘ जसले गर्दा जितेका पालिकाहरु पनि गुमाउनुपर्ने स्थिति आयो । एमालेभित्र आन्तरिक प्रतिस्पर्धा निकै भयो । जसले गर्दा हामी पछि पर्‍यौँ । चुनावमा म उम्मेदवार बन्न पाएको भए भन्ने धेरै व्यक्तिहरु हुन्छन् । सबैको हातमा टिकट थमाउन सक्ने स्थिति भएन । टिकटमा अवसर प्राप्त गर्न नसकेकाहरुले निर्वाचनमा हराउने भूमिका खेले । उनीहरुले कुटनीतिक रुपमा पार्टीभित्र अन्तर्घात गरे ।’ 

यसैगरी पार्टी फुटसत्ता गठबन्धनको असर पनि कर्णालीमा परेको छ। अध्यक्ष शाहले भने,‘ ‘पार्टी विभाजन भएर पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालले एकीकृत समाजवादी गठन गर्नुभयो । कर्णालीमा उहाँको दलले चारवटा पालिका जितेको छ । यदि पार्टी विभाजन नभएको खण्डमा त्यी एमालेकै हुन्थे र संगठन पनि मजबुद हुन्थ्यो भने ०७४ को परिणाम भन्दा केही फराकिलो स्थान हामी लिन सक्थ्यौँ ।’ अध्यक्ष शाहका अनुसार सबै राजनीतिक शक्ति एकातिर र एमाले एक्लै भएकाले पनि स्वभाविक रुपमा एमाले पछि पर्‍यो ।

अघिल्लो कार्यकाल जनप्रतिनिधिका कमजोरी
०७४ मा एमालेबाट निर्वाचित जनप्रतिनिधिले जनताको भावना अनुसार काम नगर्दा पनि नतिजामा असर पुगेको एमालेको ठहर छ । जनताको भावना र चाहना अनुरुप अर्थात चुनावी प्रतिबद्धताको जगमा टेकेर काम नगरेको पार्टीको ठहर छ । अध्यक्ष शाहले भने, ‘उनीहरुले जनताको सेवकको रुपमा काम गरेको देखिएन । उनीहरुको व्यवहारबाट जनतामा एक खालको वितृष्णा पैदा भएको देखियो । अन्य दलको त त्यस्तै हो स्वयम् एमालेभित्रकै कार्यकर्ताहरु जनप्रतिनिधिका कार्यप्रति असन्तुष्ट बनेको देखिन्छ । पहिलो पटक स्थानीय चुनाव भएको, नयाँ व्यवस्था, त्यसैमा पनि स्थानीय सिंहदरबार भनेर भनियो । जसले गर्दा आम जनसमुदायको अपेक्षा समाज रुपान्तरण र परिवर्तनको थियो । तर जितेको जनप्रतिनिधिहरुले देखिने खालको कुनै काम गर्न सकेनन् । त्यही भएर अपेक्षाकृत नतिजा ल्याउन सकेनौँ ।’ 

अन्तर्घात गर्नेलाई कारबाही गर्दै एमाले 

पार्टीभित्र टिकट नपाएको झोँकमा अन्तर्घात गर्ने नेताहरुलाई प्रदेश कमिटीले कारबाही गर्ने निर्णय गरेको छ ।  विधान अनुसार जुन कमिटीको सदस्य, नेता र पदाधिकारीले गल्ति गरेको छ सोही कमिटीले कारबाही गर्ने वैधानिक प्रावधान छ । ‘गाउँ तथा नगर कमिटीमा त्यस्ता खालका व्यवहार भएका छन् भने त्यहीँ कारबाही हुन्छ,’ प्रदेश अध्यक्ष शाहले भने,‘प्रदेश कमिटीबाट भएको खण्डमा प्रदेश कमिटीका पदाधिकारीले कारबाही हुन्छ ।’ साथै बागी उम्मेदवारी दिएकाहरुलाई पनि कारबाही गर्ने निर्णय भएको एमालेको निर्णय छ । 

आगामी रणनीति
एमाले प्रदेश कमिटीले आगामी प्रदेश र संघको चुनावका लागि पनि विभिन्न निर्णय गरेको छ । अहिलेको कमजोरीलाई सुधार्दै प्रशिक्षण दिने र सक्रियताका साथ अघि बढ्ने एमालेको तयारी छ । मुख्यतः सम्पूर्ण संगठनलाई परिचालित गरेर आगामी निर्वाचनमा राम्रो परिणाम ल्याउने तरिकाले हामी लाग्नेछौँ,’अध्यक्ष शाहले भने,‘ त्यसका लागि भदौ ११ गते प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम राखिएको छ।’

उक्त प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीका सम्पूर्ण पदाधिकारी, जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारी, सल्लाहकार, एमालेबाट निर्वाचित जनप्रतिनिधि, जनवर्गीय संगठनका केन्द्रीय सदस्यलगायतको उपस्थिति रहने अध्यक्ष शाहले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप