एक वर्षमा विद्युत् प्राधिकरणका ग्राहक ५० हजारभन्दा बढी थपिए, २८ हजारको लाइन काटियो
नेपाल विद्युत् प्राधिकरण १ नम्बर प्रदेश कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ४१ करोडभन्दा बढी महसुल असुल गरेको प्रारम्भिक अनुमान गरेको छ । प्राधिकरणले आफ्ना ग्राहक संख्यामा पनि उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षमा मात्रै ५० हजारभन्दा बढी ग्राहक थपिएका छन् । अब प्रदेश १ मा विद्युत् उपभोग गर्ने ग्राहकको संख्या ९ लाख ७ हजार हाराहारी पुगेको छ ।
प्रदेश कार्यालयका प्रमुख राजन ढकालले दिएको जानकारी अनुसार प्रदेश १ मा चुहावटको दर पनि केही घटेको छ । अघिल्लो वर्ष १२ प्रतिशतले चुहावट हुँदा गत वर्षको चुहावट दर भने ११.७ प्रतिशतमा आइपुगेको छ ।
२८ हजारको लाइन काटियो
प्राधिकरणले आर्थिक वर्ष २०७८/०७९ मा मात्रै समयमै महशुल नबुझाउने २८ हजार ५ सय ग्राहकको लाइन काटेको छ । जसमध्ये २५ हजार १ सय २२ जनाले पुनः लाइन जोड्दा ३९ करोड ८५ लाख महशुल संकलन भएको ढकालले जानकारी दिए । सबैले लाइन जोड्दा भने ४३ करोड महशुल उठ्नुपर्ने थियो । यद्यपि ९२.८ प्रतिशत ग्राहकबाट महशुल उठ्नु राम्रो संकेत भएको ढकालले बताए ।
सबैभन्दा बढी लाइन काटिने जिल्लामा इलाम छ । इलामका ३ हजार ३ सय ८० जना ग्राहकको लाइन काटेको प्राधिकरणको रेकर्डमा छ । त्यसपछि मोरङको बेलबारी वितरण केन्द्र अन्तर्गतका २ हजार ४२८ जना ग्राहकको लाइन काटिएको छ । सबैभन्दा कम लाइन काटिने ग्राहकको संख्या भने ओखलढुंगा, पाँचथर, तेह्रथुम, भोजपुर जिल्ला छ । जसमा २ सयभन्दा कम ग्राहकले समयमै विद्युत् महशुल नतिर्दा उनीहरुको लाइन काटिएको छ ।
वार्षिक ३ करोड बढी विद्युत् महशुल तिर्ने उद्योगहरु
प्रदेश १ मा झापा, मोरङ र सुनसरीका २८ उद्योगले वार्षिक ३ करोडभन्दा बढी विद्युत् महशुल तिर्ने गरेका छन् । यी सबै उद्योगमा मात्रै २ अर्ब ५७ करोड ७१ लाख ८ हजार ४ सय २३ रुपैयाँको विद्युत् खपत हुने गरेको छ ।
सुनसरीको इनरुवा वितरण केन्द्रबाट श्री बाबा पेपर मिल्स, अरविन्द पेपर मिल, धरान वितरण केन्द्रबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २ वटा लाइन, इटहरी वितरण केन्द्रको रिलायन्स स्पिनिङ मिल र अरिहन्छ अटो कन्फीगरेसन प्रा.लि., उदयपुरको उदयपुर सिमेन्ट उद्योगले पनि वार्षिक ३ करोडभन्दा बढी मूल्यको विद्युत् उपभोग गर्दछन् ।
यस्तै विराटनगर वितरण केन्द्र अन्तर्गत भने आरती स्ट्रिप, रघुपति जुटमिल, सिभम् प्लाष्टिक, नोबेल मेडिकल कलेज, एमएस नेपाल अल्ट्रा टेक सिमेन्ट प्रा.लि., सप्तकोशी सिमेन्ट, हुलास वायर, स्वस्तीक आयल, प्रिमियर वायर, कमला रोलिङ मिल, नेपाल दुर सञ्चार संस्थान पनि धेरै विद्युत् महशुल बुझाउने उद्योगहरु हुन् ।
यस्तै झापाको धुलाबारीको सनराइन सिमेन्ट, धनकुटाको निगाले सिमेन्ट, दुहबी वितरण केन्द्र अन्तर्गतको पशुपति आइरन, स्वस्तीक रोलिङ, पशुपति सिन प्याक, अरिहन्त मल्टिफाइबर, प्रिमियर स्टिल, अरिहन्त पोलिप्याक लि., एसियन थाइ फुड्स र सनराइज पेपर मिल्स पनि धेरै विद्युत खपत गर्नेमा पर्दछन् ।
प्रदेश १ मै सबैभन्दा धेरै विद्युत् खपत गर्ने उद्योग भनेको इटहरी वितरण केन्द्र अन्तर्गत रहेको रिलायन्स स्पिनिङ मिल हो । उक्त मिलले मात्रै वार्षिक ५८ करोड २१ लाख ३३ हजार ३ सय ३ रुपैयाँ बराबरको विद्युत् महशुल तिर्ने गरेको छ ।
यस्तै आरती स्ट्रिप्सले २४ करोड ७९ लाख, पशुपति आइरन एण्ड स्टिलले ३७ करोड ३४ लाख, स्वस्तीक रोलिङ मिलले १२ करोड २० लाख, उदयपुर सिमेन्ट उद्योगले १५ करोड ५६ लाख विद्युत् महशुल तिर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित
-
२४ वटा जङ्गली हात्तीले आतंक मच्चायो
-
पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै
-
कांग्रेस सभापति देउवा आज धनुषा जाँदै
-
बागमतीमा मन्त्रालयका लागि भवन अभाव, भत्काउन तयारी गरिएको घरमा २ मन्त्रालय
-
प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने, सामाजिक सञ्जालबाटै दिए सुझाव