शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट पारित, सशस्त्र प्रहरीभित्र बढुवामा चलखेल

,कल सेन्टरमा छापा : चिनियाँसहित ४१ जना पक्राउ
सोमबार, ०९ साउन २०७९, २१ : २२
सोमबार, ०९ साउन २०७९

आज २०७९ साउन ९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट पारित, प्रधानमन्त्रीविरुद्ध नारावाजी गर्ने तीन जना पक्राउ, पूर्वप्रधानमन्त्री माधव नेपाल, वनमन्त्री प्रदीप यादवसहितका नेताले फिल्ममा अभिनय गर्ने, अर्थमन्त्रालयको सीसीटीभी फुटेजबारे फरेन्सिक रिपोर्ट संसदीय विशेष समितिलाई बुझाइयो, नयाँ पार्टी गठनको तयारीमा रहेका बाबुरामले जुराए पार्टीको नाम, विद्यमान निर्वाचन प्रणालीप्रति प्रचण्डको असन्तुष्टि लगायत छन् ।

१. नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट पारित 
नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सोमबार राष्ट्रियसभाको बैठकले सर्वसम्मत रुपमा पारित गरेको छ । त्यसअघि बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । सैद्धान्तिक छलफलमा उठेका प्रश्नमाथि गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिएका थिए ।

२. प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जना पक्राउ
प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रज्ञा भवनमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री देउवाविरुद्ध केही युवाले नाराबाजी गरेका थिए ।

​३. पूर्वप्रधानमन्त्री माधव नेपाल, वनमन्त्री प्रदीप यादवसहितका नेताले फिल्ममा अभिनय गर्ने
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वनमन्त्री प्रदीप यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायतका नेताहरु फिल्ममा देखिने भएका छन् । उनीहरुलाई ‘मुस्कान’ फिल्ममा दर्शकले देख्न पाउने भएका हुन् । 

४. अर्थमन्त्रालयको सीसीटीभी फुटेजबारे फरेन्सिक रिपोर्ट संसदीय विशेष समितिलाई बुझाइयो 
प्रहरीले अर्थमन्त्रालयको सीसीटीभी फुटेजबारे फरेन्सिक रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई बुझाएको छ । यसैबीच सोमबार संसदीय विशेष समितिको बैठक करिब ४ घण्टा बसेको छ । समितिको बैठक मंगलबार पनि बस्ने जनाइएको छ ।

५. नयाँ पार्टी गठनको तयारीमा रहेका बाबुरामले जुराए पार्टीको नाम
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट कारबाहीमा परेका डा.बाबुराम भट्टराईले नयाँ पार्टी गठनको प्रक्रिया अगाडि बढाएका छन् । भट्टराई पक्षका नेता गङ्गा श्रेष्ठका अनुसार नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ रहने भएको छ ।  

६. विद्यमान निर्वाचन प्रणालीप्रति प्रचण्डको असन्तुष्टि 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लैजाने बताएका छन् । उनले पैसा खर्च नगरी चुनाव जित्ने अवस्था नरहेकाले क्रान्तिकारी तथा श्रमजीवी वर्गलाई चुनाव जित्न कठिन रहेको बताए । 

७. शसस्त्र प्रहरीभित्र बढुवामा चलखेल
सशस्त्र प्रहरी बलमा आफ्ना मान्छेलाई बढुवामा समेट्नका लागि नियमावली नै संशोधन गरेर अस्वाभाविक छलाङ मारेको पाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाइँलाई एसपीबाट एसएसपीमा बढुवा गर्नका लागि नियमावलीमा रहेको प्रावधानलाई संशोधन गरिएको हो ।

८. सर्वोच्चको भवन निर्माणबारे अनियमिततालाई ढाकछोप गर्ने प्रयास
सर्वोच्च अदालतको निर्माणाधीन भवनमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी तामेलमा राख्न अदालत प्रशासनबाटै पहल भएको पाइएको छ । उजुरी तामेलीमा राख्न सर्वोच्च अदालत प्रशासनले अख्तियारलाई पत्र लेखेपछि सर्वोच्च अदालतको भवन निर्माणमा भ्रष्टाचार भएको वा नभएको भन्ने सम्बन्धमा छानबिन नै नहुने अवस्था आएको छ ।

९. कल सेन्टरमा छापा : एक चिनियाँसहित ४१ जना पक्राउ
काठमाडौं महानगरपालिका–९ तिनकुनेमा रहेको कल सेन्टरबाट प्रहरीले एक जना चिनियाँ नागरिकसहित ४१ जनालाई पक्राउ गरेको छ । चिनियाँ नागरिकले सञ्चालन गरेको स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा मारेर केही मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । 

१०. र यो पनि,
सेयर बजारमा हरियाली छाएको छ । साताको दोस्रो कारोबार दिन सोमबार पनि बजार ५४.४५ अंकले वृद्धि भएको हो । नेप्से परिसूचक २१३२.९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन निर्देशन दिएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप