बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा सवारी दुर्घटना बढ्दो

सोमबार, ०९ साउन २०७९, २० : १९
सोमबार, ०९ साउन २०७९

कर्णालीमा सडक सवारी असुरक्षा र दुर्घटना बढ्दै गएको पाइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ मा अघिल्ला वर्षभन्दा ४३ प्रतिशत बढी सवारी दुर्घटना भएको जनाएको छ । उक्त आवमा ४०२ सवारी दुर्घटना भएका थिए । 

आव २०७६/७७ मा २३६, २०७७/७८ मा २९१ सवारी दुर्घटना भएका थिए । पछिल्ला तीन आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा परी ३९२ जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले दुई वर्ष कोरोना रोकथामका लागि ‘लकडाउन’ गरिएकाले केही कमी देखिएको बताए । 

प्रदेश ट्राफिक प्रहरी अन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार आव २०७६/७७ मा ९७, आव २०७७/७८ मा ९८ र आव २०७८/७९ मा १९७ जनाले सडक दुर्घटनामा ज्यान गुमाए भने ७०० भन्दा बढी घाइते भए । जिल्लागत रुपमा सबैभन्दा बढी दुर्घटना सुर्खेतमा भएका छन् । गत वर्षको तथ्याङ्कलाई आधार मान्दा कूल दुर्घटनाको ४६ प्रतिशत दुर्घटना सुर्खेतमा भएका छन् । सल्यानमा ५५, दैलेखमा ४४, रुकुम पश्चिममा ३५, जाजरकोटमा २५, जुम्लामा २३, कालीकोटमा १७, मुगुमा सात, डोल्पामा छ र हुम्लामा तीन सडक दुर्घटना भएको प्रहरीको तथ्याङ्क छ । 

ट्राफिक प्रहरीको त्रिवर्षीय विश्लेषणले सडक दुर्घटना हुनुमा पहिलो कारण तीव्र गति र दोस्रो यान्त्रिक कारण रहेको औँल्याएको छ । उक्त प्रतिवेदनमा भनिएको छ, “मानिसको ज्यान जाने, अङ्गभङ्ग हुने तथा दीर्घकालीन अपाङ्गता हुने दर सवारी दुर्घटनाका कारण बढ्दो छ, यसबाट राज्यलाई वर्षेनि सवारी दुर्घटनाका कारण उपचार, अनुसन्धान, बीमा, क्षतिपूर्ति लगायतका विभिन्न आर्थिक पक्षमा र अनुत्पादक दायित्वमा वृद्धि भएको छ ।” ट्राफिक प्रहरीले कर्णाली प्रदेशलाई सडक सुरक्षाका दृष्टिले सुरक्षित क्षेत्र बनाउन प्रदेश, जिल्ला र पालिकास्तरीय सडक सुरक्षा सम्मेलनमार्फत कार्ययोजना तयार पार्ने र लागू गर्ने योजना बनाएको छ । यसले दुर्घटनामा कमी आउने प्रहरीको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप