शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान

सोमबार, ०९ साउन २०७९, १५ : १०
सोमबार, ०९ साउन २०७९

आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो ।

तथ्याङ्कअनुसार  उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो  । १२ खर्बभन्दा बढीको सामान आयात हुँदा एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरको सामान निर्यात भएको थियो ।  नेपालले  भारतसँग मात्रै दश खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा व्यहोरेको थियो । 

भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । एक वर्षको अवधिमा चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख बराबरको आयात भएको र  ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र  सामान निर्यात हुँदा चीनसँग दुई खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख बराबरको व्यापार घाटा भएको थियो ।

आयातसँगै निर्यात पनि वृद्धि भएको थियो । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको थियो । आव २०७८/७९ मा नेपालले दुई खर्ब ३० करोड ९६ लाख बराबरको स्वदेशी वस्तु निर्यात गरेको थियो । अघिल्लो आर्थिक वर्ष नेपालले  एक खर्ब ४१ अर्ब १२ करोड ४० लाख बराबरको निर्यात गरेको थियो । विभागका अनुसार  अघिल्लो आर्थिक वर्षको तुलनामा आयात २४ दशमलव ७२ र निर्यात ४१ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ । 

बढ्यो व्यापार घाटा

आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्यापार घाटामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको हो । विभागका अनुसार गत आर्थिक वर्ष मुलुकको व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख पुगेको थियो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख बराबर  थियो । 

एक वर्षको अवधिमा नेपालले २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको तुुलनामा २६ दशमलव १५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष नेपालले १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप