मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

४५ दिनको करारमा म्यानपावरले महिला कामदार पठायो, उद्धार गरेर ल्याउँदा समेत फिर्ता गरेन पैसा

सोमबार, ०९ साउन २०७९, १३ : ३३
सोमबार, ०९ साउन २०७९

काठमाडौं । ललितपुरकी शान्ति स्याङ्तान ४ मार्च २०२२ मा वैदेशिक रोजगारीका लागि कतार गइन् । कतारस्थित यूएस बेस क्याम्पमा क्लिनरको काम गर्न थालिन् । उनीसँगै धादिङकी ठुलीकान्छी तामाङ पनि सोही कम्पनीमा काम गर्थिन् ।

दुई महिनासम्म ८ घण्टा ड्युटी गर्नुपर्थ्यो । त्यसपछि ५ घण्टा ओभरटाइम काम दिन्थ्यो । त्यो ओभरटाइमचाहिँ कम्पनीभन्दा बाहिर । कसैको घरमा त कसैको अपार्टमेन्टमा । ओभरटाइमवापत ५ घण्टा काम गरेपछि १२५ कतारी रियाल दिने रहेछ । तर, उनको हातमा २५ रियाल मात्र पुग्थ्यो । बाँकी १०० रियाल त कम्पनीले पो राख्दो रहेछ । 

त्यो बीचमा उनीहरुमाथि यौन दुर्व्यवहारसमेत हुन थाल्यो । एकातिर कामको प्रेसर हुन्थ्यो भने अर्कोतिर मानसिकसँगै शारीरिक शोषण पनि हुन थाल्यो । उनीहरूलाई नजिक आएर शरीरमा छुने, तिम्रो फिगर कति राम्रो भन्ने, शुक्रबार मलाई समय देऊ भन्ने जस्ता टर्चर उनीहरूले धेरै भोगे । 

एक पीडितले रातोपाटीसँग भनिन्, ‘ल ५०० रियाल राख, तर मैले जे भन्यो त्यही मान्नुपर्छ समेत भने । तिमीलाई यति पैसा दिन्छु, चार वटा शुक्रबार मलाई टाइम देऊ भने ।’ पीडित महिलाहरूलाई आफ्नो यौनाङ्ग चलाऊ भन्ने, मसाज गर्न लगाउने काम पनि उनीहरूले अफर गरे । 

एक अपार्टमेन्टको मालिकले शान्तिलाई ‘तिमीलाई मसाज गर्न आउँछ ?’ भनेर सोधेछन् । शान्तिले सिधै ‘नो सर’ भन्दै झर्किएर अबदेखि यस्तो भन्यो भने सिधै कम्पनीमा कम्प्लेन गरिदिने बताएपछि अपार्टमेन्टका मालिकले ‘यो कुरालाई सिरियस नलेऊ । मैले त तिमी कति स्ट्रङ्ग छौ भनेर हेर्न खोजेको हो’ भन्दै विषयलाई मोडेको शान्तिले बताइन् ।  

काठमाडौँको सिनामंगलमा रहेको टार्गेट कन्सल्टेन्ट ह्युमन रिसोर्सेज प्रालिमार्फत कतार पुगेकी शान्तिलाई बेसिक स्यालरी एक हजार रियाल हुन्छ भनिएको थियो । ओभर टाइम काम गर्दा महिनाको दुई हजार देखि २२ सय रियालसम्म कमाई हुने भनिएको थियो । जसो तसो काम भइरहेकै थियो । तर, दुई महिनामै उनको काम टुट्यो । कम्पनीसँगको करार सकियो । त्यसपछि कम्पनीले करार सम्झौता रिन्यू गरिदिएन । 

कम्पनीसँगको कन्ट्याक्ट टुटेपछि घरकै काम गर्न भनियो । उनी घरमै काम गर्न तयार भइन् । तर, पछि बुझ्दै जाँदा दिनमा १३ घण्टा काम गर्नुपर्ने त्यहाँ सेक्सुअसल ह्यारेसमेन्ट झन् बढी हुन्छ भन्ने थाहा पाइन् । त्यसपछि शान्ति नेपाल फर्किने मुडमा पुगिन् । 

उनले घरमा रहेका आफ्ना श्रीमान् सन्तमान स्याङ्तानलाई सम्पर्क गरिन् र आफूलाई नेपाल फर्कन पहल गर्न भनिन् । सन्तमानले श्रीमतीलाई नेपाल फर्काउन निकै पापड पेल्नु प¥यो । 

सात दिनभित्रमा उद्धार गरिएन भने जे पनि हुन सक्थ्यो । त्यसपछि उनी रातदिन नभनी श्रीमतीको उद्धारका लागि लागे । वैदेशिक रोजगार विभागमा सन्तमान र ठुली कान्छीका श्रीमान् महेश्वर तामाङले निवेदन दिए । 

विभागले मेन पावर व्यवसायीलाई तत्कालै बोलाएर दुवै पक्षलाई सम्झौता गर्न लगायो । विभागका अधिकारीहरूले पीडितको मान्छे तत्काल नेपाल फिर्ता बोलाउन जे भन्यो त्यही अनुसार सम्झौता गर्नु भनेका थिए । सम्झौता गर्दा टार्गेट कन्सल्टेन्टको तर्फबाट निर्देशक रोमन अधिकारी सबै सर्त मान्न तयार भए । 

त्यही आधारमा २५ वैशाख २०७९ मा दुई पक्षबीच सम्झौता गरियो । जसमा सात दिनभित्रमा अलपत्र परेका दुवै जनालाई स्वदेश झिकाउने र शान्तिबाट लिइएको एक लाख ८० हजार र ठुलीकान्छीबाट लिएको एक लाख ७० हजार रुपैयाँ समेत फिर्ता गर्ने सम्झौता भयो । 

पीडितको तर्फबाट शान्ति र ठुली कान्छीका श्रीमान्द्वय सन्तमान र महेश्वरले हस्ताक्षर गरे भने कम्पनीको तर्फबाट निर्देशक रोमन अधिकारीले हस्ताक्षर गरे । उक्त सहमति पत्रलाई विभागमा बुझाए । तर, विभागले त्यसमा तोक आदेश लगाउन मानेन । त्यसको कारण थियो, सहमति पत्रमा उल्लेख भएको खर्च । 

उद्धार तथा राहत समन्वय शाखाका निर्देशक डम्बर बहादुर सुनुवारले उक्त सहमति पत्रमा तोक आदेश लगाउन मानेनन् । सन्तमानका अनुसार उक्त पत्रमा उल्लेख भएको पैसा फिर्ता गर्ने कुरा काटेर अर्को सम्झौता गर्न अह्राए ।  

‘यो सम्झौता पत्र च्यातिहाल्नुस् त । पैसा उल्लेख नगरी अर्को सम्झौता गरेर ल्याउनुस् भन्नुभयो । बेलुकाको ५ बज्न थालिसकेको थियो । फेरि अर्को दिनदेखि निर्वाचनको लागि भनेर अफिस बन्द हुने अवस्थामा थियो,’ सन्तमानले भने, ‘जे जसरी हुन्छ हाम्रो मान्छे सातदिन भित्रमा नेपाल फर्किनुपर्‍यो भनेर पैसा हटाएर सम्झौता गर्न तयार भयौँ । र, सम्झौता गरेर डम्बर सरलाई देखाउँदा तुरुन्तै तोक लगाइदिनुभयो र दर्ता भयो ।’

यसअघि गरेको सम्झौता पत्र च्यात्न भनेका थिए । तर, उनले हतार हतारमा लुकाएर राखे । जसो तसो उनकी श्रीमतीसहित तीन जनाको उद्धार भयो । उक्त कम्पनीमा काम गर्ने ७ जनामध्ये तीन जना नेपाल फर्किए, एक जना एयरपोर्टबाटै भागिन् भने तीन जना स्वइच्छाले उतै बस्ने भने । 

दोस्रो सम्झौतामा उनीहरूबाट लिएको रकम फिर्ता गर्ने भन्ने भयो । नेपाल उद्धार गरिएपछि मेन पावर कम्पनीले एक लाख २० हजार मात्र फिर्ता दियो । ६० हजार त्यसै खाइदियो । म्यानपावर व्यवसायीले लागेको रकम फिर्ता गर्ने भन्ने सहमतिको आधारमा एक लाख २० हजार मात्रै पैसा फिर्ता गरेको थियो । 

यतिबेला उनीहरू वैदेशिक रोजगार विभागको भूमिका र म्यानपावर व्यवसायीका विरुद्ध विभागमार्फत नै कानुनी लडाई लडिरहेका छन् । तर, विभागका कर्मचारी र म्यानपावर व्यवसायी मिलेको कारण न्याय पाउन कठिन भएको पीडितका तर्फबाट महेश्वरले बताए । विभागले मेन पावर व्यवसायीलाई जोगाउन आफूहरूलाई अन्यायमा पारेको सन्तमानको गुनासो छ । 

‘नेपालमा पीडितले न्याय नपाउने रहेछन् । एउटा म्यानपावर व्यवसायीलाई जोगाउन हाम्रो प्रमाणलाई समेत लत्त्याउने काम गरियो ।’ सन्तमानले भने । विभागमा न्यायको लागि भनेर जाँदा विभिन्न बहाना बनाएर झुलाउने गरिएको सन्तमानले बताए । 

टार्गेट कन्सल्टेन्टका कार्यकारी निर्देशक दीपक बस्नेतले आफूले विदेश पठाउँदा लागेको लागत नभई क्षतिपूर्ति दिएको बताए । उनले भने, ‘हामीले उहाँलाई विदेश पठाउँदा लागेको खर्च भनेर एक लाख २० हजार पैसा फिर्ता गरेका होइनौँ । विदेशमा काम राम्रो नभएपछि घर फर्किनुपर्‍यो । उहाँलाई समस्या भयो होला भनेर सहयोग स्वरूप पैसा दिएका हौँ ।’

सम्झौता गर्ने बेला धम्क्याएपछि आफूहरू सम्झौता गर्न बाध्य भएको बस्नेतले बताए । सम्झौता गर्न बाध्य भएको उनको भनाई छ । 

‘मैले अफिसबाट रोमन अधिकारीलाई प्रतिनिधिको रूपमा पठाएको थिए । त्यो दिन मेरो अर्को काम परेर उहाँलाई पठाएको थिएँ’ बस्नेतले भने, ‘पछि मैले किन यस्तो सम्झौता गरेको भन्दा, उहाँहरूले मलाई धम्क्याउनुभयो, काट्छु मार्छु भनेपछि डरले सम्झौता गरे भन्नुभयो ।’ 

आफूले पीडितले भनेअनुसार नै सात दिनभित्रमा उद्धार गरिदिएको, उनीहरूले भने बमोजिम नै क्षतिपूर्ति दिएको भन्दै उनले भने, ‘सबै कुरा मिलिसकेपछि फेरि किन दुःख दिन खोज्नुभएको होला !’

यो विषयमा बुझ्ने काम भइरहेको छ : विभाग 

वैदेशिक रोजगार विभागले भने कतार जाँदा पैसा लिएको र दुई वटा सम्झौता गरिएको विषयमा बुझ्ने काम भइरहेको बताएको छ । विभागका उद्धार तथा समन्वय शाखाका निर्देशक डम्बर बहादुर सुनुवारले सम्झौता पत्र हेरेपछि यो विषयमा थप गृहकार्य अगाडि बढाइने बताए । 

म्यानपावर व्यवसायीले पैसा लिएको पाइएमा तत्काल कारबाही गरिने उनको भनाई छ । ‘उहाँ विभागमा आउनुभएको थियो । मैले म्यानपावर सञ्चालकलाई फोन गरेँ तर फोन रिसिभ भएन । म्यानपावर सञ्चालकलाई विभागमा बोलाएर छलफल गर्छौँ’ निर्देशक सुनुवारले भने । अहिले दलालले पैसा उठाउने घटना बढेको भन्दै त्यसमा सबै सचेत हुनुपर्ने सुनुवारले बताए । 

‘हामीले यतिसम्म भनिरहेका छौँ कि, सुरुमा पैसा दिए पनि श्रम स्वीकृति लिएर विदेश उड्ने तयारी अवस्था रहँदा पैसा लिएको बारे विभागमा उजुरी गर्नुहोस्, हामी तत्कालै कारबाही गर्छौ । तर, कोही पनि उजुरी गर्न आउनुहुन्न ।’ निर्देशक सुनुवारले भने । 

श्रम स्वीकृति लिइसकेपछि कुनै पनि हालतमा कामदार विदेश जान नरोकिने भन्दै ठगिएको बारेमा अन्तिम अवस्थामा पनि उजुरी दिन सकिने उनको भनाई छ । ठगीबारेमा उजुरी परेको खण्डमा कतिपय अवस्थामा आफैँ पनि छापा हान्न गएको भन्दै विभागप्रति विश्वस्त रहन उनले आग्रह गरे । निर्देशक सुनुवार भन्छन्, ‘एक व्यक्तिसँग कुरा गर्छन् । अर्को व्यक्तिलाई पैसा बुझाउँछन् । म्यानपावर व्यवसायी अर्कै हुन्छ । यस्तो अवस्थामा कसलाई कारबाही गर्ने ?’

सरकारले २०७२ सालमा ‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्था ल्याएको थियो । त्यसमा सेवा शुल्क १० हजार भन्दा बढी लिन नपाउने भनिएको थियो । मलेसिया, साउदी, कतार, युएई, ओमान, कुवेत लगायतका प्रमुख श्रम गन्तव्यमा जाँदा १० हजार भन्दा बढी पैसा लिन नपाउने व्यवस्था छ । तर, व्यवसायीहरूले भने लाखौँ रुपैयाँ असुल्ने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप