सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

२५ जनालाई नइ पुरस्कार

आइतबार, ०८ साउन २०७९, २१ : ३९
आइतबार, ०८ साउन २०७९

नइ प्रकाशनले पच्चीस जनालाई २०७८ सालको नइ पुरस्कार प्रदान गरेको छ । सोही अवसरमा नेपालभित्र र नेपालबाहिरका चौबीस देशका नेपाली र विदेशी प्रतिभालाई पनि नइ रजत महोत्सव पदक प्रदान गरिएको थियो । 

गत वर्ष र यस वर्ष गरी ४१० जना व्यक्तिहरू नइ रजत महोत्सव पदकबाट सम्मानित भएका छन् । नइ प्रकाशनले कोरोना महामारीका कारण गत वर्ष पूर्ण रुपमा सो पदक प्रदान गर्न सकेको थिएन । 

 नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अमेरिका निवासी प्रा.मोहन सिटौलालाई महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरे । ताम्रपत्र सहित सो पुरस्कारको राशि दुई लाख रुपियाँ रहेको छ । 

महासमालोचक प्रा.डा.त्रिपाठीले देशविदेशका दस जनालाई ताम्रपत्र सहित जनही एक लाख रुपियाँ राशिका २०७८ सालका नइ पुरस्कार प्रदान गरेका थिए ।

समारोहमा शिक्षाविद् प्रा.डा.सुरेशराज शर्मालाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, देशभक्त चिन्तक भैरव रिसाललाई ‘नइ कीर्तिनिधि पुरस्कार’, प्रथम टेष्टट्युव चिकित्सक डा.भोला रिजाललाई ‘नइ भावि पुरस्कार’, समालोचक प्रा.डा.दयाराम श्रेष्ठलाई ‘नइ ईश्वर बराल पुरस्कार’, अभिनयका लागि सन्तोष पन्तलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ प्रदान गरिएको थियो ।

त्यसै गरी साहित्यकार डा.रामदयाल राकेशलाई ‘नइ भाजप पुरस्कार’, धर्म तथा संस्कृतिमा योगदान पुर्‍याउने प्रा.डा.माधव भट्टराईलाई ‘नइ चन्द्रधन पुरस्कार’, भारतीय साहित्यकार छविलाल उपाध्यायलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’, गीतकार प्रेमविनोद नन्दनलाई ‘नइ कोइलीदेवी पुरस्कार’ प्रदान गरियो । 

समारोहमा ताम्रपत्रसहित साठी हजार रुपियाँ राशिका ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ सुनगाभा विशेषज्ञ प्रा.डा.विजया पन्त र ‘नइ रेखा पुरस्कार’ साहित्यकार श्रीमती गङ्गा लिगललाई प्रदान गरिएको थियो । 

साथै जनही पचास हजार रुपियाँ राशिको ‘नइ बुलु शर्मा पुरस्कार’ कञ्चनपुरका श्रीमती नारा जोशीलाई, ‘नइ देरुनीख गौरव पुरस्कार’ साहित्यकार, पत्रकार तथा सामाजिक अभियन्ता श्री ठाकुर वेलबासेलाई र ‘नइ रामलक्ष्मी पुरस्कार’ तेस्रो लिङ्गी भक्ति शाहलाई प्रदान गरियो । त्यसै गरेर मिस नेवा कृषा महर्जनलाई पच्चीस हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गरिएको थियो ।

महासमालोचक प्रा.डा.त्रिपाठीले छ जना बाल बालिकालाई दस हजार रुपियाँ राशि र ताम्रपत्रसहित ‘नइ देरुनीखपू बाल पुरस्कार’ प्रदान गरे । पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ सम्पदा दुलाल, साहित्यतर्फ विभूति अधिकारी, चित्रकलातर्फ रिकिस्ना डङ्गोल, सङ्गीततर्फ सन्देश पौडेल, नृत्यतर्फ राशु पन्त र खेलकुदतर्फ नयना शाक्य थिए ।

साथै जनही सात हजार रुपियाँ राशि र ताम्रपत्रसहित ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ गायनमा सिचु मानन्धर, नृत्यमा नासिका ठकुरी र  ताम्रपत्रसहित पाँच हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ पाँच वर्षीय श्रीना महर्जनलाई प्रदान गरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप