मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

चीनमा चिकित्सा शिक्षा पढेका सन् २०१६ ब्याचका विद्यार्थीले नेपालमा इन्टर्नसिप गर्न पाउने

आइतबार, ०८ साउन २०७९, २१ : १४
आइतबार, ०८ साउन २०७९

काठमाडौँ । चीनमा चिकित्सा शिक्षा अध्ययन गरेका सन् २०१६ ब्याचका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन् । कोभिड–१९ महामारीका कारण स्वदेश फर्किएका तर थप अध्ययनका लागि चीन जान नपाएका ती विद्यार्थीले नेपालमै २ वर्ष इन्टर्नसिप गर्न पाउने भएका हुन् । त्यसका लागि नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा आयोगसँगको सहमतिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले सन् २०१५ मा चाइनिज मिडियम र सन् २०१६ मा अङ्ग्रेजी मिडियममा भर्ना भएका विद्यार्थीले उक्त मौका पाउने बताए । त्यसभन्दा पछाडिका विद्यार्थीलाई भने चीन नै फिर्ता पठाउने प्रक्रिया अघि बढेको डा. अधिकारीको भनाइ छ ।

त्यसका लागि काउन्सिलले मन्त्रालयलाई ४ बुँदे निर्देशन दिएको छ । सन् २०१६ ब्याचका मेडिकल विद्यार्थीहरूलाई अपुग प्रयोगात्मक अभ्यास एक वर्ष र एक वर्ष इन्टर्नसिप गरी जम्मा दुई वर्षको चिकित्सकीय अभ्यास तथा तालिमको व्यवस्था गर्न भनिएको छ । यो निर्णयसँगै करिब १३५ जना विद्यार्थीले नेपालमै चिकित्कीय अभ्यास तथा तालिम गर्न पाउने भएका छन् ।

त्यस्तै ‘नेशनल गाइडलाइन्स फर मेडिकल इन्टर्नसिप ट्रेनिङ २००७’ वा विश्वविद्यालयले तोकेबमोजिम एक वर्षे अनिवार्य इन्टर्नसिप पूरा गर्नुपर्ने, इन्टर्नसिप भन्दा पहिलेको एक वर्षे अध्ययनको हकमा ४ वटा प्रमुख विषय मेडिसिन, सर्जरी, गाइनेअब्स र पिडियाट्रिक्स समावेश गर्नुपर्ने छ ।

चीनमा अध्ययनरत चिकित्सा शिक्षाका विद्यार्थीहरूको अध्ययन अवधि र प्रमाणपत्र प्राप्त गर्ने समयावधिबारे कुनै द्विविधा भए नेपाल मेडिकल काउन्सिल वा  सम्बन्धित कलेजमा सम्पर्क गर्न समेत विद्यार्थीहरूमा अनुरोध गरिएको छ । सोही आधारमा आफ्नो अपुग अध्ययन अवधि यकिन गरेर मात्र अध्ययन सुरु गर्न समेत काउन्सिलले सबैमा आग्रह गरेको छ ।

अबदेखि कोभिडसँग सम्बन्धित रहेर विदेशमा अध्ययन गरेका विद्यार्थीको हकमा नेपालमा अध्ययन अध्यापन गर्ने विषय सम्बोधन नहुनेसमेत काउन्सिलले प्रस्ट पारेको छ ।

यसअघि कोरोना महामारीका कारण चीनमा इन्टर्नसिप पूरा गर्न नपाएका सन् २०१४ र २०१५ ब्याचका मेडिकल विद्यार्थीले पनि नेपालमै इन्टर्नसिप गर्न पाएका थिए । कोरोना महामारीका कारण अध्ययन पुरा गर्न नसकेका करिब २ हजार नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए । तीमध्ये केही विद्यार्थी चीन फर्किएर आफ्नो अध्ययन पूरा गर्न लागिसकेका छन् । अनलाइनमार्फत कोर्स पूरा गरेका तर, इन्टर्नसिप गर्न नपाएका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै आएका थिए ।

माग सुनुवाइ नभएपछि विद्यार्थीहरू लामो समय आन्दोलन समेत गर्न बाध्य भए । त्यसपछि सरकारले यस विषयमा कार्यदल गठन गरेको थियो । मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा गत २३ भदौमा प्राडा दिलीप शर्माको संयोजकत्वमा गठन गरिएको कार्यदलले सन् २०१५ ब्याचमा भर्ना भई सैद्धान्तिक अध्ययन पूरा गरी इन्टर्नसिप पूरा गर्न नपाएका मेडिकल विद्यार्थीलाई नेपालमै इन्टर्नसिप अनुमति प्रदान गर्न सुझाव दिएको थियो । 

कार्यदलको सुझावको आधारमा सरकारले उनीहरूलाई नेपालमै इन्टर्नसिपको व्यवस्था मिलाएको थियो । कार्यदलले सन् २०१६ ब्याचका विद्यार्थीलाई समेत नेपालमै इन्टर्नसिपको व्यवस्था मिलाउन सुझाव दिएको थियो । 

यसअघि सन् २०१४ ब्याचका विद्यार्थीलाई समेत नेपालमा नै इन्टर्नसिप गर्न पाउने निर्णय भइसकेको थियो । कोरोना महामारीका कारण २०७६ माघमा नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका थिए ।

सन् २०१७ पछि ब्याचका विद्यार्थीले भने नेपालमा इन्टर्नसिप गर्न नपाउने भएका छन् । उनीहरूलाई चीन नै फर्काउने प्रक्रिया अघि बढिसकेको रजिष्ट्रार डा. अधिकारीले बताए ।

‘कोर्स नै पूरा नगरेका विद्यार्थीहरूलाई इन्टर्नसिप गर्न दिने अवस्था हुँदैन । उनीहरूलाई चीन पठाउने प्रक्रिया अघि बढिसक्यो । सम्बन्धित कलेजमा फर्किएर आफ्नो कोर्स पूरा गरेपछि मात्रै नेपाल आउनुपर्छ,’ डा. अधिकारीले भने ।

चीनले कोभिड– १९ को जोखिमका कारण लामो समय विदेशी विद्यार्थीलाई फिर्ता बोलाउन मानेको थिएन । जसले गर्दा लामो समयसम्म विद्यार्थीले न इन्टर्नसिप गर्न पाए, न त पढाई नै गर्न पाए । इन्टर्न गर्न बाहेकका विद्यार्थीलाई नेपालबाटै अनलाइन मार्फत अध्ययनको अनुमति दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप