फास्टट्रयाकमा विकास निर्माणको काम अगाडि बढाउन वन मन्त्री यादवको निर्देशन
वन तथा वातावरण मन्त्री प्रदीप यादवले भरतपुर महानगरले लिएको विकासको तिव्रता अरु पालिकाले पनि अनुसरण गर्नुपर्ने बताएका छन् । भरतपुर महानगरपालिकाको कार्यालयमा महानगरकी प्रमुख रेणु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्लगायतसँगको छलफलमा मन्त्री यादवले यस्तो बताएका हुन् ।
पछिल्लो पाँच वर्षमा भरतपुरमा अप्रत्यासित ढङ्गले भएको विकासले सबै आश्चर्यचकित भएको बताउँदै मन्त्री यादवले यसबाट अरु स्थानीय तहले पनि पाठ सिक्नुपर्ने बताए । महिला प्रमुख भएर उदाहरणीय एवं नमुना काम गरेकै परिणामस्वरुप दोस्रो पटक पनि अत्यधिक मतका साथ भरतपुरका जनताले दाहाललाई जिताएको मन्त्री यादवको भनाइ छ ।
उनले भने, ‘उहाँ मेयर बन्नुको पछाडी उहाँका बुबा प्रचण्डजीको कुनै आशीर्वाद थिएन, उहाँको निडर स्वभाव, दीर्घ इच्छा शक्ति र महानगरको विकासका लागि उहाँले देखेको सपना र डिजाइनका कारण महानगरबासीले उहाँलाई जिताएका हुन् ।’ मन्त्री यादवले थपे, ‘रेणुजीले गरेका कामले उहाँलाई अब मेयर मात्रै हैन प्रधानमन्त्री पनि बनाउने छ भन्नेमा म विश्वस्त छु ।’
यसअघि माडी र हुलाकी सडकको अनुगमन गरेको स्मरण गर्दै मन्त्री यादवले हुलाकी सडक विस्तारमा वनबाट भएका अवरोधलाई हटाएर चितवन र पर्सालाई जोड्ने हुलाकी सडक निर्माणको गतिलाई तिव्रता दिनुपर्ने बताए । वन मन्त्रालयबाट अनुमती नपाएर अगाडि बढ्न नसकेका सम्पूर्ण काम आवश्यक अध्ययन र प्रक्रियापछि फास्टट्र्याकलाई अघि बढाउँदै विकास निर्माणको काममा भएका बाधाहरूको समाधान गर्न मन्त्रालयका कर्मचारीहरुलाई उनले निर्देशन दिए ।
हुलाकी सडक निर्माण भएसँगै पर्सा राष्ट्रिय निकुञ्ज भएर ठोरीसम्म पुग्ने पर्यटकहरुको संख्यामा बृद्धि हुने र यसले पर्यटन व्यवसाय गर्नेहरुलाई रोजगारीको सृजना गर्ने मन्त्री यादवको विश्वास छ । मन्त्री यादवले भरतपुर महानगरसहित समग्र चितवन जिल्लाको समृद्धिका लागि वन मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
भरतपुरकी मेयर रेणु दाहालले भरतपुरमा रहेको नगर वनको स्वामित्व महानगरपालिकालाई दिनुपर्ने प्रस्ताव राखिन् । नगर वनलाई अन्तर्राष्ट्रिय स्तरको पार्क बनाउने आफ्नो योजना रहेको मेयर दाहालको भनाइ छ । त्यस्तै उनले भरतपुरको भविष्यसँग जोडिएको ट्रायल सेन्टरसहित यातायात कार्यालय स्थापनाको काम पनि वन मन्त्रालयमार्फत अगाडि बढाउन अनुरोध गरिन् ।