शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा चिकित्सकीय सेवासहितको पशु हाटबजार सञ्चालन

आइतबार, ०८ साउन २०७९, १८ : ३९
आइतबार, ०८ साउन २०७९

रुपन्देहीको सियारी गाउँपालिका–२, च्याङ्गठामा चिकित्सकीय सुविधासहितको पशु हाटबजार सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार पशु हाटबजार उद्घाटन गर्दै किसान र उपभोक्ताबीचको मूल्यको खाडल पुर्न यसले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

पछिल्लो समय प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको भन्दै उनले किसानहरूको समस्या समाधान गर्न संघीय र स्थानीय तहसँगै समन्वय गरेर अगाडि बढ्ने बताए । विश्व बैंकको पाँच करोड ऋण अनुदानमा बनाइएको हाटबजार दुई बिगाहा क्षेत्रफलमा फैलिएको छ । यहाँबाट एक हजार पशु चौपाया खरिदबिक्री गर्न सकिने जनाइएको  छ ।

किसानले हाटबजारमा ल्याएका पशु चौपायाको निःशुल्क उपचार हुने गाउँपालिकाका पशु शाखा प्रमुख गणेश खनालले जानकारी दिए । अत्याधुनिक पशु हाटबजारमा निःशुल्क विशेषज्ञ चिकित्सकीय सेवा लिन पाइने भएपछि किसानहरू खुसी भएका छन् । हाटबजार सञ्चालनका लागि समितिसमेत गठन गरिएको छ । सियारी च्याङ्गठा पशु हाटबजार सञ्चालक समितिले साप्ताहिक हाटबजार अन्तर्गत हरेक आइतबार बजार सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले बताए ।

उनका अनुसार हाट बजारमा पशुको स्वास्थ्य जाँच, तिनीहरूको खरिद बिक्री, दाना–पानीको व्यवस्थासमेत छ । गाईभैँसी बिक्री नभए केही दिनलाई ‘होर्डिङ सेन्टर’मा राख्ने व्यवस्थासमेत गरिएको छ । यस अतिरिक्त किसान तथा व्यापारीलाई खाजा, खाना र आराम गर्ने स्थल पनि निर्माण गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप