मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

रसुवा–टिमुरे सुख्खा बन्दरगाहको निर्माणको काम रोकियो, खबरै नगरी चीन फर्किए कामदार

आइतबार, ०८ साउन २०७९, १७ : २६
आइतबार, ०८ साउन २०७९

चिनियाँ पक्षले रसुवागढीमा निर्माणाधीन रसुवा–टिमुुरे सुख्खा बन्दरगाहको निर्माण कार्य रोकेको छ । ३० महिनामा सक्ने गरी सन् २०१९ अक्टोबरमा सुरू भएको निर्माणको काम चिनियाँ पक्षले नेपाललाई खबरै नगरी रोकेको हो ।

नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले नेपाललाई जानकारी नै नदिइ चिनियाँ पक्षले काम रोकेको जानकारी दिए । उनले भने, ‘साइटमा ५५ जना चिनियाँ कामदारले काम गरिरहेका थिए । अहिले सबै काम रोकेर चिनियाँहरु चीन फर्केका छन् ।’

सबै चिनियाँ स्वदेश फर्किएपछि हाल आयोजनास्थलमा २ जना मात्रै कामदार रहेको इन्टर मोडललाई जानकारी आएको छ । सुख्खा बन्दरगाहको निर्माणको काम गरिरहेको तिब्बत फुलि कन्स्ट्रक्सनले नेपाली पक्षलाई जानकारी नै नदिइ कामदार स्वदेश फर्काएको हो ।

समितिले आयोजनास्थलमा रहेका २ जना चिनियाँ कामदारलाई किन गएको भनेर प्रश्न गर्दा कम्पनीले बोलाएपछि गएको भनि जवाफ आएको गजुरेलको भनाइ छ । निर्माण कम्पनीले नेपाली पक्षलाई जानकारी नै नदिइ काम रोकेर स्वदेश फर्किएपछि समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराएको छ । 

समितिले मन्त्रालयलाई आज चिठ्ठी लेखेर चिनियाँ पक्षले काम रोकेको जानकारी गराएको हो । ३० महिनामा आयोजनाको निर्माण सक्नेगरी सन् २०१९ मा निर्माण सुरू भएको थियो । तोकिएको समयमा निर्माण नसकिएपछि थप १ वर्षको म्याद थपिएको छ । तर, थपिएको समयमा समेत आयोजनाको निर्माण सकिने छाँटकाँट देखिँदैन ।

‘हालसम्म ३५ प्रतिशत मात्रै काम सकिएको छ । यसअघि कोरोना महामारीका कारणले आयोजनाको निर्माण कार्य अघि बढेको थिएन,’ गजुरेलले भने, ‘अहिले कामदारहरू छुट्टि मनाउन गएको अनुमान गरेका छौं । यसबारे उद्योग मन्त्रालयलाई जानकारी गराएका छौं ।’

उद्योग मन्त्रालयले परराष्ट्र मन्त्रालय हुँदै चीनमा रहेको नेपाली दूतावासमार्फत कामदार किन स्वदेश फर्किएका भन्नेबारे बुझने समितिले बताएको छ । त्यसपछि मात्रै कामदार खबरै नगरी किन स्वदेश फर्किए भन्ने प्रश्नको जवाफ आउने गजुरेलको भनाइ छ ।

चिनियाँ पक्षको आर्थिक र प्राविधिक सहयोगमा यो बन्दरगाह निर्माणको काम अघि बढिरहेको छ । बन्दरगाहमा ५ तले स्टोरेज बिल्डिङ, सानो र ठूलो गरी एक/एक वटा गोदाम रहने बन्दरगाहमा १८० वटा ठूला ट्रक अट्नेछन् । यस्तै, बन्दरगाहमा २ वटा जाँच पास केन्द्र समेत रहने समितिले जानकारी दिएको छ ।

त्यसैगरी बन्दरगाहमा भन्सार कार्यालय, क्वारेन्टाइन, अध्यागमन, बैंक र सुरक्षाकर्मी समेत रहनेछन् । सुख्खा बन्दरगाह निर्माणका लागि करिब ५५ करोड रुपैयाँ लागत खर्च हुने अनुमान गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप